यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ८.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१५ अंक बढेको छ।
नेप्से बढेसँगै यस साता कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १४ अर्ब ८९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १६ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १०.७८ प्रतिशत बढेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ०.५३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १७.३० प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब ३ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४८ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ३३ अर्ब रुपैयाँ बढेर ५० खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक ८.८७ प्रतिशत बढेको छ। गत साता ३८१६.५८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३३८.५२ अंक बढेर ४१५५.१० विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक बढेको हो। गत साता ९८८७.९४ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ६३९.९६ अंक बढेर १० हजार ५२७.९० विन्दुमा पुगेको छ।
यस साता जीवन बीमा उपसमूहको परिसूचक सामान्य घटेको छ। गत साता १३ हजार ६४३.०८ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ४२.७८ अंक अर्थात ०.३१ प्रतिशत घटेर १३ हजार ६००.३० विन्दुमा झरेको हो।

यस साता १५ कम्पनीको ६ करोड ६३ लाख ९ हजार ६२.९२ कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, साना किसान विकास लघुवित्त, नेशनल लाइफ इन्स्योरेन्स, कालिञ्चोक दर्शन, माउन्टेन इनर्जी, निर्धन उत्थान लघुवित्त, सिंगटी हाइड्रो, मेरो माइक्रोफाइनान्स, नेशनल लघुवित्त, चन्द्रागिरी हिल्स र अप्पर हेवाखोला हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, यस साता सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ पनि नेप्सेमा सूचीकृत भएको छ।

यस साता रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य सर्वाधिक ६१.०४ प्रतिशत बढेको छ। गत साता १ हजार २५० रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको सो कम्पनीको शेयर यस साता २ हजार १३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सोलु हाइड्रोपावरको शेयरमूल्य ६१ प्रतिशत बढेको छ भने होटल फरेष्ट इनको शेयरमूल्य करिब ६१ प्रतिशत बढेको छ। यस साता मूल्य घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता रिलायन्स स्पिनिङ्ग मिल्स, ९ प्रतिशत आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर २०८८, मेगा म्युचुअल फण्ड १ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने सिक्लेस हाइड्रोपावर, एशियन हाइड्रोपावर, कालिका पावर कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

