नेपालबाट हुने सबै अन्तर्राष्ट्रिय उडान अनिश्चितकालका लागि स्थगित, विमानस्थलमा जहाजहरू 'स्ट्यान्डबाइ'

Mar 03, 2026 01:21 PM merolagani



मध्यपूर्वमा चर्किएको युद्ध र तनावका कारण नेपालबाट हुने सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरू अनिश्चितकालका लागि स्थगित भएका छन्। युद्धग्रस्त क्षेत्रका देशहरूले आफ्नो हवाई मार्ग (एयर स्पेस) बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने कुनै पनि अन्तर्राष्ट्रिय जहाज उड्न सकेका छैनन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तोष कुमार बस्नेतका अनुसार अन्तर्राष्ट्रिय एयर स्पेस बन्द भएका कारण उडानहरू रोक्नुपरेको हो। "सम्बन्धित क्षेत्रको एयर स्पेस नखुलुन्जेल नेपालबाट कुनै पनि अन्तर्राष्ट्रिय उडान हुने छैनन्," प्रवक्ता बस्नेतले जानकारी दिए।

उनका अनुसार उडान भर्न नसकेका विभिन्न एयरलाइन्सका विमानहरू अहिले त्रिभुवन विमानस्थलमै पार्किङमा रहेका छन्। "विमानहरू एयर स्पेस खुल्ने प्रतीक्षा गरिरहेका छन्। रुट क्लियर भएको जानकारी आउने बित्तिकै उडान भर्न सबै विमानहरूलाई पूर्ण रूपमा तयारी (स्ट्यान्डबाइ) अवस्थामा राखिएको छ," बस्नेतले भने। यद्यपि, बन्द रहेको एयर स्पेस कहिले खुल्छ र उडान कहिलेबाट सुचारु हुन्छ भन्ने कुनै टुङ्गो नभएको विमानस्थल कार्यालयले जनाएको छ।

अहिले विशेषगरी इरान, इजरायल, सिरिया, लेबनान लगायतका मध्यपूर्वी (खाडी) क्षेत्रहरूमा युद्ध र हवाई आक्रमणको उच्च जोखिम रहेका कारण त्यस क्षेत्रको आकासमा उडान पूर्ण रूपमा ठप्प छ। अमेरिका, इजरायल र इरानबिचको द्वन्द्वका कारण एसियालाई युरोप र अमेरिकासँग जोड्ने मुख्य हवाई मार्ग नै प्रभावित भएको छ।

यस युद्धको प्रत्यक्ष असर नेपालको उडान तालिकामा परेको हो। विश्वका अन्य शान्त र सुरक्षित क्षेत्रहरू (जस्तै: अमेरिकाभित्र, युरोपभित्र वा पूर्वी एसियाली देशहरूबीच) मा भने हवाई उडानहरू नियमित रूपमै सञ्चालन भइरहेका छन्। तर, नेपालबाट उड्ने अधिकांश अन्तर्राष्ट्रिय विमानहरूले मध्यपूर्वको ट्रान्जिट वा हवाई मार्ग प्रयोग गर्नुपर्ने भएकाले नेपालबाट भने हाल कुनै पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा रोकिएपछि वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जान लागेका हजारौँ यात्रुहरू काठमाडौँमै अलपत्र परेका छन्। विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्नो एयरलाइन्ससँग सम्पर्कमा रहन र एयर स्पेस खुलेको आधिकारिक सूचना आएपछि मात्र विमानस्थल प्रस्थान गर्न आग्रह गरेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।