सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Dec 13, 2025 05:59 AM Merolagani



यस साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६३१.१७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.९० प्रतिशत अर्थात २३.८० अंक घटेर २६०७.३७ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये १ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने ४ कारोबार दिन घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंक घटेको छ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ४ अर्ब १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २१.९५ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २३.७४ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १८.३३ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब १ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४० अर्ब रुपैयाँ घटेर ४३ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको छ।

१३ उपसमूहमध्ये यस साता २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.३९ प्रतिशत बढेको छ। गत साता ८०५६.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १९२.८७ अंक बढेर ८२४९.१२ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ। गत साता २३४५.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६०.०८ अंक घटेर २२८५.८७ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १७२.१२ अंक घटेको छ। गत साता १० हजार ९७४.६४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १.५७ पप्रतिशत घटेर १० हजार ८०२.५२ विन्दुमा झरेको छ।

नेप्सेमा यस साता दुई स्टकको २ करोड ६४ लाख ७३ हजार ३७१ कित्ता शेयर सूचीकृत भएको छ। यस साता एसवाई प्यानल नेपालको आईपीओ र सिटि होटलको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता स्वस्तिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६१.०३ प्रतिशत बढेको छ। गत साता १ हजार १९४ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको सो लघुवित्तको शेयर यस साता १ हजार ९२३ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयरमूल्य ३६ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ। यस साता माबिलुङ्ग इनर्जीको शेयरमूल्य सर्वाधिक १०.८७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता स्वस्तिक लघुवित्त वित्तीय संस्था, सिटि होटल, ७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने हिमालयन हाइड्रोपावर, मिथिला लघुवित्त वित्तीय संस्था, सपोर्ट लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।