प्रतिस्पर्धामा उत्रिएका सर्वोत्तम, शिवम्, सोनापुर र घोराही सिमेन्टमा काे केमा अगाडि?

Nov 17, 2025 06:26 AM Merolagani



चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको वित्तीय विवरण अनुसार नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनीहरु मध्ये ३ ओटा कम्पनीले नाफा कमाउँदा एउटा कम्पनी भने घाटामा देखिएकाे छ । नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनीहरु  सर्वोत्तम, शिवम्, सोनापुर र घोराहीमध्ये घोराही सिमेन्टले मात्रै घाटा व्यहोरेको हो ।

तथ्यांक अनुसार शिवमको नाफा वृद्धिदर उच्च छ भने सर्वोत्तम, सोनापुर र घोराही गत वर्षको पहिलो त्रैमासमा पनि घाटामै रहेका थिए । त्यसमध्ये सर्वोत्तम र सोनापुर भने चालु आवको प्रथम त्रैमासमा नाफामा देखिएका छन् भने घोराहीले पनि आफ्नो नोक्सानीलाई ५१ करोड ३८ लाखबाट घटाएर १२ करोड ८० लाखमा सीमित गरेकाे छ।

 

 

चुक्ता पुँजीको आधारमा सबैभन्दा धेरै कसको ?

प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनीहरु मध्ये चुक्ता पूँजीको आधारमा सबैभन्दा धेरै पूँजी शिवम् सिमेन्टको छ। शिवम सिमेन्टको चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको छ । त्यस्तै दोस्रो धेरै चुक्ता पुँजी रहेको सर्वोत्तम सिमेन्टको ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ रहेको छ । सर्वोत्तमले गत वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।

तेस्रो धेरै चुक्ता पुँजी घोराही सिमेन्टको ४ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ रहेको छ भने सबैभन्दा कम चुक्ता पुँजी भने सोना मिनरल्स एन्ड आयलको ३ अर्ब ७ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

खुद नाफामा को अगाडि ?

चालु आवको प्रथम त्रैमासिकको वित्तीय विवरण अनुसार नेप्सेमा सूचीकृत ४ सिमेन्ट कम्पनीहरु मध्ये सबैभन्दा धेरै खुद नाफा सर्वोत्तम सिमेन्टले गरेको छ । कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १५३५.८९ प्रतिशतले बढेर ३२ करोड ४३ लाख रुपैयाँ पुगेको छ। सर्वोत्तम गत आवको प्रथम त्रैमासमा २ करोड २६ लाख रुपैयाँ नोक्सानीमा गएको थियो । त्यस्तै शिवम सिमेन्टले चालु आवको प्रथम त्रैमासमा २० करोड ९७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । नेपाल विद्युत प्राधिकरणसँगको ट्रंक लाइन विवादका कारण सरकारले विद्युत कटौती गर्दा समेत शिवमले पेट्रोलियम पदार्थको प्रयोगबाट उत्पादनलाई निरन्तरता दिएको थियो ।

त्यस्तै, गत वर्षको प्रथम त्रैमासमा ८ करोड ५५ लाख रुपैयाँ खुद नोक्सानीमा गएको सोनापुरले चालु आवको प्रथम त्रैमासमा भने ४ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यता घोराही सिमेन्टले भने गत वर्षको पहिलो त्रैमासमा ५१ करोड ३८ लाख रुपैयाँ खुद नोक्सानीलाई घटाएर चालु आवको प्रथम त्रैमासमा १२ करोड ८० लाख रुपैयाँमा सीमित गरेकाे छ ।

प्रतिशेयर आम्दानी कसको धेरै?

प्रथम त्रैमासिकको वित्तीय विवरण अनुसार ४ सिमेन्ट कम्पनीहरु मध्ये सबैभन्दा धेरै प्रतिशेयर आम्दानी (इपिएस) सर्वोत्तम सिमेन्टको रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी २६.०७ रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको सोहि अवधिमा १.८२ रुपैयाँले ऋणात्मक थियो ।

त्यस्तै शिवम सिमेन्टले गत आवको प्रथम त्रैमासमा ०.९४ रुपैयाँ प्रतिशेयर आम्दानी गरेकोमा चालु आवको पहिलो त्रैमासमा त्यसलाई बढाएर १५ रुपैयाँ ३७ पैसा पुर्याएको छ । सोनापुर सिमेन्टको ११ रुपैयाँ १३ पैसा ऋणात्मक प्रतिशेयर आम्दानी रहेकोमा चालु आवको पहिलो त्रैमासमा प्रति शेयर आम्दानी ५ रुपैयाँ ६८ पैसा रहेको छ । घोराही सिमेन्टको भने प्रतिशेयर आम्दानी अझै पनि ११ रुपैयाँ २१ पैसाले ऋणात्मक रहेको छ ।

प्रतिशेयर नेटवर्थ कसको कति ?

चालु आवको प्रथम त्रैमासिकको वित्तीय विवरणका अनुसार ४ सिमेन्ट कम्पनीहरु मध्ये सर्वोत्तम सिमेन्टको प्रतिशेयर नेटवर्थ सबैभन्दा उच्च रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २ सय ८ रुपैयाँ ११ पैसा रहेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा प्रतिशेयर नेटवर्थ १९१.९० रुपैयाँ थियो। त्यसपछि दोस्रो बढी प्रतिशेयर नेटवर्थ शिवम सिमेन्टको १९२.१८ रुपैयाँ रहेको छ। त्यस्तै, सोना मिनिरल्स र घोराही सिमेन्टको भने क्रमशः १९१.९१ रुपैयाँ र १८६.३८ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको छ ।