महान्यायाधिवक्ता बरालका कारण दबाबमा रहेकी प्रधानमन्त्री कार्की मुख्य सचिव नियुक्तिमा पार्टीको ‘सदस्यता’ खोज्दै

Nov 18, 2025 04:12 PM mero lagani



मुख्य सचिव एकनारायण अर्यालको कार्यकाल समाप्तिसँगै मंसिर १० गते नयाँ मुख्य सचिव नियुक्ति हुँदैछन् । त्यसको एक-दुई दिन अगाडि नै नयाँ मुख्य सचिवको टुंगो लाग्ने बताइएको छ ।

त्यहीकारण नियुक्तिको लागि दावेदार सचिवहरुबीच दौडधुप शुरु भएको छ ।

 

तर आफूले निकै विश्वास गरेर नियुक्त गरेकी महान्यायाधिवक्ता सविता बराल विवादमा परेपछि र मन्त्री बनाउन ठिक्क पारेका खगेन्द्र सुनारलगायतका व्यक्तिहरुका काण्डहरु सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्की भने मुख्य सचिव नियुक्तिमा पनि त्यस्तै विवाद सृजना हुने हो कि भनेर झस्किएकी छन् ।

प्रधानमन्त्री कार्की अहिले मुख्य सचिव नियुक्तिमा एकातर्फ पार्टीका ‘क्याडर’ पर्ने हो कि भन्ने भयले त्रस्त छिन् भने अर्कोतर्फ महान्यायाधिवक्ता बराल प्रकरण दोहोरिने हो कि भन्ने भयमा रहेको प्रधानमन्त्री निकट स्रोतको दावी छ ।

अहिले मुख्य सचिवको दावेदारहरुमा सुमनराज अर्याल, प्रमिला बज्राचार्य, गोकर्णमणि दुवाडी, कृष्णहरि पुष्कर तथा डा. गोविन्द शर्मा रहेका छन् ।

यसमध्ये मुख्य दुवाडी जेनजी आन्दोलनमा भएको दमनको एक मुख्य ‘अभियुक्त’ मानिन्छन् । जेनजी आन्दोलनका बेला गृह मन्त्रालयका सचिव रहेका उनलाई आन्दोलनमा भएको दमन बारे छानबिन गर्न गठित समितिले काठमाडाैं उपत्यका बाहिर जान नपाउने गरी रोक लगाएको छ । त्यहीकारण उनी मुख्य सचिवको दौडबाट स्वतः बाहिरिएका छन् । उनी मुख्य सचिव अर्यालसंगै मंसिर १० गते अवकाश पाउँदैछन् ।

त्यस्तै हाल कृषि मन्त्रालयको सचिव रहेका डा. शर्मा काबिल सचिवहरुमध्ये एक मानिन्छन् । तर उनलाई ‘खाँट्टी कांग्रेसी कार्यकर्ता’ मानिन्छ । त्यहीकारण उनलाई पनि सचिवको दौडबाट पछाडि पारिएको बताइन्छ ।

प्रधानमन्त्री कार्की हाल खानेपानी मन्त्रालयको सचिव रहेकी प्रमिला बज्राचार्यप्रति सकारात्मक देखिन्छन् । तर, उनलाई एमाले अध्यक्ष केपी ओलीसँग निकट भएको आरोप लाग्ने गरेको छ ।

प्रधानमन्त्री निकट केही अधिकारीहरु र मुख्य सचिवको दावेदार रहेका अन्य सचिवहरुले समेत उनी एमाले भएको भन्दै पोल लगाइरहेको बताइन्छ । यदि उनी एमाले पार्टीको सदस्य भएको प्रमाण नभेटिए मुख्य सचिवको लागि सबैभन्दा बलियो दावेदार मानिएको छ ।

उनी नभएमा अहिले रक्षा मन्त्रालयको सचिव रहेका अर्याल र श्रम मन्त्रालयको सचिव रहेका पुस्करमध्ये एकजना मुख्य सचिव हुने लगभग निश्चित देखिन्छ ।