लामो समयदेखि निर्माण हुने चर्चा चलिरहेको उक्त आयोजनाको सर्भे डिजाइनको काम चिनियाँ पक्षबाट अनुदान सहयोग स्वरुप हुन लागेको हो ।
सडक विभागका अनुसार, टनेल डिजाइनका लागि चिनियाँ पक्षले अनुदान सहयोगमा सर्भे डिजाइन गरेर नेपाललाई हस्तान्तरण गर्नेछ । काठमाडौंको टोखा नगरपालिकादेखि नुवाकोटको छहरे क्षेत्रसम्म जोड्ने गरी सुरुङ निर्माण गरिनेछ ।

हालसम्म आयोजनको सर्भे डिजाइनको काम सकिएको छ । चिनियाँ सरकारको सहयोगमा सर्भे डिजाइन अघि बढाइने विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख तथा उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए । ‘टोखा–छहरे टनेल निर्माणका लागि चिनियाँ पक्षले सर्भे डिजाइन गर्दैछ,’ उनले भने, ‘यो चिनियाँ सरकारको अनुदान सहयोगमा सर्भे डिजाइन हुन लागेको हो ।’
चिनियाँ पक्षले आयोजना निर्माणको विस्तृत सम्भाव्यता अध्ययनका लागि कार्यान्वयन सम्झौताको मस्यौदा नेपाल सरकारलाई यसअघि नै पठाइसकेको छ । गत २०८१ मंसिर १७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा टोखा–छहरे आयोजनासम्वन्धी महत्वपूर्ण सम्झौता समेत भएको थियो । जसमा आयोजनालाई बेल्ट एण्ड रोड इनिसिइटिभ(बीआरआई) सम्झौतामा राखिएको छ । उक्त भ्रमणमा ‘बीआरआइ सहकार्य फ्रेमवर्क’ मा दुवै देशका प्रतिनिधिबीच समझदारीपत्र(एमओयू) मा हस्ताक्षर समेत भएको थियो । विगतमा पनि नेपालले उक्त आयोजना अनुदान सहयोगमा बनाइदिन चिनियाँ सरकारलाई अनुरोध गर्दै आएको थियो ।
पूँजी व्यवस्थापनको अनिश्चितता कायमै
वि.सं २०७६ असोज २५ मा चिनिँया राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका बेला यो आयोजनाको अध्ययन प्रक्रिया प्राथमिकतामा परेको थियो । त्यसपछि पनि नेपाल सरकारले उक्त सुरुङमार्ग आयोजना अघि बढाउन चिनिँया पक्षसँग छलफल र संवाद गरे पनि ठोस् प्रगति भने हुन् सकेको छैन् ।
अर्थात, चिनियाँ पक्षले सर्भे र विस्तृत अध्ययनको काम अनुदान सहयोगमा गरेता पनि आयोजनाको कसरी अघि बढ्छ, त्यो पक्ष भने अझै अन्योल छ ।
प्रारम्भिक अध्ययनअनुसार, कुल ३० अर्ब लागत लाग्ने अनुमान गरिएको यस आयोजनाका लागि त्यति ठूलो पूँजी लगानी जुटाउने चुनौती उत्तिकै छ । चिनियाँ पक्षले त्यति ठूला लगानी रहेको आयोजनालाई अनुदान सहयोगमा बनाइदिने छाँटकाँट देखाएको छैन् ।
तर, नेपाल पक्ष भने यतिबेला यो आयोजना चिनियाँ पक्षले अनुदान सहयोगमा बनाइदिन्छ भन्ने ठूलो आसमा छ । तर, साढे २ वर्षअघि पूर्वतयारी सकिएको र कुल ६ अर्ब लागत लाग्ने दोस्रो चरणको चक्रपथ विस्तारको काम अझै सुरु गर्न सकेको छैन् ।
चक्रपथमा कुनै जटिल समस्या नहुँदा नहुँदै पनि चिनियाँले लगानी गर्न आनाकानी गरिरहेको अवस्थामा टोखा–छहरे सुरुङ आयोजनाका चीनले अनुदान सहयोगमा त्यति सजिलै बनाइदेला भनेर भन्न सकिने अवस्था भने छैन् ।
सरकारबाटै बजेट तर, अघि बढेन
टोखा–छहरे सुरुङ आयोजना अघि बढाउन सरकारले यसअघि नै पहल नगरेको होइन् । आर्थिक वर्ष २०८०/०८१ मा आयोजनालाई निर्माण प्रक्रियामा लैजान भनेर सरकारले त्यसबेला १ अर्ब २५ करोड रुपैयाँ बजेट समेत विनियोजन गरेको थियो । सर्भे, डिजाइन अध्ययनलगायतका कामका लागि विनियोजन भएको उक्त बजेट काम नभएपछि उक्त रकम अन्य आयोजनामा रकमान्तर गरियो । तर, आयोजना भने अघि बढ्न सकेन् ।
अहिले पनि आयोजना प्रारम्भिक चरणमै छ भन्दा फरक नपर्ला । आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ । सर्भे, विस्तृत डिजाइन र वातावरणीय प्रभाव मुल्यांकन(इआइए) लगायतका काम अझै पूरा हुन सकेका छैनन् ।
चालू आर्थिक वर्ष २०८२/०८२ को बजेटमार्फत सरकारले यो वर्ष आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य राखेको छ । टोखा देखि छहरेसम्म कुल ३४ किलोमिटरको यात्रा सुरुङमार्ग बनेपछि भने ४ किलोमिटरमा पुग्न सकिने छ । अर्थात सडकमार्गबाट ३० किलोमिटर यात्रा छोटिनेछ । नेपाल र चीनको आयात र व्यापारका दृष्टिकोणले समेत यो सुरुङमार्ग कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।