रिज लाइन इनर्जीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन

Jan 01, 2026 09:30 AM Merolagani



रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड ४२ लाख २० हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाटको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र ३० वर्ष ११ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ वर्ष ४ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १० वर्ष ९ महिना रहेको छ। सो जलविद्युत आयोजनाबाट कम्पनीले २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरी बिक्री गरिरहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।