लगानीकर्ता प्रतिफलभन्दा सुरक्षा चाहान्छन्

Nov 21, 2025 10:47 AM Merolagani



पछिल्लो समय शेयर बजार निरन्तर घटिरहेको छ । घट्दो बजारमा लगानी थप हुन सकेको छैन । बजार बढ्नुपर्ने आधारहरू बलिया भए तापनि बजारले गति लिन सकेको छैन । बजारले निरन्तर एकपछि अर्को नकारात्मकतालाई सामना गरिरहेको छ ।

विगतमा कम्पनीले आकर्षक लाभांश वितरण गरेपछि बजार सूचकमा सकारात्मक प्रभाव पर्ने गरेको थियो । तर अहिले कम्पनीले वितरण गरेको लाभांशले लगानीकर्तालाई विशेष आकषर्ण गरेको छैन । अहिलेका पुराना लगानीकर्ता प्रतिफलभन्दा पनि लगानीको सुरक्षा चाहेको प्रकाश रजाैरेले बताए ।तीनै लगानीकर्ता रजैारेसँग सुधा देवकोटाले गरेको कुराकानीः

शेयर बजारको विगतदेखि वर्तमानसम्मको अवस्था कस्तो छ? के विगतमा अहिलेको जस्तो समस्या सामना गर्नु परेको थियो?

विगतको तुलनामा अहिले बजारमा प्रविधिको विकास भएको छ । पहिले शेयर खरिद कारोबारमा झन्झट हुन्थ्यो र आफ्नो नाममा शेयर आउन महिनौं लाग्थ्यो । अहिले कारोबार भएको तेस्रो दिनमा नै शेयर आफ्नो नाममा आउँछ र कारोबार योग्य हुन्छ ।

बजारले विस्तारै फड्को मारेको छ । कारोबार शैली र प्रणाली परिवर्तन भएर सहज भएको छ । बजारमा लगानी गर्न इच्छुकहरू सजिलै प्रवेश गर्न सक्छन् । तर अपेक्षित सुधार नहुँदा बजारको विकास हुन सकेको छैन । लगानीकर्ताहरू आफ्नो लगानी सुरक्षित ठान्दैनन् । त्यसैले बजारले अपेक्षित गति लिन सकेको छैन ।

पहिले सूचीकृत कम्पनीहरूमा बैंक तथा वित्तीय संस्थाको बाहुल्यता बढी थियो । अहिले धेरै समूहका कम्पनीहरू थपिएका छन्, जसले बजारको विकासलाई विस्तार दिइरहेको छ । विगतमा लगानीकर्ताको बाहुल्यता बढी थियो र बजार स्थिर थियो । लगानीकर्ताको रणनीति लाभांश वितरणमा आधारित हुन्थ्यो । बैंकको पूँजी वृद्धिले विगतमा बजार राम्रो भएको थियो । त्यसपछि विशिष्ट बुल बजारमा देखियो । त्यसपछि क्षेत्रगत बुल बजार देखियो । अहिले बजारले बुलको प्रकृति परिवर्तन गरेको छ र ओभरअल बुल पाउन गाह्रो भएको छ । बजार पूँजीकरण बढेको भए तापनि लगानीकर्ताको क्षमता कम देखिन्छ ।

दीर्घकालिन लगानीकर्ताको आधार कम भएको हुँदा सकारात्मक कुराहरूले सूचकमा सकारात्मक असर गर्न सकेको छैन । अहिले अल्पकालिन लगानीकर्ताहरू बजारमा हाबी छन्, जो प्रतिफलभन्दा कम्पनीको पूँजीको पछाडि लागेका छन् । यसैले बजार निरन्तर बढ्न सकेको छैन ।

 

दीर्घकालिन लगानीकर्ताहरू टिक्न सकेका छैनन् त?

दीर्घकालिन सोचका लगानीकर्ताहरूले २-३ वर्षको रणनीति बनाएर लगानी गर्छन् । अहिले बजारमा समानता छैन । कम्पनीको चुक्ता पूँजीको आधारमा कारोबार हुन्छ । कतिपय कम्पनीको पी/ई रेसियो १४-१५ छ भने कतिपयको २००-३०० पुग्ने गर्छ । यस्तो असमानताले लगानीकर्ताको आकर्षण घटाउँछ ।

सूचक र कम्पनी दुवैमा सन्तुलन छैन । चुक्ता पूँजीको आधारमा कारोबार हुने गरेको हुन्छ । यस्तो कारोबारमा अल्पकालिन लगानीकर्ताहरू हाबी छन् । सर्ट-टर्म कारोबारी प्रवृत्तिले दीर्घकालिन लगानीकर्तालाई टिक्न दिदैन । त्यसैले लगानी आउने वातावरण बन्न सकेको छैन  दीर्घकालिन लगानीकर्ताले आफ्नो क्षमता अनुसार जोखिम लिन्छन् र राम्रो कम्पनी होल्ड गर्छन् । तर नाफाले खर्च पनि धान्दैन, जसले उनीहरूलाई बजारबाट बाहिरिन बाध्य बनाउँछ । यो अवस्था बजारको हितमा छैन । राज्यले पूँजी बजारमा दीर्घकालिन लगानीकर्तालाई आकर्षित गर्ने नीति बनाउनु पर्छ ।

सरकारले पर्याप्त नीतिगत सुधार गरेको दाबी गर्छ, लगानी मनोभावना किन बढ्न सकेन?

