संसद पुनःस्थापनको लागि एमाले निर्णायक सडक आन्दोलनमा जानुपर्छः उपाध्यक्ष पौडेल

Nov 18, 2025 04:42 PM Merolagani



नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले देशमा भएको राजनीतिक घटनाक्रमलाई प्रतिगामी भन्दै त्यसका विरुद्ध पार्टी सडक आन्दोलनमा जानुपर्ने टिप्पणी गरेका छन्। मंगलवार पार्टीको विघटित संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन संविधानमिाथिको आक्रमण भएको जिकिर गरे । उनले अनधिकृत रुपमा संसद विघटन गरेर संसदबाहिरबाट सरकार गठन गरिएको उल्लेख गर्दै यसका विरुद्ध निर्णायक आन्दोलनमा जानुपर्ने बताए । उनले जनतालाई संगठित गर्दै प्रतिनिधि सभा पुनःस्थापनाका लागि निर्णायक आन्दोलन सुरु गर्नुपर्ने पार्टीको निष्कर्ष रहेको पनि बताए ।

उनले भने, ‘गत भदौ २३, २४ को सिरानी हालेर देशमा जुन प्रकारको प्रतिगमन भएको छ यो प्रतिगमनको विरुद्धमा आन्दोलनमा जानुपर्ने, सडकमा उत्रिनुपर्ने जिम्मेवारीमा छौं । हामीले सुविचार लिएर जनताको माझमा जानुपर्ने, जनतालाई संगठित गर्नुपर्ने र आन्दोलित गर्नुपर्ने परिवर्तित भुमिकामा छौं । हामीले हरेक परिस्थितिमा आफूलाई खरो रुपमा उतार्न सक्नुपर्छ जस्तो मलाई लाग्छ । हाम्रो पार्टीको पृष्ठभूमि र हाम्रो पार्टीको विगत पनि त्यस्तै छ । अहिले जुन ढंगले हाम्रो संविधानमाथि आक्रक्रमण भएको छ । संविधानलाई घाइते तुल्याइएको छ । अनधिकृत रुपमा संसद विघटन गरिएको छ । र सदनभन्दा बाहिरबाट जुन ढंगको सरकार गठन गरिएको छ । यो सबै प्रतिगामी क्रियाकलाहरुका सम्बन्धमा हामी संगठित रुपमा जनताका माझमा जाने। जनतालाई आन्दोलित गर्ने र निर्णायक आन्दोलनको बलमा हामीले प्रतिनिधि सभाको पुनःस्थापना गर्ने निष्कर्षमा हाम्रो पार्टी पुगेको छ । हामीले यसबीचमा धेरै महत्वपूर्ण छलफल पनि गरेका छौं ।’

 

उनले मुलुकमा विकसित घटनाक्रम र पार्टीको भूमिकाका विषयमा पार्टी आन्तरिक छलफलमा जुटिरहेको समेत बताए ।