सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई अत्यन्तै बलियो बनाएको उल्लेख गरेकी छन्। “आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ,” उनले लेखेकी छन्, 'आर्थिक सहयोगसँगै यहाँहरूले दिनुभएको साथ र वाचाले मलाई शत प्रतिशत मिहिनेतका साथ शल्यक्रिया र पुनर्स्थापनामा लाग्ने ऊर्जा दिएको छ ।

उनका अनुसार हालसम्म नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा करिब ४५ लाख रुपैयाँ (झण्डै ५२ हजार न्युजिल्यान्ड डलर) संकलन भइसकेको छ। विभिन्न संघ–संस्था र प्रायोजकहरूले नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता जनाएकाले उपचार खर्च, कतार बसाइँका क्रममा लाग्ने आवास तथा यातायात खर्चसमेत धानिने अवस्था बनेको उनले बताएकी छन्। त्यसैले अब दुवै खातामा सहयोग रकम जम्मा नगर्न उनले अनुरोध समेत गरेकी छन्।
साम्बा आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको उल्लेख गरिएको छ। चाँडै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले जनाएकी छन्।
चोटले शारीरिक मात्र नभई मानसिक रूपमा समेत थकाएको स्वीकार गर्दै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको बताएकी छन्। 'म दृढ संकल्पका साथ भन्छु, म फर्कनेछु अझ मजबुत भएर फर्कनेछु। फेरि नेपालको जर्सी लगाएर देशका लागि मैदानमा उत्रिनेछु,' उनले प्रतिबद्धता जनाएकी छन्।
साम्बाले समर्थकहरूको मायाको साँचो धन्यवाद आफ्नो पुनरागमन र देशका लागि जितमार्फत् चुकाउने बताउँदै 'चाँडै मैदानमा भेटौंला' भनेकी छिन् ।