यदि पर्याप्त काम भएको भए सूचक अहिले यत्रो तल हुनुहुँदैनथ्यो । सरकार र नियामकहरूले केही नटस् खुकुलो पारेका छन्, जुन पर्याप्त छैन । पूँजी बजारमा पूँजी आवश्यक हुन्छ, तर पूँजी आउने बाटो बन्द छ । केवल नीति सहज बनाउनु मात्रले बजार उकास्न सक्दैन । त्यसैले लगानीकर्ताहरु उत्साहित भएका छैनन ।

पूँजी बजारलाई उत्साहित गर्न डिमाण्ड बढाउनु आवश्यक छ । शेयर बजार लामो समयदेखि सुस्त छ । यसरी सुस्ताइरहँदा सम्पूर्ण आर्थिक गतिविधि पनि सुस्तिन्छन् । बजारका आधारभूत र प्राविधिक विश्लेषणहरू विफल भएका छन् । यस्तो अवस्थामा पूँजी ल्याउने नीति लिनु पर्छ ।

बजारमा पूँजी ल्याउन के गर्नुपर्छ ?

बजारमा संस्थागत लगानी बढाउनु आवश्यक छ । शेयर बजारको दीगो विकासका लागि व्यक्तिगत पूँजी पर्याप्त छैन । अहिले शेयर धिताे राखेर लोन लिने हो, तर शेयर खरिद गर्न कर्जा सुविधा छैन । मार्जिन लेन्डिङ र शेयर पर्चेजको सुविधा नहुँदा पूँजी आउन कठिन छ ।

ब्रोकर कम्पनीहरूले जोखिम लिएर उधारो सुविधा दिन्छन्, तर यो दैनिक कारोबारका लागि मात्र हो र समाधान होइन । यस्तो कारोबारले अल्पकालिन प्रवृत्ति बढाउँछ ।

पछिल्लो समय आईजिनकाे विषयले बजार तलाएको छ, याे लागू भए बजारमा के हुन्छ ?

आईजिन विषयलाई अझ प्रष्ट बनाउन आवश्यक छ । दोस्रो बजारका लगानीकर्ताले यसलाई बुझ्नुपर्छ । सामान्यतया कोर्ड दिने मात्र भनेर बुझिन्छ तर यो व्यवस्था दोस्रो बजारको हितमा छ र बजारको बेथिती रोक्छ ।

सिडिएसले पहिले नै यसको आवश्यकता महसुस गरी पहल गरेको थियो, तर नेपाल धितोपत्र बोर्डले यो विनियमावली पारित गरेको छैन । बोर्डले यसलाई रोक्नुपर्ने कुनै आधार छैन । यदि रोकिएको छ भने त्यसको कारण स्पष्ट हुनुपर्छ र तत्काल यो व्यवस्था लागु गर्नुपर्छ ।

आईजिन लागु नहुँदा बजारमा पैसा बाहिरिने जोखिम बढ्छ । संस्थापकले शेयर बिक्री गर्न नपाउने होइन । लक अवधि भन्दा छिटो शेयर बिक्री गरेर बाहिरिने परिपाटी बढेको छ ।

अर्कोतर्फ लक अवधि नखुलेको शेयर बैंकमा धितो राखेर कर्जा लिँदा बैंकलाई जोखिम हुन्छ । लक शेयर भ्यालु १०० रुपैयाँ नै हो । तर लक नखुल्दै बजार मूल्यमा शेयर बिक्री गरेर बजारबाट बाहिरिने परिपाटी छ ।

संस्थापकले शेयर बिक्री गर्न नपाउने होइन । तर कानुनको दायरामा रहेर मात्रै कारोबार गर्नुपर्छ भन्ने लगानीकर्ताहरुको माग हो । सो कम्पनीको लक खुले पछि साधारण शेयरमा रुपान्तरण गर्न सकिने व्यवस्था पनि राखिएको छ । तर विशेष हाइड्रोका लगानीकर्ताले यसको बिरोध गरेको देखिन्छ । दोस्रो बजारको हितको लागि दोहोरो आईजिन तत्काल लागु गर्नुपर्छ ।