प्रादेशिक अस्पताल सिरहामा ३८ लाखभन्दा बढी रकम हिनामिना,१० जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

Feb 03, 2026 05:23 PM Merolagani



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल सिरहामा ३८ लाखभन्दा बढी रकम हिनामिना भएको ठहर गर्दै १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रादेशिक अस्पताल सिरहामा कर्मचारी नियुक्तिदेखि राजस्व संकलनसम्म मिलेमतो गरी ३८ लाख ७७ हजारभन्दा बढी रुपैयाँ हिनामिना गरिएको तथ्य खुलेको हो। लामो समयदेखि ओपीडी लगायतका सेवा शुल्क संकलन काउन्टरमार्फत उठाइएको नगद रकम राजस्व खातामा जम्मा नगरी दुरूपयोग गरिएको उजुरीमाथि गरिएको अनुसन्धानबाट उक्त विषय पुष्टि भएपछि सोही रकम हिनामिनामा प्रत्यक्ष संलग्न भएको आरोपमा तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अनुसन्धानका क्रममा अस्पतालमा रहेका ८ वटा बिल काउन्टरमार्फत सफ्टवेयर प्रणाली प्रयोग गरी सेवा शुल्क असुली भइरहेको देखिएको छ। आर्थिक वर्ष २०८०/०८१ मा ती काउन्टरबाट ३ करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ ८३ पैसा संकलन हुनुपर्ने देखिए पनि अस्पतालको अभिलेखअनुसार ३ करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको पाइएको छ। बाँकी ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा हालसम्म दाखिला नगरिएको र हिनामिना भएको ठहर गरिएको छ।

यस विषयमा महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनले पनि सोही रकम कैफियत औंल्याएको छ।

बिल काउन्टरमा कार्यरत कर्मचारीहरूको विवरणअनुसार, अहेब श्याम कुमार मण्डलले सफ्टवेयरअनुसार ७० लाख ३७ हजार ३४७ रुपैयाँ ०१ पैसा आम्दानी गरेको देखिए पनि बैंक भौचरअनुसार ४४ लाख ८९ हजार ९३० रुपैयाँ मात्र दाखिला गरी २५ लाख ४७ हजार ४१७ रुपैयाँ ०१ पैसा हिनामिना गरेको, सकअ रोशन कुमार यादवले ६७ लाख १९ हजार ४३ रुपैयाँ ३० पैसामध्ये १ लाख ६४ हजार ६५९ रुपैयाँ ६८ पैसा दाखिला नगरेको, सकअ सरस्वती कुमारी यादवले ५५ लाख १६ हजार ५३३ रुपैयाँ ७४ पैसामध्ये ५ लाख २ हजार ८१३ रुपैयाँ ७४ पैसा दाखिला नगरेको, सकअ अजय कुमार मण्डलले २८ लाख १६ हजार ५९६ रुपैयाँ ५० पैसामध्ये ३ लाख ७९ हजार २१ रुपैयाँ ०४ पैसा दाखिला नगरेको, सकअ पूजा कुमारी यादवले ५७ लाख १९ हजार ३५४ रुपैयाँ ४० पैसामध्ये २ लाख ८८ हजार २२९ रुपैयाँ ४० पैसा दाखिला नगरेको देखिएको छ।

त्यसैगरी, प्रादेशिक अस्पताल सिरहाका तत्कालीन प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवले बिलिङ सफ्टवेयरमार्फत कुन कर्मचारीले कति रकम संकलन गर्‍यो भन्ने जानकारी पाउने अधिकार हुँदाहुँदै पनि जानाजानी अनियमितता नियन्त्रण नगरी अन्य प्रतिवादीहरूसँग मिलेमतो गरी पद तथा ओहदाको दुरूपयोग गरेको अनुसन्धानबाट पत्ता लागेको छ।

यसरी सार्वजनिक सम्पत्ति तथा अस्पतालको राजस्व ३८ लाख ७७ हजार ७२४ रुपैयाँ ८३ पैसा हिनामिना, हानी–नोक्सानी तथा दुरूपयोग गरेको ठहर गर्दै सम्बन्धित सबै प्रतिवादीविरुद्ध आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको हो।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।