२० प्रतिशतले घट्यो लगानी समूहका कम्पनीको नाफा, अन्य सूचकांकमा कुन कम्पनी कस्तो ?

Nov 17, 2025 05:43 PM Merolagani



लगानी समूहमा रहेका सात वटा कम्पनी मध्ये २ वटा कम्पनीको नाफा गत वर्षभन्दा बढेको देखिएको छ । सीइडीबी होल्डिङ्स, नागरिक लगानी कोष, इमर्जिङ नेपाल, हाथवे इन्भेष्टमेन्ट नेपाल, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल), नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमध्ये सीइडीबी होल्डिङ्स र नागरिक लगानी कोषको मात्रै नाफा बढेको छ ।

चुक्ता पुँजी कसको कति ?

नेप्सेमा लगानी समूहअन्तर्गत सूचीकृत सात वटा कम्पनीमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी एचआइडीसीएलको २४ अर्ब ५५ करोड रुपैयाँ रहेको छ भने दोस्रोमा निफ्राको २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । नागरिक लगानी कोषको ६ अर्ब ४८ करोड रुपैयाँ छ भने हाथवेको १ अर्ब ५८ करोड रुपैयाँ हुँदा एनआरएनको १ अर्ब २८ करोड रुपैयाँ, सीइडीबीको १ अर्ब ३ करोड रुपैयाँ र सबैभन्दा कम इमर्जिङ नेपालको ५५ करोड ५६ लाख रुपैयाँ मात्रै चुक्ता पूँजी रहेको छ । नेपालको पूँजी बजारमा न्यून पूँजी हुँदा शेयरको आपूर्ति कम हुने हुँदा शेयरको माग बढेर मूल्य बढ्ने गरेको दृष्टान्त छ । पछिल्लो समय सात कम्पनीमध्ये सीइडीबीको मात्रै शेयर मूल्य २ हजार रुपैयाँ माथि छ । उच्च चुक्ता पूँजी भएको एचआइडीसीएल र निफ्राको शेयर मूल्य ३ सय रुपैयाँ मुनि छ ।

रिजर्भ र खुद नाफा वृद्धिमा सीइडीबी अगाडि

लगानी समूहमा सात वटा कम्पनीमध्ये धेरै रिजर्भ बढाउने र धेरै खुद मुनाफा बढाउने दुवैमा सीइडीबी होल्डिङस् परेको छ । कम्पनीले गत वर्षको पहिलो त्रैमासमा ४८ करोड ६० लाख रुपैयाँ रहेको रिजर्भलाई १ सय ३० प्रतिशतले बढाएर १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ । त्यसैगरी खुद मुनाफा समेत ९ करोड ७ लाख रुपैयाँबाट ७२.४६ प्रतिशतले बढाएर १५ करोड ६५ लाख रुपैयाँ पुर्याएकाे छ ।

४.४३ प्रतिशतले खुद मुनाफा वृद्धि गरेको नागरिक लगानी कोषको नाफा चालु आवको पहिलो त्रैमासमा ३१ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ समेत १०.४० प्रतिशतले बढेर २० अर्ब २४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

चालु आवको प्रथम त्रैमासमा इमर्जिङ नेपाल, हाथवे इन्भेष्टमेन्ट नेपाल, एचआइडीसीएलको रिजर्भमा गिरावट देखिएको छ भने निफ्रा र एनआरएनको रिजर्भमा भने वृद्धि देखिएको छ ।

सीइडीबी होल्डिङस र नागरिक लगानी कोष बाहेक ५ वटा कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको छ । अझ इमर्जिङ नेपाल चालु आवको प्रथम त्रैमासमा १८ लाख ९४ हजार रुपैयाँ घाटामा देखिएको । एनआरएनको नाफा ८८.३१ प्रतिशतले घटेर ५० लाख ६६ हजार, हाथवे इन्भेष्टमेन्ट नेपालको नाफा ८७.३६ प्रतिशतले घटेर ४४ लाख २३ हजार रुपैयाँ, एचआइडीसीएलको नाफा २९.१५ प्रतिशतले घटेर १९ करोड ३९ लाख रुपैयाँ र निफ्राको नाफा ४०.५७ प्रतिशतले घटेर २० करोड ७५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याज दर एकदमै न्यून विन्दुमा ल्याउँदा एचआईडीसीएल र निफ्राको नाफामा समेत गिरावट देखिएको हो । प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार एचआइडीसीएलले टर्म डिपोजिटको रुपमा १५ अर्ब ५९ करोड रुपैयाँ र बैंक मौज्दातको रुपमा १ अर्ब १४ करोड रुपैयाँ राखेको छ । निफ्राको पनि सीडी रेसियो ६७.०९ मात्रै रहेको छ ।

प्रति शेयर आम्दानी, नेटवर्थमा काे अगाडि ?

चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार ७ वटा लगानी समुहका कम्पनीमध्ये सबैभन्दा धेरै प्रति शेयर आम्दानी सीइडीबी होल्डिङले प्रकाशित गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी नै ६० रुपैयाँ ५५ पैसा रहेको छ जबकि गत वर्षको प्रथम त्रैमासमा प्रति शेयर आम्दानी ३५ रुपैयाँँ ११ पैसा थियो। त्यसपछि दोस्रो धेरै इपीएसमा नागरिक लगानी कोषको १९ रुपैयाँ ४० पैसा रहेको छ । प्रथम त्रैमािसक रिपोर्ट अनुसार निफ्राको प्रति शेयर आम्दानी ३ रुपैयाँ ८६ पैसा, एचआइडीसीएलको ३ रुपैयाँ १६ पैसा, हाथवेको ५६ पैसा तथा एनआरएनको १ रुपैयाँ ५८ पैसा छ । इमर्जिङ नेपालको प्रति शेयर आम्दानी भने १ रुपैयाँ ३६ पैसाले ऋणात्मक रहेको छ ।

सात वटा लगानी समूहका कम्पनीमा नेटवर्थको हिसाबले भने नागरिक लगानी कोषको नेटवर्थको सबैभन्दा धेरै ४१२.४० रुपैयाँ रहेको छ भने दोस्रोमा सबैभन्दा धेरै एनआरएनको २४१.९० रुपैयाँ छ। त्यस्तै सीइडीबीको २०८.३९ पैसा छ भने एचआईडीसीएलको ११५.५५ रुपैयाँ र निफ्राको ११९.९७ रुपैयाँ तथा सबैभन्दा कम हाथवेको ६६ रुपैयाँ ६४ पैसा रहेको छ । हाथवेको अंकित मूल्य ५० रुपैयाँ मात्रै भएकाले नेटवर्थ कम देखिएको हो ।