६४ दिन यताकै न्यून कारोबार, ४ अर्बमा खुम्चियो भोल्युम, निर्वाचन पूर्व किन खुम्चियो कारोबार रकम ?

Feb 26, 2026 05:55 PM merolagani



सुवास निरौला
आउँदो फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन पूर्व शेयर बजारमा भने त्यसको नकारात्मक प्रभाव देखिएको छ।  बिहीबार शेयर बजारको कारोबार रकम (टर्न ओभर) पछिल्लो दुई महिना यताकै सबैभन्दा न्यून विन्दुमा झरेको छ।

यो कारोबार रकम गत पुस ९ गते गते पछिकै सबैभन्दा कम हो। गत  पुस ९ गते बजारमा ३ अर्ब २२ करोडको कारोबार भएको थियो। बिहीबार ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँमा कारोबार रकम सीमित भएको छ। जुन ६४ दिन यताकै न्यून कारोबार हो। जबकि माघ र फागुनको सुरुवाती साताहरूमा दैनिक ११ अर्बसम्मको उच्च कारोबार देखिएको थियो। गत फागुन १ गते मात्रै ११ अर्ब १० करोडको उच्च कारोबार भएको बजार आज ४ अर्ब १७ करोडमा झर्नुले बजारमा तरलता र लगानीकर्ताको मनोबल दुबैमा गिरावट आएको प्रस्ट पार्छ। आज २५४ कम्पनीका १ करोड ५३ हजार कित्ता शेयर ४४ हजार २०४ पटकको कारोबारमार्फत खरिद–बिक्री भएका छन्।

बजारमा एकाएक कारोबार रकम यसरी घट्नुमा राजनीतिक अन्यौलतालाई प्रमुख कारण मानिएको छ। पुराना तथा अनुभवी लगानीकर्ता नयन बास्तोलाका अनुसार निर्वाचन पूर्वको संशयले बजारलाई थिचेको छ। लगानीकर्ता बास्तोला भन्छन्-"निर्वाचन मुखैमा छ। तर अझै पनि धेरैलाई निर्वाचन पक्का हुन्छ नै भन्नेमा संङ्का छ।  धेरै लगानीकर्ता निर्वाचनको परिणामको पर्खाइमा देखिएका छन्। त्यसकारण पनि कारोबार रकम घटेको हो। त्यसैगरि अब निर्वाचन अघि जम्मा दुई दिन मात्रै कारोबार हुन्छ। दुई दिन त छ अब पर्खौं न  भन्नेहरू पनि देखिएका छन्। अनि नेपालमा राजनीतिक दलसँग नजोडिएका मानिस कमै छन्। त्यसकारण समग्रमा भन्नु पर्दा निर्वाचन लागेकोले नै अहिले कारोबार रकम घटेको हो।"

बास्तोलाको विश्लेषणले दुई वटा कुरालाई इङ्गित गर्छ। पहिलो, लगानीकर्ताहरू आगामी सरकार कस्तो बन्ने र नयाँ बन्ने सरकारको आर्थिक नीति कस्तो हुने भन्नेमा प्रस्ट हुन चाहन्छन्। दोस्रो, निर्वाचनको सुरक्षा र सुनिश्चितताका बारेमा बजारमा अझै केही ‘म्युटेड’ संशयहरू कायम छन्। जसले गर्दा ठुला लगानीकर्ताहरू अहिले ठुलो खरिद आदेश दिनुको सट्टा ‘होल्ड’ गर्ने रणनीतिमा देखिएका छन्।

नेप्सेको डेली चार्ट  हेर्दा बजार अहिले ‘कन्सोलिडेसन’  वा केही सुस्त गिरावटको चरणमा रहेको देखिन्छ। चार्टका आधारमा बजारको पछिल्लो अवस्थालाई यसरी विश्लेषण गर्न सकिन्छ। नेप्से सूचक आज २६५४.९३ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको तुलनामा यो विन्दु सामान्य ६.०३ अंकको वृद्धिसँगै हरियो देखिए पनि यसलाई ‘उत्साहजनक’ मान्न सकिँदैन। चार्टमा देखिए अनुसार बजारले ३०२८.७९ को उच्च विन्दु बनाएपछि लगातार गिरावट व्यहोरेको थियो। हालका लागि बजारको बलियो टेवा (सपोर्ट) २४५० देखि २५०० को विन्दुमा देखिन्छ। त्यस्तै, बजारलाई माथि जानका लागि २८०० को विन्दु एउटा प्रमुख अवरोधको रूपमा खडा भएको देखिन्छ।

चार्टको तल्लो भागमा रहेको भोल्युम बार हेर्दा अघिल्लो महिनाको तुलनामा भोल्युम निकै सुस्त छ। प्राविधिक रूपमा, यदि बजार सामान्य बढ्दा वा घट्दा भोल्युम आउँदैन भने त्यसले लगानीकर्ताहरूमा विश्वासको कमी रहेको देखाउँछ। बिहीबारको क्यान्डलस्टिक निकै सानो बनेको छ। जसलाई प्राविधिक भाषामा ‘डोजि’ वा ‘इन्डिसिजन क्यान्डल’ भन्न सकिन्छ। यसले बजार कुन दिशामा जाने भन्नेमा लगानीकर्ताहरू अन्योलमा रहेको पुष्टि गर्छ। ९ दिने सरल मुभिङ एभरेज (एसएमए नाइन) अहिले ४.१७५ अर्बको वरिपरि रहेको देखिन्छ। यसले कारोबार रकम औसत भन्दा निकै तल रहेको देखाउँछ। बजारमा वास्तविक तेजी आउनका लागि सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि हुनु आवश्यक छ।

निर्वाचनको माहौलले गर्दा बजारमा रहेको तरलताको केही हिस्सा निर्वाचन प्रचार–प्रसारमा गएको र बाँकी लगानीकर्ताहरू ‘पर्ख र हेर’ को स्थितिमा बसेकाले बजार सुस्त बनेको हो। निर्वाचन अघिका अबका दुई कारोबार दिनहरूमा पनि बजारमा ठुलो उतारचढाब हुने सम्भावना न्यून छ। प्राविधिक रूपमा २६५० को विन्दुलाई आधार बनाएर बजारले निर्वाचन पछिको स्पष्ट चित्र पर्खिरहेको देखिन्छ।  तथ्याङ्कले स्पष्ट देखाएको छ कि निर्वाचनको सम्पन्न नभएसम्म बजारमा ८–१० अर्बको उच्च कारोबार हुन मुस्किल पर्ने छ।




कालिन्चोक हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला

Feb 25, 2026 06:38 AM

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।