‘मिस सेलिङ’ को समस्या लामो समयदेखि चलिरहे पनि पछिल्लो समय त्यसले भयावहरुप लिन थालेको थियो । उद्योगी व्यवसायी र आर्थिक क्षेत्रका जानकारहरुले ‘मिस सेलिङ’लाई रोक्नु पर्ने आवाज उठाएपछि केही महिना अघि अर्थमन्त्री निर्मला सितारमणले त्यसबारेमा आरविआईका पदाधिकारीसँग छलफल गरेकी थिइन । अर्थमन्त्री सितारमणकै निर्देशनमा आरविआईले ‘मिस सेलिङ’लाई कडाईका साथ रोक लगाउने घोषणा गरेको हो । त्यो अनुसार कुनै बैंक तथा वित्तीय संस्थाले ‘मिस सेलिङ’ गरेमा सम्वन्धित बैंक र अधिकारीलाई कडा सजाय हुनेछ र पीडित व्यवसायीलाई क्षतिपूर्ति दिइनेछ ।
के हो ‘मिस सेलिङ’ ?
कुनै पनि बैंक तथा वित्तीय संस्थाले ग्राहकको इच्छा विपरित जवर्जस्ती कुनै ‘स्किम’ विक्री गर्नु ‘मिस सेलिङ’ हो । जस्तोकि कुनै व्यक्ति वा व्यवसायिक कम्पनीले कुनै बैंकसँग कारोवार गरिरहेको छ । त्यही क्रममा बैंकका अधिकारीहरुले उक्त व्यक्ति वा कम्पनीलाई उसकाे इच्छा विपरित आफ्नै बैंकको कुनै स्किम वा कुनै इन्सोरेन्स कम्पनीको पोलिसी वा अर्काे कुनै कम्पनीको सेवा सुविधा लिनको लागि लोभलालच देखाउने वा प्रत्यक्ष, अपत्यक्षरुपमा दबाब दिने कार्य नै ‘मिस सेलिङ’ हो ।

बैंक तथा वित्तीय संस्थाले विभिन्न इन्स्याेरेन्स कम्पनी, निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थालगायतसँग व्यवसायिक साझेदार गरि उनीहरुको ‘स्किम’ बेच्ने वा व्यापार बढाउने काम गर्ने गर्छन् । ‘हाम्रो कम्पनीको यो स्किम लिए फलानो इन्स्याेरेन्स कम्पनीले यति छुट दिन्छ, यो अस्पतालमा उपचार गर्दा यति छुट पाइन्छ’ भन्दै अर्काे एकैसाथ आफ्नो र अर्काे कम्पनीको प्रचार गर्ने वा व्यापार बढाउने प्रवृत्ति भारतमा मात्र नभएर नेपालमा पनि मौलाएको छ ।
भारतको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाले खास गरि मध्यम वर्गका आफ्ना ग्राहकलाई लक्षित गर्दै उनीहरुलाई मानसिक दबाब देखाउने र लोभ देखाई आफ्नो बैंकको मात्र नभएर आफूसँग व्यवसायिक साझेदार गरेका कम्पनीहरुको पनि व्यापार बढाउने गरेको आरविआईका अधिकारीहरुको भनाई छ ।
बैंकहरुले अर्काे कम्पनीको सेवा लिनको लागि गर्ने ‘इमोसनल ब्ल्याकमेलिङ’सहितको ‘मिस सेलिङ’ले गर्दा ठूलो संख्यामा मानिसहरु पीडित भएको भन्दै आरविआईले त्यस्तो गर्ने बैंक तथा वित्तीय संस्थालाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । तर, त्यस्तो कडा कारवाही के हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन ।
आरविआईको त्यो निर्णयको असर नेपालमा पनि पर्न सक्ने बैंकिङ क्षेत्रका अधिकारीहरु बताउँछन् । नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुमा मात्र नभएर बीमा कम्पनीहरु, निजी क्षेत्रका अस्पताल, शिक्षण संस्थाहरुमा ‘मिस सेलिङ’को प्रवृत्ति निरन्तर बढ्दो छ । भारतमा आरविआईले त्यसलाई अपराध मान्दै रोक लगाएपछि नेपालमा पनि ढिलो चाँडो त्यस विषयमा आवाज उठ्ने र त्यसलाई कारवाहीको दायरामा ल्याइने सम्भावना रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले मेरो लगानीलाई बताए ।