अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिको रेकर्ड, नेपालमा बढ्छ कि बढ्दैन ? आयल निगम यस्तो भन्छ

Mar 09, 2026 05:39 PM merolagani



सुवास निरौला

अमेरिका-इजरायल र इरानबिचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य साढे तीन वर्षकै उच्च बिन्दुमा पुगेको छ। 

आज (मार्च ९) मा कच्चा तेलको मूल्य २५ प्रतिशतले बढेर ११६ डलर प्रति ब्यारेल पुगेको छ। यसअघि २०२२ मा रुस-युक्रेन युद्धका कारण कच्चा तेलको मूल्य १०० डलर नाघेको थियो।

कच्चा तेलको मूल्यवृद्धिको प्रमुख कारण 'स्ट्रेट अफ हर्मुज' बन्द हुनु हो। करिब १६७ किलोमिटर लामो यो जलमार्गले फारसको खाडीलाई अरब सागरसँग जोड्छ। इरान युद्धका कारण यो मार्ग अब सुरक्षित छैन। खतराका कारण कुनै पनि तेल ट्याङ्कर त्यहाँबाट आइरहेका छैनन्। विश्वको कुल पेट्रोलियमको २० प्रतिशत हिस्सा यही मार्गबाट ​​आउँछ। साउदी अरब, इराक र कुवेत जस्ता देशहरू पनि निर्यातका लागि यसैमा निर्भर छन्। भारतले पनि आफ्नो आवश्यकताको ५० प्रतिशत कच्चा तेल र ५४ प्रतिशत एलएनजी यही मार्गबाट ​​आयात गर्छ। इरानले  पनि यसै मार्गबाट ​​निर्यात गर्ने गर्छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै पाकिस्तानमा पेट्रोल र डिजेलको मूल्यमा करिब २०% को भारी वृद्धि भएको छ। पेट्रोल र डिजेलको मूल्य प्रति लिटर ५५ पाकिस्तानी रुपैयाँसम्म बढेको छ। यस वृद्धिसँगै पाकिस्तानमा पेट्रोलको मूल्य अब ३३५.८६ रुपैयाँ प्रति लिटर र डिजेलको मूल्य ३२१.१७ रुपैयाँ प्रति लिटर पुगेको छ। सरकारले अमेरिका-इजरायल र इरान युद्ध तथा मध्यपूर्वमा तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र गतिमा बढेकाले यो निर्णय लिनुपरेको तर्क गरेको छ।

यता भारतमा पनि केन्द्र सरकारले मार्च ७ देखि घरेलु ग्यास सिलिन्डर ६० रुपैयाँले महँगो बनाएको छ। दिल्लीमा १४.२ किलोग्रामको एलपीजी ग्यास अब ९१३ रुपैयाँमा पाइनेछ। यसअघि यो ८५३ रुपैयाँमा पाइन्थ्यो। त्यस्तै, १९ किलोग्रामको कमर्शियल सिलिन्डरमा ११५ रुपैयाँको वृद्धि गरिएको छ। यो अब १८८३ रुपैयाँमा पाइनेछ।

अब नेपालमा के हुन्छ ?

मध्यपूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निकै बढेको खबर आइरहेको छ। तेलको मूल्य बढेसँगै पाकिस्तानमा तेलको मूल्य बढेको छ भने भारतमा खाना पकाउने ग्यासको मूल्य बढेको छ। यसरी अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा नेपालमा पनि तेलको मूल्य बढ्न सक्छ कि भनेर आम सर्वसाधारणले चासो राखिरहेका छन्। यसै चासोलाई सम्बोधन गर्नका लागि हामीले नेपालमा पेट्रोलियम पदार्थको आधिकारिक मूल्य निर्धारण गर्ने संस्था नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरलाई नेपालमा तत्कालै मूल्य बढ्ने सम्भावना कति छ भनेर प्रश्न सोध्यौँ।

प्रवक्ता ठाकुरले भने, "नेपालले सम्पूर्ण पेट्रोलियम पदार्थ भारतबाट आयात गर्छ। भारतले निगमलाई हरेक १५ दिनमा मूल्य सूची पठाउँछ। उसले अङ्ग्रेजी महिनाको पहिलो र १५ तारिखमा पठाउने गरेको छ। त्यसकारण १५ तारिखमा भारतले पठाउने नयाँ मूल्यलाई हेरेर मात्रै नेपालमा मूल्य बढ्छ या बढ्दैन भन्न सकिन्छ। १५ तारिखभन्दा यता भने मूल्य घटबढ हुने सम्भावना छैन। यदि आउने १५ तारिखमा मूल्य बढेर आए  त्यसअनुसार समायोजन हुनेछ भने नबढे अहिलेकै दर कायम हुनेछ। त्यसकारण नेपालमा मूल्य बढ्ने नबढ्ने विषय भारतले पठाउने नयाँ मूल्यमा निहित हुन्छ।" यसको अर्थ नेपालमा पेट्रोलियम पदार्थको मूल्य तत्कालै बढ्ने सम्भावना छैन, तर आगामी १५ तारिखमा भारतबाट आउने नयाँ मूल्य सूचीले नेपालको बजारमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्नेछ।




सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

Mar 04, 2026 11:05 AM

फागुन २० गते, बुधबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला ११ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा २७५ रुपैयाँले घटेको हो ।