“नेपालको शेयर बजार वर्षको दुई महिना पक्कै बढ्छ। जसलाई हामी सिजन पनि भन्छौ। ती दुई महिना भनेको अङ्ग्रेजी महिनाको जुलाई र जनवरी हो,” पुराना लगानीकर्ता प्रकाश रजौरेले मेरो लगानीसँग भने। दोस्रो बजारमा सिजनल इफेक्ट देखिने विषयमा विश्वास गर्ने रजौरे एक्ला व्यक्ति होइनन्। दोस्रो बजारमा सिजनल इफेक्ट पर्छ भन्नेमा विश्वस्त हुने धेरै लगानीकर्ता छन्। वर्षका यही दुई महिना शेयर बजार बढ्छ भन्नेहरू धेरै भएकोले गर्दा पनि उक्त दुई महिना धेरै जसो लगानीकर्ताको मनोबल समेत बढ्ने गर्छ। लगानीकर्ताको बढेको मनोबलले नै ती दुई महिना शेयर बजार उचालिने गरेको तथ्याङ्कमा देखिन्छ।

लगानीकर्ताहरू सिजनल इफेक्टलाई बढी महत्त्व दिएकै कारणले मेरो लगानीले आफ्नो डाटा प्याकमा सिजनल चार्ट समेत प्रकाशन गर्न थालेको छ। उक्त सिजनल चार्ट मेरो लगानीको डाटा प्याक खरिद गर्नेले मात्रै हेर्न सक्छन्। जसले डाटा प्याक खरिद गरेको छ। यसले डाटा एनालाइटिक्समा उक्त सिजनल चार्ट हेर्ने पाउँछ। भर्खरै मात्रै आएको उक्त सिजनल चार्टले सबैभन्दा धेरै जनवरी र जुलाई महिनामा शेयर बजार बढ्ने गरेको देखाउँछ। विगत १० वर्षको तथ्याङ्कमा उक्त महिना शेयर बजार बढ्ने गरेको देखिन्छ।
सन् २०१६ देखि २०२५ सम्मको तथ्याङ्कमा सबैभन्दा धेरै शेयर बजार बढ्नेमा जुलाई र जनवरी देखिन्छन्। गएको १० वर्षको तथ्याङ्कमा दुई वर्ष मात्रै जनवरीमा शेयर बजार बढेको छैन। तर ८ वर्ष भने जनवरीमा शेयर बजार बढेको छ। गएको १० वर्षमा सबैभन्दा धेरै सन् २०२२ को जनवरीमा शेयर बजार बढेको थियो। उक्त वर्ष जनवरीमा सूचक १३.२२ प्रतिशतले बढेको थियो। २०२१ मा पनि सूचक १३ प्रतिशत भन्दा बढी नै बढेको थियो।

यसैगरी गएको १० वर्षमा जुलाई महिनामा ८ वर्ष शेयर बजार बढेको थियो। गएको १० वर्षमा सबैभन्दा धेरै सन् २०२४ मा बढेको थियो। उक्त वर्ष सूचक ३० प्रतिशतले बढेको थियो। त्यसपछि धेरै सन् २०२० मा बढेको थियो। उक्त वर्ष १३.३७ प्रतिशतले बढेको थियो।
मेरो लगानीको सिजनल चार्ट अनुसार शेयर खरिद गर्ने महिना मार्च र अगस्ट महिना देखिन्छ। उक्त महिनामा धेरै जसो वर्ष शेयर बजार घट्ने गरेको देखिन्छ। शेयर बजारमा नाफा गर्नको लागि घटेको बेला किन्ने र बढेको बेला शेयर बिक्री गर्नु पर्ने हुन्छ। चार्टका अनुसार जनवरी र जुलाई शेयर बिक्री गरी मुनाफा आर्जन गर्ने महिनामा पर्छन्।

अहिले शेयर बजार बढ्न सकिरहेको छैन। तर जनवरी महिना लाग्नै लागेका कारण पनि अब शेयर बजारमा चमक देखिन सक्ने सम्भावना छ। किनकी चार्ट अनुसार जनवरीको सिजन सुरु हुने क्रममा छ। विगतको वर्षहरूमा जनवरीमा शेयर बजार बढ्ने गरेको भएपनि यस वर्ष बजारले कस्तो प्रदर्शन गर्छ। त्यो भने आउने जनवरी महिना समाप्त भएपछि मात्रै यकिन हुने छ।