यसअघिका सीईओ अशोक शेरचनले राजीनामा दिएपछि प्रभु बैंकमा नेतृत्वको पद खाली रहेको थियो। शर्माको नियुक्ति मंगलबारदेखि नै लागु हुने बैंकले जनाएको छ ।
नवनियुक्त सीईओ शर्मासँग बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा लामो कार्य अनुभव छ। जसमध्ये १० वर्षभन्दा बढी समय उनले उच्च व्यवस्थापन तहमा रहेर काम गरिसकेका छन्। उनीसँग यसअघि सनराइज बैंक र माछापुच्छ्रे बैंकको सीईओ भएर संस्थालाई नेतृत्व प्रदान गरेको अनुभव छ।
सनराइज बैंक लक्ष्मी बैंकसँग मर्जरमा गएपछि उनी केही समय बैंकिङ क्षेत्रबाट टाढा रहेका थिए। सो अवधिमा उनी प्राध्यापन पेसामा आबद्ध भएका थिए। यसका साथै उनले ग्लोबल आइएमई बैंकमा करिब एक वर्ष र एनएमबी बैंकमा पनि लामो समय काम गरिसकेका छन्।
शर्माको शैक्षिक पृष्ठभूमि पनि निकै बलियो र फरक रहेको छ। उनले भौतिकशास्त्र (फिजिक्स), अर्थशास्त्र र व्यवस्थापन गरी तीन वटा फरक विधामा स्नातकोत्तर (मास्टर्स) तहको उपाधि हासिल गरेका छन्।
बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनले कीर्तिपुरस्थित विश्वविद्यालयमा फिजिक्स अध्ययन गरेका थिए। हाल उनी काठमाडौँ विश्वविद्यालय (KU) को स्कुल अफ म्यानेजमेन्टमा भिजिटिङ फ्याकल्टीका रूपमा एमबिएका विद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका थिए ।
विगतको सफल कार्यकाल र लामो अनुभवका कारण शर्माको नेतृत्वमा प्रभु बैंकले थप उचाइ लिने अपेक्षा गरिएको छ ।