आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना

Feb 15, 2026 06:51 AM Merolagani



मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी, हिमाली तथा पहाडी भूभाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुने महाशाखाको पूर्वानुमान छ।