घोराही–माडीचौर प्रसारण लाइनका १२२ मध्ये ३९ वटा टावर ठडिए, खुग्री सवस्टेशनको काम कहिले सकिएला ?

Jan 29, 2026 03:07 PM merolagani



घोराही–माडीचौर १३२ केभी प्रसारण लाइन आयोजनाको जग्गा अधिग्रहणको काम सकिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, प्रसारण लाइन निर्माण गर्न आवश्यक जग्गा अधिग्रहण र प्राप्तीको काम सकिएर टावर निर्माणको काम समेत अघि बढेको हो । रोल्पा, प्युठान र दाङ जिल्लामा बनाइने प्रसारण लाइनको टावर प्याडको लागि आवश्यक जग्गा अधिग्रहणको काम सकिएको आयोजनाले जनाएको छ । कुल ३८ किलोमिटर लामो प्रसारण लाइनअन्तर्गत १२२ वटा टावर निर्माण गर्नुपर्ने हुन्छ ।

त्यसमध्ये हालसम्म ७५ वटा टावरको फाउन्डेसन र ३९ वटा टावरको इरेक्सन(निर्माण)को काम सकिएको आयोजनाले जनाएको छ । बाँकी टावर प्याडको काम पनि अघि बढेको छ । सन् २०२१ को अन्त्यमा यो प्रसारण लाइन निर्माणका लागि ठेक्का आह्वान भएको थियो । जग्गा अधिग्रहणको काम सम्पन्न गर्न लामो समय लाग्दा आयोजना निर्माणमा ढिलाई भइरहेको छ ।

हालसम्म यो प्रसारण लाइन आयोजनाको वातावरण विभागबाट टीओआर स्वीकृत भइ वातावरणीय प्रभाव मूल्यांकन(इआईए) प्रक्रिया सम्पन्न भइसकेको छ । त्यस्तै, सवस्टेशन निर्माणतर्फ स्टाफ क्वार्टर, गार्ड हाउस, कन्ट्रोल बिल्डिङ तथा इक्यूपमेन्ट फाउन्डेसनको काम अघि बढेको छ । खुग्री सवस्टेशनको लागि आवश्यक सम्पूर्ण निर्माण सामग्री साइटमा प्राप्ति भइ निर्माणको क्रममा रहेको आयोजनाले जनाएको छ ।

सम्पूर्ण निर्माण सामग्री आयोजनास्थल सुनिलस्मृति गाउँपालिका–२ स्थित खुग्री सवस्टेशनमै आइसकेकाले निर्माणको काम पनि तीव्र रुपमा अघि बढ्ने आयोजनाले जनाएको छ । प्राधिकरणले दाङको झिग्नीदेखि रोल्पाको माडिचौरसम्म विद्युत् सेवा पुर्याउने उद्धेश्यका साथ यो प्रसारण लाइन निर्माण गरिरहेको छ ।

५ वर्षमा निर्माण गर्ने लक्ष्यसहित अघि बढेको यो प्रसारण लाइन आयोजनाले तराइको दाङ देखि उच्च पहाडी रोल्पासम्ममा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रणालीमा जोड्न कोशेढुंगा सावित हुने अपेक्षा छ । जग्गा प्राप्तिको ढिलाइ, समन्वय नहुनु र प्रक्रियागत झन्झटका कारण आयोजना निर्माणमा ढिलासुस्ती भइरहेको छ । पछिल्लो पटक संशोधित कार्यतालिकाअनुसार, यो प्रसारण र सवस्टेशन निर्माणको काम आगामी २०८३/०८४ भित्र सम्पन्न हुने अपेक्षा लिइएको छ ।

प्रसारण लाइन आयोजनाअन्तर्गत टावर निर्माण गरेर तार तान्नेलगायतका काम अघि बढ्नेछन् । प्रसारण लाइन तयार हुँदासम्म खुग्री सवस्टेशन निर्माणको काम पनि सकिने प्राधिकरणले जनाएको छ ।

 

 




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।