भवन निर्माणको पछिल्लो अवस्थाबारे स्थलगत अनुगमन गरेपछि मन्त्री इङनामले निर्धारित समयमै काम सक्न निर्माण पक्षलाई निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री इङनामले कामको गतिप्रति केही असन्तुष्टि व्यक्त गर्दै चैत १ गतेभित्र प्रतिनिधि सभा, राष्ट्रिय सभा, सेन्ट्रल लबी र सचिवालयका भवनहरू जसरी पनि हस्तान्तरण गर्नुपर्ने बताए।
भवनको सिभिलतर्फको काम मोटामोटी सकिए पनि फिनिसिङको काममा ढिलाइ भएको पाइएपछि मन्त्रीले दक्ष जनशक्ति थप्न निर्देशन दिए । मन्त्रीको निर्देशनपछि निर्माण कम्पनीले बारा र रौतहटबाट थप कामदार मगाएर कामलाई तिब्रता दिएको जानकारी गराइएको छ । निर्माणका क्रममा केही प्राविधिक चुनौतीहरू पनि देखिएका मन्त्री इङनामको भनाइ छ । चीनबाट ल्याउनुपर्ने केही सामानहरू क्रिसमस र अन्य बिदाका कारण ढिलो भएको ठेकेदारको भनाइ छ । ती सामानहरू फागुन २५ गतेसम्म आइपुग्ने र जडान गरिने आश्वासन निर्माण पक्षले दिएको छ । भारतबाट ल्याउनुपर्ने ३० मिटर लामो इलेक्ट्रोनिक प्यानल र ४ मेगावाटको विद्युतीय प्रणाली जडानको काम पनि बाँकी रहेको छ । वीरगञ्ज भन्सारमा रोकिएका सामानहरू आउने क्रम शुरु भइसकेकाले चैतको शुरुवातमै भवन पूर्ण रूपमा तयार हुने मन्त्रीले विश्वास व्यक्त गरे ।
उनले भने, ‘ म आएको त अस्ति भर्खर हो । अब आइसकेपछिको यो कामको गति हेर्दा खेरि यो हुन्छ नै । मैले त्यतिबेला पनि भनेको थिएँ चैत १ गते उहाँहरुले त्यो भन्दा पछाडिको डेट पनि दिनुभएको थियो । चैत १ गते जसरी पनि ह्याण्डओभर गर्नुपर्छ । अहिले यहाँ प्रतिनिधि सभाको कुरा मात्रै छ । प्रतिनिधि सभा मात्रै होइन राष्ट्रिय सभा र यो सेन्ट्रल लबी लगायत अन्य सेक्रेटरीएटको बिल्डिङ्गहरु पनि ह्याण्डओभर गर्नुपर्छ भनेर भनेको थिएँ । तर अहिले कामको स्पिड हेर्दा खेरि त्यस्तो खालको देखिएको छैन । यो दुई तीन दिन अगाडि चार दिन अगाडि हेरौँ यहाँ आएर अलि डिटेलमै कति डेढ घण्टा जस्तो नै म सबै बिल्डिङ्गहरु हेरेको थिएँ र उहाँहरुले जुन ढंगबाट काम गर्नुभएको छ त्यो काम अझै पनि यो सहज ढंगबाट कम्प्लिट हुने अवस्था छैन । र अस्ति मैले भनेको थिएँ कि तपाईँहरु तपाईँहरुको ह्युमन रिसोर्सहरु थप्नुहोस् । यहाँ जतिपनि काम गर्ने स्किल हेण्ड्सहरु हुनुहुन्छ । उहाँहरुको भनाइ के छ भने अब यो सबै कुराहरु अहिले एकदम फिनिसिङ लाइनमा भइराखेको छ इन्टरनल कुराहरु भइराखेको छ सिभिलको मोटामोटी कामहरु सकिएको छ । त्यस्तो मान्छे भनेजस्तो पाइँदैन । जस्तो अस्तिकै दिन पनि उहाँहरुले बाराबाट रौतहटबाट मान्छे मगाउनु भयो । त्यसको भोलिपल्ट मैले फलोअप गरेको थिएँ यहाँ उहाँहरुले केही मान्छेहरु थप्नुभएको छ । कामहरु अलिकति भइराखेको छ । र अहिलेसम्मको उहाँहरुको कामको शैली हेर्दाखेरि कम्तिमा भएपनि यो मेन बिल्डिङ्गको यो लबी यो सेन्ट्रल लबी हो यो हामी जहाँ उभिएका छौँ यसको पछाडि सेन्ट्रल लबी र यतापट्टि दाहिने पट्टि भएको जुन प्रतिनिधि सभा हो त्यो उहाँहरुले कम्प्लिट गर्नुपर्छ । त्यहाँ एउटा टेक्निकल कुरा पनि छ । त्यहाँ भनेको के हो त भन्दा खेरि त्यहाँ एउटा केही सामानहरु चाइनाबाट ल्याउनु पर्ने रहेछ । त्यो अहिलेसम्म आइपुगेको छैन । चाइनामा त्यो आइ नपुग्नुको कारण त्यहाँ बीचमा अब यो क्रिसमस इत्यादिले गर्दा ढिलो भयो भनेर भन्नुहुन्थ्यो ठेकेदारहरुले । अब त्यस्तो कुरा क्रिसमस होस् त्योसँग मतलबको कुरा भएन । तपाईं आफैँ चाइना जानुहोस् त्यहाँ गएर उहाँहरुलाई भनेर लिएर आउनुहोस् भनेर भनेको छु । सम्भवतः उहाँहरुले त्यो म्यानेज गर्नुहुन्छ । उहाँहरुले २५ गतेसम्म त्यो सामान ल्याएर जडान गर्छु भन्नुभएको छ । एक हप्ता अझै लाग्छ भन्नुभएको छ । चैतको १–२ गतेसम्म उहाँले टोटल्ली ह्याण्डओभर गर्नसक्ने स्थिति छ । र टेक्निकली एउटा इलेक्ट्रोनिक प्यानल जो इन्डियाबाट ल्याउनुपर्ने ३० मिटर कि कति मिटर लामो छ रे । त्यो ल्याएर यसको पूरा फङ्सन यहाँको इलेक्ट्रिक फङ्सन ४ मेगावाटको फङ्सन भनेको निकै ठूलो होला त्यो । त्यो गर्नको लागि अलिकति उ छ । त्यो हामी जडान गर्दै गर्छौँ तर यहाँ चल्ने व्यवस्था हामी गर्छौँ भनेर ठेकेदारले भन्नुभएको छ । र उहाँहरु कमिटेड नै हुनुहुन्छ ।’
चैत १ गतेदेखि विशेष गरी सेन्ट्रल लबी, प्रतिनिधि सभा र क्यान्टिनसहित सांसदहरुको कार्यकक्षहरू हस्तान्तरण हुनेमा आफू आशावादी रहेको मन्त्रीले बताए । नयाँ भवन हस्तान्तरण भएपछि संघीय संसदका बैठकहरू आफ्नै अत्याधुनिक भवनमा सञ्चालन हुने अपेक्षा गरिएको छ ।