साथै भारत र पाकिस्तानबीचको खेल रद्ध भएपछि अर्बाैं रकमको व्यवसाय चौपट भएको छ भने क्रिकेट प्रेमीहरुलाई निराश बनाएको छ ।

२०२४ मा भएको विद्यार्थी आन्दोलनपछि भारतमा शरण लिइरहेकी तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई सुपर्दगी नगरेपछि बंगलादेश र भारतबीचको विवाद चर्केको छ । त्यसैमा बंगलादेशमा अल्पसंख्यक हिन्दुहरुमाथि दमन गरिएको भन्दै आपत्ती जनाइरहेको भारतले इण्डियन प्रिमियर लिग (आईपियल)मा कोलकत्ता नाइट राईडर्सबाट खेलिरहेका बंगलादेशी खेलाडी मुस्तफिजुर रहमानलाई खेल्न नदिएपछि आक्रोसित भएको बंगलादेशले भारतसँग क्रिकेट नखेल्ने निर्णय गरेको थियो । त्यसको सट्टा विश्व क्रिकेट काउन्सिल (आईसीसी)ले स्कटल्याण्डलाई विश्वकप खेलाउने निर्णय गरिसकेको छ ।
त्यही विवादको बीच राजनीति र क्रिकेटमा भारतको चीर प्रतिद्धन्दी (अझ उनीहरुको भाषामा त शत्रु) पाकिस्तानले पनि लिग चरणका अन्य खेल खेल्ने तर भारतसँग भने नखेल्ने निर्णय गरेपछि क्रिकेटको राजनीति थप गर्माएको छ । विश्वकपको पूर्व घोषित तालिकाअनुसार भारत र पाकिस्तानबीचको लिग चरणको खेल फेब्रुअरी १५ मा कोलम्बोमा हुनु पर्ने थियो । तर पाकिस्ताले त्यो खेल नखोल्ने घोषणा गरेको छ ।
विभिन्न सञ्चारमाध्यमहरूका अनुसार भारत–पाकिस्तान बीचको एक खेलको व्यापारिक मूल्य करिब २५ करोड अमेरिकी डलर (करिब ३३ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबर रहेको छ ।
समाचार संस्था पीटीआईका अनुसार भारत–पाकिस्तान खेलका लागि १० सेकेन्डको विज्ञापनको मूल्य २५ देखि ४० लाख भारतीय रुपैयाँसम्म पर्ने गर्दछ । एउटा खेल रद्ध भएमा मुख्य प्रसारक जियोस्टारले मात्र विज्ञापनबाट हुने २०० देखि २५० करोड भारतीय रुपैयाँ राजस्व गुमाउने बताइएको छ ।
यो खेल रद्द भएसंगै आईसीसीले जियोस्टारसँग सन् २०२३ देखि २०२७ सम्मका लागि गरेको तीन अर्ब डलरको प्रसारण अधिकार सम्झौता पनि संकटमा परेको छ । यस्ले आईसिसीको आम्दानीमा पनि गम्भिर धक्का लाग्ने भएको छ । त्यहीकारण पाकिस्तानलाई जसरी पनि खेलाउनको लागि प्रयास भैरहेको बताइएको छ ।
भारत–पाकिस्तान जस्तो ‘हाई भोल्टेज’ खेल नहुँदा प्रसारकहरूले आईसीसीसँग सम्झौताको रकम घटाउन माग गरिरहेका छन्, जसले आईसीसीलाई तत्कालको लागि मात्र नभएर दीर्घकालीन आम्दानीमा गम्भीर धक्का पुर्याउने देखिएको छ ।
सन् २०२३ को विश्वकपमा यी दुई टोलीबीचको खेल भारतमा मात्रै १७ करोड ३० लाख टेलिभिजनबाटर २२ करोड २५ लाख युटयुवलगायतका डिजिटल माध्यमबाट दर्शकले हेरेका थिए। यो स्तरको दर्शक संख्या अन्य कुनै पनि खेलमा सम्भव छैन, जसको सिधा असर प्रायोजकहरूको आम्दानीमा पर्ने निश्चित छ।
यसरी फेब्रुअरी १५ मा भारतसंगको पूर्व निर्धारित खेल पाकिस्तानले नखेल्ने अडान राखेसंगै क्रिकेटको इतिहासमै सबैभन्दा ठूलो व्यापारिक असफलता प्रमाणित हुने संचारमाध्यमहरुले उल्लेख गरेका छन् । यसले केवल आईसीसीलाई मात्र नभई एसोसिएट राष्ट्रहरूको विकास कोषमा जाने रकममा समेत कटौती हुन सक्ने हुँदा नेपाल जस्ता देशहरू पनि प्रत्यक्ष रूपमा प्रभावित हुनेछन् ।
नेपालको खेल तालिका
फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलङ्कामा हुने आईसीसी टी(२० विश्वकपमा नेपाल समूह ‘सी’ मा रहेको छ। नेपालका सबै खेल भारतको मुम्बईमा राखिएका छन् । नेपालको समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, स्कटल्याण्ड र इटाली छन्। वेस्ट इन्डिज र इङ्ल्यान्ड दुवै दुई-दुई पटकका विश्व विजेता समेत हुन्।
नेपालको पहिलो खेल फेब्रुअरी ८ तारिखमा मुम्बईस्थित वान्खडे रङ्गशालामा इङ्ग्ल्यान्डसँग हुनेछ । यस्तै नेपालको दोस्रो खेल फेब्रुअरी १२ मा इटाली, तेस्रो फेब्रुअरी १५ मा वेस्ट इन्डिज र चौथो फेब्रुअरी १७ मा स्कटल्याण्डसँग हुने तालिका छ।