निरन्तर तेस्रो कारोबार दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

Feb 22, 2026 03:09 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साता बजार खुलेका दुई कारोबार दिन घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

आइतबार नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४.५५ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.२७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार ८ अर्ब ३६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२४ स्टकको ७२ हजार १०४ पटकको कारोबारमा ६ अर्ब ६९ करोड ९७ लाख २१ हजार रुपैयाँबराबरको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सालपा विकास बैंकको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ३६ रुपैयाँ ३० पैसा बढेर ३९९ रुपयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.९२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६३ करोड ४२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर डेभलपमेन्टको साढे ३७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.५९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।