भीआईपी उम्मेदवारको तामझामको बीचमा पुहाँतु चौधरीको ‘दूर्भाग्यपूर्ण चमत्कार’ को सम्झना, के यस पटक झापामा अर्का पुहाँतुको जन्म होला ?

Feb 04, 2026 11:08 AM mero lagani



बाबुराम ढकाल
देशलाई चुनाव लागेको छ र सबैका आँखा झापामा छन् । किनकी झापा ‘भिआईपी उम्मेदवारहरुको केन्द्र विन्दु’ बनेको छ ।

पूर्वप्रधानमन्त्री केपी ओलीदेखि अब हुने भनिएका प्रधानमन्त्री बालेनसम्म, पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनदेखि पूर्वमन्त्री धर्मशिला चापागाईसम्म, निवर्तमान सभामुख देवराज घिमिरेदेखि निवर्तमान उपसभामुख इन्दिरा रानासम्म, पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौलादेखि अधिवक्ता स्वागत नेपालसम्म, झापामा सबै उम्मेदवार छन् । त्यहाँभन्दा पनि पर गएर झापामा मजदुर पनि उम्मेदवार छन्, किसान पनि उम्मेदवार छन् । झापामा कुन वर्गका मानिस उम्मेदवार छैनन् ? सबै वर्गका उम्मेदवार छन्, सबै तहका उम्मेदवार छन् ।

फरक त्यत्ति हो, होहल्ला ‘भिआईपी उम्मेदवारहरु’को धेरै छ, जुन स्वभाविक पनि हो । आर्थिकरुपमा तल्लो वर्गका अर्थात् भूँईतहका उम्मेदवारहरुको होहल्ला धेरै छैन । तर, के यही बीचबाट देशका भिआईपी उम्मेदवारहरुलाई ढ्याङग्रो ठटाउँदै तर्साउने गरि झापामा यस पटकको निर्वाचनमार्फत राजनीतिकरुपमा कुनै अर्का पुहाँतु चौधरीको जन्म होला ? झापाका खासगरि पुरानो पुस्ताका मतदाताहरु पुहाँतुलाई स्मरण गरिरहेका छन् । र, उनीहरु मनमनै गुनिरहेका छन्— ‘कास्’ पुहाँतुको पुनर्जन्म भै दिए ...

धेरैलाई थाहा नहुनसक्छ, पुहाँतु पंचायती व्यवस्थाका त्यस्ता आदर्श राजनीतिक पात्र थिए, जस्ले पटक पटक चुनाव जिते, प्रधानपन्च भए, राष्ट्रिय पंचायत सदस्य (अहिलेको सन्दर्भमा सांसद) भए, तर जनताका मुद्दा छोडेनन् । आर्थिक र नैतिकरुपमा कतै चुकेनन्, बरु आर्थिकरुपमा आफै टाट पल्टिए । ‘खाली खुट्टा सिंहदरबार टेकेर चिल्ला गाडीहरुमा हिँड्ने’ पात्रहरु धेरै देखिए तर सिंहदरबारबाट बाहिरिँदा घर जग्गा नै बेच्नु पर्ने झापाली जनप्रतिनिधि पुहाँतु चौधरीका बारेमा चर्चा गर्नेहरु कमै मात्र भेटिएका छन् । पुहाँतुको अवस्था कस्तो थियो भने राष्ट्रिय पंचायत सदस्य भएपछि राजा विरेन्द्रले एउटा विशिष्ट पदकबाट सम्मान गर्न खोज्दा उनले विन्ति गरेछन्—सरकार ! तक्मा दिएर मलाई जानी जानी सुकम्बासी नबनाइबक्सिओस् । मलाई तक्मा र सम्मान नदिई बक्सिओस् । त्यो अनुरोधपछि उनलाई दिन ठिक्क पारिएको सम्मान पनि स्थगित गरिएको थियो ।

उनले त्यसरी अनुरोध गर्नुको पनि कारण थियो, अघिल्लो पटक उनी प्रधानपन्च हुँदा राजा बीरेन्द्रले पुहाँतुलाई गोरखा दक्षिणबाहु तक्मा दिएका थिए, साथमा दुई हजार रुपैयाँ बक्सिस पनि । त्यो बक्सिस र तक्मा पाएपछि पुहाँतुसँग ‘तपाईँ त ठूलो मान्छे स्कुल बनाउन चन्दा दिनु पर्यो, कल्भर्ट बनाउन चन्दा दिनु पर्यो, यस्तोको लागि चन्दा उस्तोको लागि चन्दा’ भन्दै चन्दा माग्नेहरुको भिड महिनौ दिनसम्म आइरह्यो । त्यसमाथि भोज खानेहरुको त कुरै भएन । फलस्वरुप दरबारबाट बक्सिसस्वरुप पाएको त्यो दुई हजार त कता गयो कता, त्यतिबेला लागेको ऋण तिर्न दुई विघा जग्गा बेच्नु पर्यो ।

