धितोपत्र बोर्डद्वारा एकै दिन चार ठूला निष्कासनलाई स्वीकृति: बुद्धभूमीको हकप्रददेखि सानिमाको अग्राधिकार शेयरसम्म

Feb 04, 2026 05:54 PM merolagani



नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बुधबार एकै दिन चार वटा फरक-फरक वित्तीय उपकरणहरूको निष्कासनका लागि अनुमति प्रदान गरेको छ।

बोर्डले माघ २१ गते बुद्धभूमी नेपाल हाइड्रोपावरको हकप्रद शेयर, सानिमा बैंकको अग्राधिकार शेयर, आइसिएफसी फाइनान्सको ऋणपत्र र गरिमा क्यापिटलको सामूहिक लगानी योजनालाई स्वीकृति दिएको हो।

 बुद्धभूमी नेपाल हाइड्रोपावरको १:१ हकप्रद शेयर 

बोर्डले बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडलाई १:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ। यसको बिक्री प्रबन्धकमा एन आई सी एसिया क्यापिटल लिमिटेड रहेको छ। यो निष्कासनपछि कम्पनीको चुक्ता पुँजीमा उल्लेख्य वृद्धि हुनेछ।

 सानिमा बैंकको २ करोड कित्ता अविमोच्य अग्राधिकार शेयर 

सानिमा बैंक लिमिटेडले नेपालकै बैंकिङ क्षेत्रमा नयाँ उपकरणका रूपमा '८.२५% सानिमा अविमोच्य सञ्चिति अग्राधिकार शेयर' (Perpetual Non-Cumulative Preference Share) जारी गर्ने स्वीकृति पाएको छ। बैंकले १०० रुपैयाँ अंकित मूल्यका कुल २ करोड कित्ता (२ अर्ब रुपैयाँ बराबर) शेयर परिपत्र विधि (Private Placement) बाट बिक्री गर्नेछ। यसमा लगानीकर्ताले वार्षिक ८.२५ प्रतिशत लाभांश प्राप्त गर्नेछन्। यसको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

 आइसिएफसी फाइनान्सको ८ प्रतिशत ब्याजदरको ऋणपत्र

आइसिएफसी फाइनान्स लिमिटेडले '८% आइसिएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८९' निष्कासन गर्न अनुमति पाएको छ। ७ वर्ष अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्। फाइनान्सले अंकित मूल्य १,००० रुपैयाँका कुल ५ लाख कित्ता (५० करोड रुपैयाँ बराबर) ऋणपत्र जारी गर्नेछ। जसमध्ये २ लाख कित्ता सर्वसाधारणका लागि र ३ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। यसको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ।

 गरिमा सुवर्ण योजना (खुला मुखी सामूहिक लगानी योजना)

गरिमा क्यापिटल लिमिटेडले नयाँ म्युचुअल फण्ड 'गरिमा सुवर्ण योजना' सञ्चालन गर्न स्वीकृति पाएको छ। यो एक खुला मुखी  योजना हो। १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई (१ अर्ब रुपैयाँ बराबर) बोर्डबाट स्वीकृत भएको छ। योजनाको व्यवस्थापक तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड स्वयं रहेको छ।

लामो समयपछि धितोपत्र बोर्डले एकै पटक ठुलो मात्रामा विभिन्न उपकरणहरूलाई बजारमा आउन अनुमति दिएसँगै पुँजी बजारमा नयाँ उत्साह थपिने अपेक्षा गरिएको छ।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।