गत भदौ २३ र २४ गतेका घटना सम्बन्धि जाँचबुझ आयोग २०८२ को पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासंघका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठ र निजी क्षेत्रमाथि भएका विभिन्न आक्रमण, तोडफोड र त्यसले मुलुकको व्यवसायिक वातावरणमा पारेको असरबारे जानकारी गराएको थियो ।
सो अवसरमा आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरुले आन्दोलनका क्रममा निजी क्षेत्रले ब्यहोरेको क्षति तथा अन्य विविध विषयमा जानकारी लिएको थियो ।
निजी क्षेत्रले ब्यहोरेको क्षतिबारे जानकारी गराउँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकोले यस्ता घटना दोहोरिन नदिन निजी क्षेत्रको सुरक्षामा राज्य संयन्त्रको प्रभावकारी भूमिका हुनु पर्ने बताए ।
उनले आयोगले दिने सुझावले आउने दिनमा विधिको शासनको पूर्ण पालन र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चालिनु पर्नेमा जोड दिए । ‘निजी क्षेत्रले आफ्नो लागि मात्र काम गरको हुँदैन् । राजस्व र रोजगारीमा योगदान दिएको हुन्छ । निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो भन्ने विषयलाई सरकार, आयोग, राजनतिक दल तथा आम नागरिकहरुले पनि बुझन र बुझाउन आवश्क छ,’ अध्यक्ष ढकालले भने।
आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले घटनाको सबै पक्षलाई समेटेर सत्य तथ्यगत प्रतिवेदन तयार पारिने र ती सुझावहरू भोलीका दिनमा नीति निर्माणमा उपयोगी हुने विश्वास व्यक्त गरे। उनले निजी क्षेत्र अर्थतन्त्रको सम्बाहक भएको र यो क्षेत्रको संरक्षण गर्नु राज्यको दायित्व भएको धारणा राखे ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरत आचार्य तथा आयोगका तर्फबाट सदस्य तथा प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सहभागी थिए ।