यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये २ कारोबार दिन नेप्से सामान्य बढेको थियो भने २ कारोबार दिन घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स १.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।
नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ८७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ६७ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५.१७ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ५.४० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २३.८९ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि १ प्रतिशतभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ९० अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४८ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ४१ अर्ब रुपैयाँमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४४ प्रतिशत बढेको छ। गत साता २०.२४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ०.०९ अंक बढेर २०.३३ विन्दुमा पुगेको छ।
यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत घटेको छ। गत साता १३ हजार २७०.६९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४४६.१० अंक घटेर १२ हजार ८२४.५९ विन्दुमा झरेको छ। अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने यस साता सबैभन्दा कम ०.०५ प्रतिशत घटेको छ।

नेप्सेमा यस साता ३ कम्पनीको २ करोड ७३ लाख ५४ हजार ८२३.७४ कित्ता शेयर सूचीकृत भएको छ। यस साता एभरेष्ट बैंक र मुक्तिनाथ विकास बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, ग्रामीण विकास लघुवित्तको मर्जरपश्चातको शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता एसवाई प्यानल नेपालको शेयरमूल्य सर्वाधिक ३०.९० प्रतिशत बढेको छ। गत साता ६२२ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको सो लघुवित्तको शेयर यस साता ८१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर ७ प्रतिशतभन्दा कम रहेको छ। यस साता कर्पोरेट डेभलपमेन्ट बेंकको शेयरमूल्य सर्वाधिक १२.६७ प्रतिशत घटेको छ। त्यस्तै, यस साता सिन्धु विकास बैंकको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी बढेको छ भने सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब साढे १० प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नाडेप लघुवित्त वित्तीय संस्था, मातृभुमि लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने गुडविल फाइनान्स, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

