केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम जुँगा मुसार्दै कुलमान घिसिङले उद्घाटन गर्नुभयोः महेश बस्नेत

Nov 17, 2025 05:14 PM Merolagani



नेकपा एमालेका नेता महेश बस्नेत केपी ओलीले निर्माण गरेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालले सोमवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै क्रिकेट रंगशाला बनाउने गरेको उल्लेख गरे । क्रिकेट स्टेडियम तिब्र गतिमा बनाउने लक्ष्य लिएपनि तोकिएको समयभन्दा अलि ढिलो हुन गएको उनले बताए । केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रश्तुत गर्ने कुलमान घिसिङले जुँगा मुसार्दै उद्घाटन गरेको उनको टिप्पणी छ ।

 

शहरी विकासमन्त्री कुलमान घिसिङले आईतवार साँझ स्तरोन्नती गरिएको त्रिवि मैदानको उद्घाटनसंगै नेपाल क्रिकेट संघलाई हस्तान्तरण गरेका थिए । क्रिकेट संघको अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कासम्मले नैतिक हिसावले कुलमानको उद्घाटनलाई व्यङ्ग्य हुनेगरी व्यङ्ग्य हुनेगरी वक्तव्य दिएको बस्नेतको दाबी छ । उनले हरेक विकास निर्माणमा नेकपा एमाले र केपी ओलीको याद आउने पनि दाबी गरे। उनले सोमवारबाट नेपालमा शुरु भएको एनपीएल क्रिकेट खेलको जगतमा निकै महत्वपूर्ण भएको पनि बताए। क्रिकेट खेल हेर्ने दर्शकलाई किर्तिपुरको ठूलो रुखको हाँगामा चढेर हेनुपर्ने बाध्यता अब अन्त्य भएको उनको भनाई छ ।

उनले भने, ‘आजबाट नेपालमा एनपीएल सुरु हुँदैछ । क्रिकेट खेलको जगतमा यो प्रिमियम लिग निकै महत्वपूर्ण लिग हो । धेरै पुरानो कथा होईन, चारपाँच वर्ष अगाडीसम्म पनि क्रिकेट खेल हेर्ने दर्शकहरु किर्तिपुरको ठुलो रुखको हाँगामा चढेर हेनुपथ्र्यो र कुन बेला हाँगो भाँचिएला र जोखिमपुर्ण दुर्घटनामा परिएला भन्ने चिन्ताले ग्रसित हुनुहुन्थ्यो । केपी शर्मा ओलीज्युले अघिल्लो कार्यकालमा प्रधानमन्त्री भएपछि पहिलो निर्णय नै उहाँले भन्नुभयो र म यो क्रिकेट स्टेडियम तिब्र गतिमा बनााउँछु भनेर उद्घोष गर्नुभयो, तोकिएको समयभन्दा अलि ढिला भयो । केपी ओलीले बनाईदिएको क्रिकेट स्टेडियम सामाजिक सञ्जालमा आफूलाई हिरोको रुपमा प्रश्तुत गर्ने कुलमान घिसिङले हिजो जुँगा मुसार्दै उद्घाटन गर्नुभयो । क्रिकेट संघको अध्यक्षदेखी पारस खड्कासम्मले नैतिक हिसाबले कुलमानजीले गरेको त्यो उद्घाटनलाई व्यङ्ग्य हुनेगरि वक्तव्य दिनुभयो । त्यही भएर हरेक स्टेपमा नेकपा एमाले र केपी ओलीको याद आउनेछ ।’

उनले कतिपय साहित्यकारहरुले ओली याद आउने चिजहरु सबै भत्काईदेउ भनेर व्यङ्ग्यात्मक कविता नै लेखेको उल्लेख गरे। उनले धरहरा, रानीपोखरी, सुरुङमार्गलगायतका विकास निर्माणका कार्य केपी ओलीले गरेको बताए। उले केपी ओलीको विरुद्धमा विदेशी शक्तिहरुले लगानी गरेको दाबी गरे ।