भदौमा भएको जेनजी आन्दोलनका कारण भौतिक क्षतिका साथै केही समय पुननिर्माणका लागि होटल नै बन्द गर्नु परेपछि होटलहरु नोक्सानीमा गएका छन् । तथ्यांक अनुसार बन्दीपुर केबलकार, ओरियन्टल होटल,चन्द्रागिरि हिल्स,सिटि होटल र तारागाउँ रिजेन्सीले चालु आवको दोस्रो त्रैमासमा नोक्सानी भोग्नु परेको हो ।
जेनजी आन्दोलनको प्रभाव, पर्यटकीय पूर्वाधारमा कमी, सार्वजनिक यातायातको अभाव, राजमार्गको स्तरोन्नतिका नाममा हुने जाम, अन्तर्राष्ट्रिय हवाई सिट सीमितताले पर्यटन व्यवसाय सकारात्मक लयमा फर्कन नसकेको पर्यटन व्यवसायीहरु बताउँछन् । सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाउँदा लिइएको वार्षिक १० लाख पर्यटक पुर्याउने लक्ष्य बल्ल पुरा भएको छ । त्यस दौरान उपत्यकामा मात्रै होइन, उपत्यका बाहिर समेत पाँच तारे स्तरका अन्तर्राष्ट्रिय चेन होटलहरु निर्माण भइरहेका छन् तर नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक पोखरा र भैरहवा विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन सकिएको छैन जसले गर्दा होटलको संख्या बढे पनि तिनीहरुले पर्याप्त व्यवसाय गर्न सकिरहेको छैन। यसले होटलको व्यवसायमा असर गरिरहेको छ । विदेशी विनिमय दरको उतार–चढाव र ऊर्जा तथा इन्धन मूल्य वृद्धिले पनि होटल तथा पर्यटन व्यवसायलाई चुनौती दिइरहेको उल्लेख गरिएको छ।
खुद नाफामा सोल्टी अगाडि

होटल तथा पर्यटन समूहमा सुचीकृत ७ कम्पनीमध्ये सोल्टी होटलले सबैभन्दा बढी ३४ करोड ७५ लाख रुपैयाँ खुद मुनाफा गरेका छ जुन गत वर्षको दोस्रो त्रैमासिकको तुलनामा साढे २८ प्रतिशतले बढी हो। त्यस्तै दोस्रो धेरै नाफा कमाउनेमा कालिञ्चोक दर्शन रहेको छ । कम्पनीले चालु आवको पुस मसान्तसम्म १ करोड १९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत आवमा कम्पनीले ४७ लाख ४६ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।
हालै आइपीओ निष्काशन गरेको बन्दीपुर केबुलकारको घाटा घटेर ७४ लाख ९१ हजार रुपैयाँ पुगेको छ भने सिटी होटलको घाटा १० करोड ९ लाखमा सिमित छ। जेनजी आन्दोलनपछि पुननिर्माणको क्रममा रहेको तारागाउँ रिजेन्सी होटल्सको दोस्रो त्रैमाससम्मको घाटा ९ करोड ७ लाख ३० हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म कम्पनी १८ करोड ६७ लाख रुपैयाँ नाफामा थियो ।
त्यस्तै जेनजी आन्दोलनको क्रममा क्षति व्यहोरेको चन्द्रागिरी हिल्सको नोक्सानी ४ करोड ७० लाख रुपैयाँ छ भने ओरियन्टल होटल्सको नोक्सानी २ करोड ७४ लाख रुपैयाँ छ । गत वर्षको दोस्रो त्रैमासमा बन्दीपुर केबुलकार र सिटी होटलबाहेक सबै होटलहरु नाफामा सञ्चालन भएका थिए ।
आम्दानीमा को अगाडि ?
चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै आम्दानी सोल्टी होटल्सले गरेको छ । कम्पनीले ६ महिनामा झन्डै डेढ अर्ब रुपैयाँ आम्दानी गरेको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशतले बढी हो । कालिन्चोक दर्शन, बन्दीपुर केबुलकारले पनि गत वर्षको तुलनामा आम्दानी वृद्धि गरेको छ । बन्दीपुर केबुलकारले गत वर्षको सोही अवधिको तुलनामा ३९.४७ प्रतिशतले आम्दानी वृद्धि गरेर ९४ लाख ५७ हजार पुर्याएको छ भने कालिन्चोक दर्शनले १४.९१ प्रतिशतले आम्दानी बढाएर ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ पुर्याएको छ ।
जेनजी आन्दोलनमा बिग्रेको संरचना निर्माणमा लागेको तारागाउँ रिजेन्सी होटलको आम्दानी ७५.२६ प्रतिशतले घटेर १७ करोड १९ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ भने सीटी होटल्सको आम्दानी१० करोड ७५ लाख रुपैयाँमा सीमित छ । यता चन्द्रागिरीको समेत आम्दानी ४१ प्रतिशतले गिरावट आएर २४ करोड ८९ लाख रुपैयाँ र ओरियन्टल होटल्सको आम्दानीमा भने १.४५ प्रतिशतको मात्रै गिरावट भएर ४८ करोड ४६ लाख रुपैयाँमा सीमित छ ।
चुक्ता पुँजी कसको कति ?

