शेयर बजारमा 'गोल्डेन टाइम' सुरु भएको रवीन्द्र भट्टराईको विश्लेषण

Jan 21, 2026 02:56 PM merolagani



शेयर बजारका स्थापित विश्लेषक तथा चर्चित पुस्तक लेखक रवीन्द्र भट्टराईले नेपाली शेयर बजारमा अबको समय लगानीकर्ताका लागि एक विशेष अवसर हुन सक्ने सङ्केत गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक 'माइन्ड म्याप' सार्वजनिक गर्दै उनले उक्त सङ्केत गरेका हुन्। 

उनले हालको बजारलाई हेरेर तीन वटा मुख्य बिषयलाई विशेष जोड दिएका छन्। जसमा कम ब्याजदर, चुनाव र शेयरको सिजनले सकारात्मक प्रभाव पार्ने उनले विश्लेषण गरेका छन्। क्यानडामा बसोबास गर्दै आए पनि नेपाली शेयर बजारको अध्ययन र नियमित विश्लेषण गरिरहने भट्टराईका अनुसार अहिले बजारमा यी तीन पक्षको एउटा यस्तो तालमेल मिलेको छ, जसले लगानीकर्तामा उत्साह थप्न सक्छ।

उनको 'माइन्ड म्याप'  विश्लेषण गर्दा पहिलो र प्रमुख आधारका रूपमा कम ब्याजदरलाई लिन सकिन्छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र बैंकहरूले निरन्तर ब्याजदर घटाइरहेको वर्तमान अवस्थामा लगानीकर्ताहरू शेयर बजारप्रति आकर्षित हुनु स्वाभाविक मानिन्छ। निक्षेपको ब्याजदर कम हुँदा बचतकर्ताहरूले वैकल्पिक लगानीको रूपमा शेयर बजार रोज्ने र सस्तो ब्याजदरमा कर्जा लिएर लगानी गर्न सकिने भएकाले यसले बजारमा माग बढाउन इन्जिनको काम गर्न सक्छ। यससँगै चुनावको समयमा बजारमा मुद्राको ठूलो प्रवाह हुने र त्यसले प्रणालीमा थप तरलता सिर्जना गर्ने हुँदा यसलाई पनि बजार बढ्ने दोस्रो आधारको रूपमा लिन सकिन्छ।

विशेष गरी चैत पछिको समयलाई शेयर बजारको 'सिजन' को रूपमा परिभाषित गर्दै भट्टराईले यसका केही विशेष कारणहरू समेत उल्लेख गरेका छन्। अहिलेको समयमा सूचीकृत कम्पनीहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। यो विवरणले कम्पनीको ९ महिनाको नाफाको वास्तविक अवस्था झल्काउने भएकाले लगानीकर्ताहरूले सोही आधारमा कम्पनीको क्षमता मापन गर्न पाउँछन्। तेस्रो त्रैमासिक रिपोर्टका आधारमा लगानीकर्ताहरूले आगामी असार मसान्तमा कम्पनीले कति लाभांश वा बोनस शेयर वितरण गर्न सक्छ भन्ने वार्षिक नतिजाको अनुमान गर्न थाल्नेछन्। यही अनुमान र अपेक्षाले गर्दा बजारमा शेयर खरिद गर्नेहरूको सङ्ख्या बढ्न जान्छ।

अर्को आर्थिक वर्षको निकटतालाई पनि उनले यो सिजनको एउटा महत्त्वपूर्ण विशेषताका रूपमा औँल्याएका छन्। असार मसान्त नजिकिँदै गर्दा लगानीकर्ताहरू कम्पनीको वार्षिक प्रतिफल प्राप्त गर्ने समयको नजिक पुग्छन्, जसले गर्दा बजारमा 'होल्ड' गर्ने प्रवृत्ति बढ्छ र बिक्री चाप कम हुन जान्छ। शेयर बजारका आधारभूत र प्राविधिक विश्लेषणका थुप्रै पुस्तकहरू लेखेर हजारौँ लगानीकर्तालाई प्रशिक्षित गरेका भट्टराईको यो पछिल्लो विश्लेषणले बजारमा सकारात्मक माहौल बन्ने सङ्केत गरेको छ। समग्रमा, कम ब्याजदरले लगानीको लागत घटाएको, चुनावले तरलता बढाएको र कम्पनीहरूको वित्तीय नतिजा आउने सिजन सुरु भएकाले आगामी दिनहरू शेयर बजारका लागि फलदायी हुन सक्ने उनको निष्कर्ष रहेको छ।

नोट- यो भट्टराईको विश्लेषण होइन उनको 'माइन्ड म्याप' को आधारमा मेरो लगानीले गरेको विश्लेषण हो। 




'जेनजी' शेयर चम्किँदा यी हुन सबैभन्दा सस्तो मूल्यका १० कम्पनी

Jan 18, 2026 06:18 PM

पछिल्लो समय नेप्सेमा सूचीकृत नयाँ कम्पनीको साथै फाइनान्स समूहमा सूचीकृत कम्पनीहरुको शेयर मूल्य बढिरहेका छन् । ‘जेनजी शेयर’को नाम दिएका नयाँ कम्पनी पछिल्लो समय सर्किट लागेर बढिरहेका छन् । आइतबारको बजारमा पनि सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रिज १० प्रतिशत सर्किट लागेर बढे ।