२३ सय मेगावाटका ७ ठूला जलाशय र पम्प जलाशययुक्त आयोजनाको अध्ययन गर्दै सरकार, कुनकाे अवस्था कस्तो ?

Jan 27, 2026 01:51 PM merolagani



सरकारले पछिल्लो एक वर्षको अवधिमा २ हजार ३२१ मेगावाट बराबरको ७ वटा जलाशययुक्त(स्टोरेज) र पम्प स्टोरेज जलविद्युत् आयोजनाको अध्ययन कार्य अघि बढाएको छ ।

खासगरी, नेपाल विद्युत् प्राधिकरणअन्तर्गतकाे आयोजना विकास विभागले उच्च क्षमताका ती आयोजनाको अध्ययन र पहिचान गरेर अघि बढाएका हो ।

सरकारले ऊर्जा मिश्रणलाई सन्तुलनमा राख्ने उद्देश्यले जलाशययुक्त र पम्प स्टोरेजयुक्त जलविद्युत् आयोजनाको अध्ययन गरी निर्माण अघि बढाउने लक्ष्य राखेको छ । नेपालमा अधिकांश जलविद्युत् आयोजनाहरु नदी प्रवाहमा आधारित(आरओर) प्रकृतिका छन् । जसले हिउँदयाममा कुल उत्पादनको एक तिहाइ मात्र विद्युत् उत्पादन गर्ने गरेको छ ।

हिउँदयाममा हुने विद्युत् अभावलाई चिर्न र निर्यात गर्नेउद्देश्यका साथ सरकारले जलाशययुक्त र पम्प जलाशययुक्त जलविद्युत् आयोजनाको अध्ययन र निर्माणमा जोड दिँदै गएको छ । त्यसमध्ये पछिल्लो समय प्राधिकरणले ७ वटा जलाशययुक्त तथा पम्प जलाशययक्त जलविद्युत् आयोजनाको अध्ययनका कार्यलाई तीव्रताका साथ अघि बढाइरहेको छ । अध्ययन भइरहेकामा जलाशयतर्फ ७०.३७ मेगावाट क्षमतामा जावा तिला अर्ध जलाशययुक्त जलविद्युत् आयोजना, ६८३ मेगावाटको सुनकोशी–३ जलाशययुक्त जलविद्युत् आयोजना र ४९० मेगावाटको अरुण–४ जलाशययुक्त जलविद्युत् आयोजना हुन् ।

त्यस्तै, पम्प स्टोरेजतर्फ, १०० मेगावाटको कुलेखानी सिस्नेरी पम्प स्टोरेज, ४९४.५ मेगावाटको हुलिङ्टार दुम्किम पम्प स्टोरेज, ३३४ मेगावाटको स्यार्पु दह पम्प स्टोरेज, १५० मेगावाटको बेगनास रुपा पम्प स्टोरेज परियोजनाहरुको अध्ययन कार्य सम्पन्न भएको हो ।

कुन आयोजना कुन अवस्थामा छ ?

नेपाल विद्युत् प्राधिकरण अनुसार, कतिपय जलविद्युत् आयोजनाहरु अध्ययनको अन्तिम चरणमा छन् भने कतिपयको सम्भाव्यता अध्ययन र प्रारम्भिक अध्ययनको काम अघि बढिरहेको छ । ७०.३३ मेगावाट क्षमताको जावा तिला अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको हालै भौर्गभिक परिक्षण विभाग र आयोजना विकास विभागबीच कोर ड्रिलिङ कार्यका लागि समझदारीपत्र(एमओयू) भइ ड्रिलिङ कार्य भइरहेको छ । यो आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन कार्यका लागि वातावरण तथा सामाजिक अध्ययन विभागसँग सम्झौता भइसकेको छ । आयोजनास्थलमा स्वचालित पानीको स्तर रेकर्डर जडान गरी डाटा संकलन तथा अध्ययन कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै, सुनकोशी–३ परियोजनाको वातावरणीय तथा सामाजिक अध्ययन कार्यका लागि सर्तहरुको सन्दर्भमा(टीओआर) को कागजात तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । यो आयोजना अघि बढाउन जलविद्युत् दिगोपन मुल्यांकन प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।

प्रस्तावित ४९० मेगावाटको अरुण–४ अर्ध जलाशययुक्त परियोजनाको विकास र कार्यान्वयनका लागि भारतीय एसजेभीएन लिमिटेडसँग सम्झौता भइसकेको छ । अध्ययन गर्न दुई वर्षको म्याद समाप्त भइसकेकाले म्याद थप गर्न स्वीकृतिका लागि प्रक्रिया अघि बढेको छ ।

प्रस्तावित १०० मेगावाटको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादनको सर्भेक्षण अनुमतिपत्र प्राप्त भइसकेको छ । यस आयोजनाको सम्भाव्यता अध्ययनअन्र्तगत विभिन्न विकल्पहरुमा अध्ययन गरी प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, ४९४.५ मेगावाटको हुलिङ्टार दुम्किम पम्प स्टोरेज जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त भइसकेको छ ।

यो परियोजनाको लाइट डिटेक्सन एण्ड रेन्जिङ(लाइडर) प्रविधिमार्फत सर्भे कार्य भइरहेको छ । यस आयोजनाको पनि सम्भाव्यता अध्ययनअन्तर्गत विभिन्न विकल्पहरुको अध्ययन गरी प्रक्रिया अघि बढेको छ । त्यस्तै, प्रस्तावित ३३४ मेगावाटको स्यार्पु दह पम्प स्टोरेज जलविद्युत् आयोजनाको भौगर्भिक अध्ययन कार्यअन्तर्गत ३८० मिटरको कोर ड्रिलिङसहितको भूगर्भिक तथा भू–प्राविधिक अनुसन्धान कार्यहरु भइरहेको छ । आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनका लागि वातावरण तथा सामाजिक अध्ययन विभागमार्फत सम्झौता भइ प्रक्रिया अघि बढेको छ ।

र, १५० मेगावाटको बेगनास रुपा पम्प स्टोरेज जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको काम वातारण तथा सामाजिक अध्ययन विभागबाट अघि बढाइएकोमा विभागबाट उक्त कार्य गर्न नसकिने भएकाले सभ्झौता रद्ध भइ हिसाव फरफारक गर्न पत्र प्राप्त भएको छ । हाल आयोजनाको लागत अनुमान अपडेट गरिएको छ । यो आयोजनाको पनि लाइट डिटेक्सन एण्ड रेन्जिङ(लाइडर) प्रविधिमार्फत सर्भे कार्य भइरहेको प्राधिकरणले जनाएको छ ।

 

 

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।