त्यही स्थिति नदोहोरिओस् र आफ्नो आर्थिक अवस्था थप भद्रगोल नहोस भनेरै उनले राजाले नै दिन खोजेको सम्मान पनि अस्वीकार गरेका थिए । प्रधानपंच हुनु अघि ३०–४० विघा जमिन भएका  पुहाँतुको राष्ट्रिय पञ्चायत सदस्य सकिँदा दुई विघा जग्गा मात्रै थियो ।

यसरी चुनाव जितेका थिए पुहाँतुले

पुहाँतु चौधरीको घर अहिलेको भद्रपुर नगरपालिका वडा नम्बर ९ को पुहाँतुबाडीमा पर्छ । पञ्चायतकालमा यो ठाउँ चन्द्रगढी गाउँ पञ्चायत भित्र पर्थ्यो । पुहाँतुले दुईपटक चन्द्रगढी गाउँ पञ्चायतको प्रधानपञ्च जिते । प्रधानपंचकोरुपमा उनले जनताको मन छुने कामहरु गरे । फलस्वरुप आफूले नचाहाँदा नचाहदैँ पनि उनी २०३८ सालमा झापाबाट राष्ट्रिय पंचायत सदस्य (रापंस)को चुनाव लडे र जिते । त्यतिबेला झापाबाट दुई जना रापंस चुनिन्थे, त्यहीअनुसार पुहाँतु र गोपाल चन्द्र सिंह राजवंशीले चुनाव जितेका थिए । त्यतिबेला झापामा २ लाख १० हजार ५६१ मतदाता रहेकोमा १ लाख १२ हजार ८७२ मत खसेको थियो । त्यसमा १ लाख ५ हजार ३२५ मत सदर भएको थियो । त्यसमध्ये विजयी गोपाल चन्द्रले २६ हजार ७१८ र अर्का विजयी पुहाँतुले २४ हजार ६०१ मत प्राप्त गरेका थिए ।

पुहाँतुको चुनाव प्रचारको शैली रोचक थियो । उनी मुरई (भुजा) मा सख्खर मिलाएर डल्ला बनाएर बोरामा हाल्ने अनि गोरु गाडामा चढेर गाउँतिर जान्थे । अनि आयो है पुहाँतु चौधरी आयो भन्दै मुरईका डल्ला बाँड्थे । उनले चुनावी घोषणा पत्र नै बनाएका थिएनन्, न त लामा लामा भाषण नै गर्दथे । उनले ‘जनताको काम गर्ने थारुको छोरो’ भन्दै अल्लारे पाराले प्रचार गर्थे ।

अहिले म्याग्दीबाट लडेका डा. महाबिर पुनको चुनाव प्रचारको शैली हेर्दा उनले पुहाँतुकै शैली अपनाएका हुन कि जस्तो लाग्छ । साँच्चै त्यस्तो होला कि संयोग मात्र त्यस्तो होला ? त्यो भने पुनलाई नै थाहा होला ।


पहुँचवाला र भिआईपी भनिएका धेरै उम्मेदवारहरुलाई हराएर रापंस भएका पुहाँतुले सकेसम्म जनताको काम गर्ने प्रयास गरेको स्मरण झापाबाट पटक पटक चुनाव जितेका पूर्व मन्त्री राधाकृष्ण मैनालीको छ । केही वर्ष अघि एउटा संचारमाध्यमलाई दिएको अन्तरवार्तामा पुहाँतुको स्मरण गर्दै मैनालीले भनेका छन्ः पुहाँतु जस्तो मान्छे त अब राजनीतिमा पाइँदैन । उनले राजनीतिबाट कमाउने काम कहिल्यै गरेनन् । साँच्चै भन्ने हो झापामा पुहाँतुले खोलेको स्कुलमा उनको शालिक बनाए हुने, कसैले बनाउँदैनन् ।

स्मरण रहोस् अहिले भद्रपुर नगरपालिका वडा नम्बर ९ को पुहाँतुबाडीमा उनकै नाममा पुहाँतु जनज्योति मावि संचालनमा छ, त्यो स्कुल खोल्नको लागि पुहाँतुले दुई विघा जमीन दान दिएका थिए । गाउँको नाम पुहाँतुबाडी पनि उनकै नामबाट राखिएको हो ।

अन्त्यमा पुहाँतु चौधरी २०५२ सालमै विते, उनका छोराहरु अहिले सामान्य पेशा व्यवसाय गरेर बसिरहेका छन् । तर, के झापामा यसपटक ४४ वर्ष अगाडि भिआईपीहरुलाई हराएर भूई मान्छे पुहाँतुले इतिहाँस रचे जस्तै अर्काे इतिहाँस रच्ला ? त्यो भने फागुन २१ पछि नै थाहा हुनेछ ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।