ठ्याक्कै एक वर्ष अगाडि सरकारको एउटा नियामक निकायको प्रमुख नियुक्तिको लागि कडा प्रतिस्पर्धी रहे पनि आफ्नै सहकर्मीबाट धोका पाउँदा बाहिरिएका भट्ट अहिले अर्काे नियामक निकायको मुख्य सिफारिसकर्ता भएका छन् ।
एक वर्ष अघि नेपालका बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने ‘निश्चित भएर पनि बन्न नपाएका’ भट्ट अहिले अर्काे नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष सिफारिसको जिम्मा पाएका छन् ।
नयाँ सरकार बनेपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइएका भट्टको नेतृत्वमा सरकारले मंगलबार अर्थसचिव घनश्याम उपाध्याय र बैंकर भुवन दाहाल सदस्य रहेको सिफारिस समिति गठन गरेको छ । धितोपत्र बोर्ड ऐनमै अध्यक्षको नियुक्ति गर्दा राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा समिति गठन गर्नु पर्ने व्यवस्था भएकोले उपाध्यक्ष भट्टको नेतृत्वमा समिति बन्नु, बनाइनु स्वभाविक हो ।

अब भट्ट नेतृत्वको सिफारिस समितिले ३ जनाको नाम सिफारिस गर्नेछ र ३ जनामध्ये एक जनालाई मन्त्री परिषद्ले पूँजी बजारको नियामक निकायको रुपमा रहेको बोर्डको अध्यक्ष नियुक्ति गर्नेछ ।
गत वर्ष नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकारको बेला उनी नेपाली कांग्रेसको कोटाबाट गभर्नर बन्ने लगभग निश्चित भएको थियो । कांग्रेस पार्टीको तर्फबाट भट्टलाई सिफारिस गरिएको थियो । त्यसप्रति अर्थमन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेको नेकपा एमालेले समेत सहमति जनाएकोले उनी गभर्नर बन्ने टुंगो भएको थियो । उनले शुभचिन्तकहरुबाट बधाईसमेत पाइसकेका थिए । तर, आफै पूर्णकालिन गभर्नर हुने दाउमा रहेकी तत्कालिन कामु गभर्नर डा. निलम तिमिल्सिनाले कार्यकारी निर्देशक पदबाट भट्टले दिएको राजीनामा स्वीकृत नगरेर अत्तो थापेपछि उनी गभर्नर बन्न पाएका थिएनन् । त्यही झोकमा उनले राजीनामा स्वीकृत नहुँदै राष्ट्र बैंक छोडेका थिए ।
नयाँ गभर्नरकोरुपमा डा. विश्व पौडेल आएपछि उनले भट्टलाई राजीनामा फिर्ता लिन पटक पटक अनुरोध गरेका थिए । त्यतिबेला राजीनामा फिर्ता लिएको भए अहिले उनी सम्भवतः डेपुटी गभर्नर हुने थिए । किनकी गभर्नर पौडेलले समेत उनलाई त्यो आश्वासन दिएका थिए भने राजनीतिकरुपमा पनि उनलाई खासै समस्या थिएन । तर, गभर्नर बन्न नपाएका उनी डेपुटी गभर्नर बनाइने ‘उधारो सम्झौता’ स्वीकार गरेनन् र राजीनामा फिर्ता लिएनन् । फलस्वरुप राष्ट्र बैंकबाट बाहिरिए ।
त्यसको करिब एक वर्षपछि पदीयरुपमा गभर्नर भन्दा माथिको योजना आयोगको उपाध्यक्ष बनेका छन् । र, अर्काे महत्वपूर्ण नियामक निकाय धितोपत्र बोर्डको अध्यक्ष छान्ने तहमा पुगेका छन् ।
विगतमा बोर्ड अध्यक्ष नियुक्तिको लागि विभिन्न स्वार्थ समुहहरुबीच तीब्र चलखेल हुने गरेका थिए । अहिले पनि त्यस्तो नहोला भन्न सकिन्न । तर, भट्ट जस्ता राजनीतिकरुपमा समेत तुलनात्मकरुपमा निरपेक्ष रहेका र आर्थिकरुपमा त कसैले सामान्य प्रश्न समेत गर्न नसक्ने व्यक्तिले के आधारमा कस्ता व्यक्तिलाई बोर्ड अध्यक्षको लागि सिफारिस गर्छन् ? र, उनको समितिले सिफारिस गर्ने ३ जना मध्ये कसलाई सरकारले छनौट गर्छ ? त्यसले नेपालको धितोपत्रको बजारको आगामी दिनको दिशा निर्धारण गर्ने स्पष्ट छ ।