९१ औँ दिनमा पनि बक्स अफिसमा ‘परान’ को राज, अन्य चलचित्रको व्यापार कस्तो ?

Feb 02, 2026 05:33 PM Merolagani



चलचित्र विकास बोर्डले नेपालभर प्रदर्शनरत चलचित्रहरूको बक्स अफिस कारोबार सम्बन्धी आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ।

बोर्डका अनुसार माघ ११ गतेदेखि १७ गते मध्यरातसम्मको अवधिमा नेपालभर प्रदर्शनमा रहेका ६ चलचित्र परान, गोबर गणेश, झरी पछिको इन्द्रेणी, भाईरल गोर्खे, मिरमिरे र परिवर्तनको कारोबार विवरण सार्वजनिक गरिएको हो।

उक्त तथ्याङ्कअनुसार बाइस्कोप सिनेमा ब्यानरमा निर्माण भई कात्तिक १४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र परानले प्रदर्शनको ९१ औँ दिन पार गरिसक्दा पनि आक्रामक कमाइ कायम राख्दै अन्य सबै प्रतिस्पर्धी चलचित्रलाई फराकिलो अन्तरले पछि पारेको देखिन्छ। सय दिनको ऐतिहासिक यात्रातर्फ उन्मुख ‘परान’ले नेपाली बक्स अफिसमा आफ्नो एकलौटी राज अझ मजबुत बनाएको छ।

चलचित्र विकास बोर्डअन्तर्गतको ‘सिनेपाः २ बक्स अफिस’ को आधिकारिक तथ्याङ्कअनुसार परानले हालसम्म ६ लाख ३३ हजार ५४ टिकट बिक्री गर्दै १७ करोड ८४ लाख ४७ हजार ५ सय ७६ रुपैयाँ आम्दानी गरेको छ। यो रकम हाल प्रदर्शनरत अन्य सबै चलचित्रहरूको संयुक्त आम्दानी भन्दा पनि कैयौँ गुणा बढी रहेको छ।

कमाइको सूचीमा दोस्रो स्थानमा रहेको चलचित्र गोबर गणेशले ४८ हजार ५३ टिकट बिक्री गर्दै १ करोड ३६ लाख २० हजार ८ सय ६६ रुपैयाँ संकलन गरेको छ। यसले अघिल्लो साता दोस्रो स्थानमा रहेको झरी पछिको इन्द्रेणीलाई उछिन्दै यो साता स्थान फेरेको हो।

तेस्रो स्थानमा रहेको झरी पछिको इन्द्रेणीले हालसम्म ४० हजार ६ सय २४ टिकट बिक्री गर्दै १ करोड २८ लाख ५२ हजार ३ सय १९ रुपैयाँ कमाइ गरेको छ।

त्यसैगरी, चौथो स्थानमा रहेको चलचित्र भाईरल गोर्खेले प्रदर्शनको तेस्रो सातासम्म ११ हजार २ सय ९८ टिकट बिक्री गर्दै ३६ लाख १० हजार ९ सय २५ रुपैयाँ आम्दानी गरेको छ। चलचित्र मिरमिरेले १० हजार ८ सय ८४ टिकट बिक्री गर्दै ३३ लाख ९३ हजार ७ सय १५ रुपैयाँ कमाइ गरेको छ।

माघ ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र परिवर्तनले हालसम्म ११ हजार ६ टिकट बिक्री गर्दै ३१ लाख ९ हजार ९ सय २५ रुपैयाँ संकलन गर्दै सूचीको अन्तिम स्थानमा रहेको छ।

समग्रमा, हालको बक्स अफिस प्रतिस्पर्धामा ‘परान’ले स्पष्ट अग्रता कायम राख्दा अन्य चलचित्रहरू दर्शक तान्ने संघर्षमा देखिएका छन्।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।