एमालेले पर्यटनलाई प्रत्यक्ष रूपमा समृद्धिका ‘२५ स्तम्भ’ मध्ये एक स्तम्भका रूपमा राखेको छ। घोषणापत्रमा ‘पर्यटकको वृद्धि, लामो बसाई–गाउँ, सहरमा काम र कमाई’ भन्ने वाक्य प्रयोग गर्दै ग्रामीण र शहरी अर्थतन्त्रमा पर्यटकलाई आकर्षित गर्ने, बसाइ लम्ब्याउने र स्थानीय रोजगारी तथा आय बढाउने लक्ष्य देखाइएको छ। यसले पर्यटनलाई रोजगारी सृजनाको माध्यम र आर्थिक विकासको आधारका रूपमा स्पष्ट प्राथमिकता दिएको बुझिन्छ। एमालेले घोषणापत्रमा ५ वर्षभित्र पर्यटकको संख्या दोब्बर बनाउने, विशिष्ट पर्यटन गन्तव्यको रुपमा नेपालको ब्रान्डिङ गर्ने, विदेशी पर्यटकका लागि भिसा प्रक्रिया सहज बनाउने तथा आन्तरिक उडानलाई सुरक्षित र प्रतिस्पर्धी बनाउने, योग तथा वेलनेस पर्यटनलाई प्रबर्द्धन गर्ने, अन्तर्राष्ट्रिय विमानस्थलहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तथा नेपाललाई युरोपेली संघको कालो सूचीबाट हटाउन पहल गर्नेलगायत घोषणा पत्रमा समेटेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को घोषणापत्रमा पर्यटनलाई प्रत्यक्ष शीर्षकमा विस्तृत रूपमा नल्याए पनि आर्थिक रूपान्तरण, उद्यमशीलता र निजी क्षेत्रको भूमिकामा जोड दिइएको छ। उनीहरूले ‘नवप्रवर्तन, उद्यमशीलता र स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने सर्वाधिक उद्यममैत्री व्यावसायिक वातावरण निर्माण गर्ने हाम्रो स्पष्ट प्रतिबद्धता हो’ भनेर उल्लेख गरेका छन्। यसले पर्यटन उद्योगलाई पनि प्रतिस्पर्धी, पारदर्शी र निजी लगानीमैत्री बनाउन सहयोग पुर्याउने संकेत गर्छ। रास्वपाको दृष्टिकोणमा पर्यटनलाई युवा–केन्द्रित रोजगारी र उद्यमशीलता सँग जोडेर दीर्घकालीन संरचनात्मक रूपान्तरणको हिस्सा बनाउने सोच देखिन्छ। रास्वपाले डिजिटल प्रणाली र अन्तर्राष्ट्रियस्तरको पूर्वाधार विकासमार्फत प्रतिस्पर्धा पर्यटन अर्थतन्त्र निर्माण गर्ने प्रतिबद्धता व्यक्ति गर्दै पशुपति, लुम्बिनी, जनकपुर, मुक्तिनाथ, पाथीभरा र खप्तडलगायत क्षेत्रको संरक्षण र प्रबर्द्धन गर्ने तथा पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्र्ने, डिजिटल पर्यटन प्रणाली विकास गर्ने र ‘सफा हिमाल’ तथा हरित प्रमाणीकरण जस्ता कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम घोषणा पत्रमा राखेका छन् । रास्वपाले पनि पर्यटक संख्या र उनीहरुको प्रति व्यक्ति खर्चलाई पाँच वर्ष भित्रमा दोब्बर पार्दै औसत बसाई लम्ब्याउन आवश्यक नीतिहरु कार्यान्वयन गर्ने समेत उल्लेख गरेको छ ।
नेपाली कांग्रेसले भने पर्यटनलाई क्षेत्रगत प्राथमिकता अन्तर्गत स्पष्ट रूपमा समेटेको छ। घोषणापत्रमा ‘पर्यटन’ शीर्षक राख्दै यसलाई नेपालको आर्थिक विकास, रोजगारी र सांस्कृतिक पहिचानसँग जोडिएको छ। कांग्रेसले पर्यटनलाई भौतिक पूर्वाधार, ऊर्जा, कृषि, संस्कृति र खेलकुदसँग समन्वय गरेर दीगो विकासको आधार बनाउन चाहेको देखिन्छ। यसले पर्यटनलाई राष्ट्रिय आय र सामाजिक प्रतिष्ठा बढाउने क्षेत्रका रूपमा प्रस्तुत गरेको छ। कांग्रेसले घोषणा पत्रमा ५ वर्षमा अहिलेको वार्षिक १२ लाखबाट २० लाख पुर्याउने, १३ दिनको औसत बसाईलाई १५ दिन पुर्याउने तथा दैनिक ४८ डलरको खर्चलाई बढाएर १ सय डलर पुर्याउने लक्ष्य राखेको छ ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले जडीबुटी तथा स्वास्थ्य पर्यटनलाई नयाँ उत्पादनका रुपमा विकास गर्ने योजना बनाएको छ । दीगो तथा पर्यावरण मैत्री पर्यटनलाई प्राथमिकता दिँदै पर्यटनलाई रोजगारी र विदेशी मुद्रा आर्जनसँग जोड्ने रणनीति यो पार्टीले बनाएको छ । डिजिटल पर्यटन ड्यासबोर्डमार्फत गन्तव्य मार्ग, सेवाहरु र स्थानीय व्यवसायको तथ्यांक उपलब्ध गराई पर्यटन क्षेत्रलाई स्मार्ट, डाटा ड्राइभन, योजनामा आधारित बनाई व्यवस्थित विकास गरिने नेपाली कम्युनिष्ट पार्टीको घोषणा पत्रमा छ । हिमाल आरोहण, धार्मिक पर्यटन तथा वेडिङ हबको रुपमा नेपाललाई विकास गरिने उल्लेख गर्दै नेपाललाई इको टुरिज्म क्षेत्र बनाइने घोषणा पत्रमा उल्लेख छ ।