'पदभन्दा नैतिकता ठूलो' भन्दै गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा, निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त

Apr 22, 2026 02:38 PM Merolagani



गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। पछिल्लो समय आफू र 'शेयर' लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र विवादकाबीच उनले आजैका मितिदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।

२०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामा घोषणा गर्दै पदभन्दा नैतिकतालाई प्राथमिकता दिएको बताएका छन्। उनले लेखेका छन्, 'मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वास भन्दा ठूलो शक्ति कुनै हुँदैन।'

देशमा सुशासन र जवाफदेहिताको माग गर्दै भइरहेको युवाहरूको आन्दोलनले आफूलाई प्रभावित पारेको गुरुङले उल्लेख गरेका छन्। राजीनामा पत्रमा उनले भनेका छन्, 'आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।' उनले ४६ जना शहीदहरूको बलिदानीको आडमा बनेको सरकारले नैतिकताको उच्च उदाहरण पेश गर्नुपर्ने बताएका छन्।

आफूमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद त्यागेको उनले प्रष्ट पारेका छन्। उनले लेखेका छन्, 'मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।'

आफ्नो राजीनामासँगै गृहमन्त्री गुरुङले सञ्चार क्षेत्रमाथि पनि गम्भीर प्रश्न उठाएका छन्। उनले मिडियाकर्मीहरूलाई लक्षित गर्दै लेखेका छन्, 'कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।' अन्त्यमा उनले आम नेपाली नागरिक, युवा र सञ्चारकर्मीहरूलाई अपिल गर्दै यदि साँचो परिवर्तन चाहिएको हो भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने बताएका छन्। उनले आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै पदबाट बिदा लिएका छन्।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।