सुचीकृत सात वटा होटल क्षेत्रका कम्पनीमा सबैभन्दा धेरै चुक्ता पुँजी सिटी होटलको रहेको छ । कम्पनीले ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेर चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुर्याएका छन् ।
त्यस्तै हालै आइपीओ निष्काशन गरेको बन्दीपुर केबुलकार एन्ड टुरिज्म लिमिटेडको चुक्ता पुँजी २ अर्ब ८२ करोड ९९ लाख ९३ हजार रुपैयाँ रहेको छ । कम्पनीले सर्वसाधारणमा जारी पुँजीको २६.११ प्रतिशत आइपीओ जारी गरेर पुँजी वृद्धि गरेको थियो। सोल्टी होटल्सले १५ प्रतिशत बोनस दिएर १ अर्ब १७ करोड ५१ लाख ४२ हजार चुक्ता पुँजी पुर्याएका छन् भने चन्द्रागिरी हिल्सले ५ प्रतिशत बोनस दिएर १ अर्ब ६१ करोड रुपैयाँ चुुुुक्ता पुँजी प्ुुर्याएका छन् । कालिन्चोक दर्शनको ६० करोड, तारा गाउँ रिजेन्सीको १ अर्ब ९६ करोड २१ लाख र ओरियन्टल होटल्सको १ अर्ब १८ करोड ४४ लाख ९४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ । यी तीन होटलले भने चुक्ता पुँजी वृद्धि गरेको छैन ।
जगेडा कोष कसको बलियो ?
सात वटा सुचीकृत होटलहरुमध्ये सोल्टी होटल र ओरियन्टल होटलको जगेडा कोष चुक्ता पुँजी भन्दा बढी छ । सोल्टीले गत वर्ष भन्दा २८.५९ प्रतिशतले जगेडा कोषमा वृद्धि गरेर १ अर्ब ९१ करोड ६३ लाख रुपयाँ पुर्याएको छ । यता ओरियन्टल होटलको जगेडा कोष भने गत वर्ष भन्दा २.५९ प्रतिशतले र्हास आएर २ अर्ब ७० करोड ४६ लाख रुपैयाँ प्गेको छ । चन्द्रागिरी हिल्सको जगेडा कोष ह्वात्तै घटेर ४ करोड ६२ लाख रुपयाँमा सिमित भएको छ भने तारागाउँ रिजन्सीको समेत ११.३९ प्रतिशतले घटेर ९८ करोड १९ लाख ८७ हजार रुपैयाँमा सीमित भएको छ । यता कालिन्चोक दर्शन लिमिटेडको जगेडा कोष ४ करोड ३९ लाख रुपैयाँ पुगेको छ । बन्दीपुर केबुलकार र सिटी होटल्सको जगेडा कोष भने ऋणात्मक रहेको छ ।
प्रति शेयर आम्दानी र नेटवर्थमा को अगाडि ?
प्रति शेयर आम्दानी समेत चालु आवको दोस्रो त्रैसमामा सोल्टी होटल र कालिन्चोक दर्शनको मात्रै सकारात्मक रहेको छ । सोल्टीको प्रति शेयर आम्दानी ५.९२ रुपैयाँ र कालिन्चोक दर्शन लिमिटेडको प्रति शेयर आम्दानी ४ रुपैयाँ रहेको छ ।
तारागाउँ रिजेन्सी होटलको प्रति शेयर आम्दानी सबैभन्दा धेरै ९.२६ रुपैयाँले ऋणात्मक रहेको छ भने सिटी होटलको ६.७० रुपैयाँ, चन्द्रागिरी हिल्सको ५.८४ रुपैयाँ, ओरियन्टल होटलको ४.६३ रुपैयाँ र बन्दीपुर केबुलकारको ५३ पैसा प्रति शेयर ऋणात्मक रहेको छ ।
यता नेटवर्थमा भने ओरियन्टलको नेटवर्थ प्रति शेयर सबैभन्दा बढी ३२८.२२ रुपैयाँ रहेको छ । त्यस्तै १० रुपैयाँ अंकित मूल्य रहेको सोल्टी होटलको नेटवर्थ २६.३१ रुपैयाँ छ भने तारागाउँ रिजेन्सी होटलको १५०.०५ रुपैयाँ, कालिन्चोक दर्शनको १०७.३२ रुपैयाँ, चन्द्रागिरी हिल्सको १०२.८७ रुपैयाँ रहेको छ । नेटवर्थको आधारमा बन्दीपुर केबुलकार र सिटी होटल कमजोर देखिएको छ । बन्दीपुरको नेटवर्थ ९२.४७ रुपैयाँ र सिटी होटल्सको ९८.५३ रुपैयाँ रहेको छ ।