साथसाथै उनीहरु बीचको होडबाजीले साना राष्ट्रहरुको सार्वभौमिकतामा आएको खतरा उत्पन्न गरेको छ । प्रविधिको नाममा एआई कम्पनीहरु साना देशहरुको सार्वभौमिकतामाथि समेत निरन्तर आक्रमण गरिरहेका छन् । उनीहरुका सरकारका संस्थागत सूचनाहरु र नागरिकका व्यक्तिगत विवरणहरुमा पनि सहजै पहुँच पुर्याइरहेका छन् र त्यही आधारमा उनीहरुले आफ्नो दबदबा कायम राखेका छन् । यस्तो दबदबा बढ्दै गयो भने भविश्यमा ती आई कम्पनीहरुले नै धेरै देशमा अप्रत्यक्षरुपमा शासन गर्नेछन् ।
एआई कम्पनीहरुको सन् २०२६ को अनुमानित पुँजीगत खर्च ७०० बिलियन डलर रहेको छ, जुन २०२५ को तुलनामा लगभग ७५% ले धेरै हो ।
यो युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र मध्ये एक स्विडेनको २०२५ को कूल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा बढी हो । त्यसमाथि अमेरिकी सेमिकन्डक्टर उद्योग संघका अनुसार विश्वव्यापीरुपमा एआईमा प्रयोग हुने चिपको कारोबार पनि यस वर्ष पहिलो पटक १ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ । यस्मा एकातर्फ अमेरिकी कम्पनीहरुबीच नै होडबाजी चलिरहेको छ भने अर्काेतर्फ चिनिया भर्सेस अमेरिकी कम्पनीको प्रतिस्पर्धा वा एक अर्कालाई पछारेर आफूले जित्ने होडबाजीले पनि लगानी कुन रफ्तारमा वृद्धि हुन्छ अनुमान गर्नै नसकिने अवस्था सृजना भएको छ ।
यो वर्ष अमेजन एक्लैले २०० बिलियन डलर लगानी गर्ने घोषणा गरेको छ ।
एलन मस्कको अर्को कम्पनी, एक्सएआईले पनि २०२६ मा कम्तिमा ३० बिलियन डलर खर्च गर्दैछ ।
विश्वकै सर्वाधिक धनी एलन मस्कले एआई, रकेट र स्याटेलाइट इन्टरनेटको संयोजन गरी ‘एकीकृत इनोभेसन इन्जिन’ निर्माण गर्नु आफ्नो लक्ष्य रहेको र त्यसको लागि वृहतरुपमा सौर्य ऊर्जाद्वारा संचालित अन्तरिक्ष(आधारित डाटा केन्द्रहरू स्थापित गर्ने घोष्णा गरेका छन् । त्यहीक्रममा कम्पनीले गत महिना गुगलसँग बहु(वर्षीय साझेदारीको घोषणा गरेको छ ।
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले एआईको क्षेत्रमा कति लगानी गर्नु पर्छ र त्यसको सीमा के हो भन्ने तर्कहरु नै गर्न नसकिने बताइका छन् । ‘हालको खर्चको गतिमा अतार्किक तत्वहरू छन् । त्यसैले लगानीको अनुपातको बारेमा कसैले केही भन्नै सक्दैन’ उनको भनाइ छ ।
युरोपको मात्र कुरा गर्ने हो भने अमेरिकी कम्पनीहरूले एकै वर्षमा लगभग ६०० बिलियन पाउण्ड परिचालन गरिरहेका छन् । झट्ट हेर्दा त्यो उनीहरुको व्यापार विस्तारको रणनीतिको लागि हुने खर्च देखिए पनि वास्तवमा त्यो खर्चले युरोपेली देशहरुलाई एआईको माध्यमबाट शासन गर्ने प्रयासको लागि गरिएको हो भन्नेमा शंका छैन । किनकी एआईको विकासमा युरोप तुलनात्मकरुपमा पछाडी छ । अमेरिकालाई चुनौति दिने एक मात्र एक शक्ति चीन हो । उनीहरु दुवैबीच जे जस्तो प्रतिस्पर्धा भए पनि उनीहरुको नियत त एउटै हो, प्रविधिमार्फत आफ्नो साम्राज्य विस्तार गर्ने र अरु देशहरुमा अप्रत्यक्षरुपमा हस्तक्षेप गर्ने ।
(युरोन्यूजमा क्विरिनो मेहल्वाले गरेको विश्लेषणमा आधारित)