
विश्व प्रसिद्ध अमेरिकी आर्थिक म्यागेजिन फोर्ब्सका अनुसार, मस्कको कुल सम्पत्ति अहिले ८५० बिलियन डलर (करिब ११३ लाख करोड नेपाली रुपैयाँ) को ऐतिहासिक उचाइमा पुगेको छ। यो अङ्क कति विशाल हो भने, मस्कको एक्लो नेटवर्थ नेपालको मात्र होइन, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश जस्ता दक्षिण एसियाली मुलुकहरूको कुल अर्थतन्त्र जोड्दा हुने रकमभन्दा पनि धेरै छ। फोर्ब्सको यो पछिल्लो तथ्याङ्कले विश्व अर्थतन्त्रमै हलचल मच्चाएको छ। किनकि मस्कले एकै दिनमा मात्रै ८४ बिलियन डलर (करिब ११ लाख करोड नेपाली रुपैयाँ) थपेर इतिहासकै सबैभन्दा धनी व्यक्तिको कीर्तिमान रचेका हुन्।
फोर्ब्सका अनुसार, मस्कको यो चमत्कारिक छलाङको मुख्य कारण उनको रकेट कम्पनी 'स्पेसएक्स' ले आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप 'xAI' लाई खरिद गर्नु हो। पहिले दुई अलग अस्तित्वमा रहेका यी कम्पनीहरू गाभिएर अहिले १.२५ ट्रिलियन डलरको एउटै महाशक्ति बनेका छन्। जसले मस्कको ढुकुटीमा रातारात ८४ बिलियन डलर थपिदिएको हो। मस्कको सम्पत्ति बढ्ने रफ्तार यति तीव्र छ कि पछिल्लो ४ महिनामा मात्रै उनको नेटवर्थ ७० प्रतिशतले बढेको फोर्ब्सले जनाएको छ। अक्टोबर २०२५ सम्म ५०० बिलियन डलरको आँकडामा रहेका उनी डिसेम्बरको मध्यतिर ६०० बिलियन, डिसेम्बर १९ मा ७०० बिलियन र अहिले जनवरी २०२६ सम्म आइपुग्दा ८५० बिलियन डलरको शिखरमा पुगेका हुन्।
धनीहरूको यो दौडमा मस्क कति अगाडि छन् भन्ने कुरा यो तथ्यबाट प्रस्ट हुन्छ कि विश्वका दोस्रो धनी व्यक्ति गुगलका सह-संस्थापक ल्यारी पेजभन्दा उनी तीन गुणा बढी धनी भइसकेका छन्। २८१ बिलियन डलरसहित पेज दोस्रो स्थानमा निकै पछि परेका छन् भने मस्क उनीभन्दा ५७८ बिलियन डलरको ठुलो मतान्तरले अगाडि छन्। फोर्ब्सका विश्लेषकहरूका अनुसार, यही रफ्तार कायम रहे मस्क चाँडै नै विश्वकै पहिलो 'ट्रिलियनियर' (१००० अर्ब डलरको मालिक) बन्ने निश्चित छ। टेस्ला, स्पेसएक्स र न्यूरालिंक जस्ता कम्पनीहरू स्थापना गरी भविष्यको प्रविधिमा लगानी गरेका मस्कको यो सफलताले संसारलाई चकित बनाएको छ। टेस्लामार्फत इलेक्ट्रिक गाडीको क्रान्ति, स्पेसएक्समार्फत मङ्गल ग्रहमा मानव बस्ती बसाउने सपना र न्यूरालिंकमार्फत मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने उनको महत्त्वाकाङ्क्षाले मस्कलाई केवल एक व्यवसायी मात्र नभई 'आधुनिक युगका सपना द्रष्टा' का रूपमा पनि उभ्याएको छ। तर, हाललाई भने फोर्ब्सले सार्वजनिक गरेको यो तथ्याङ्कले एउटै व्यक्तिको निजी सम्पत्तिले दर्जनौँ देशको अर्थतन्त्रलाई उछिन्नु विश्वकै लागि एउटा अनौठो र ऐतिहासिक परिदृश्य बनेको छ।