भारतीय शेयर बजारबाट विदेशी लगानीकर्ताले धमाधम पैसा झिक्दै, मार्चको सुरुवातमै ५२ हजार करोडभन्दा बढी बाहिरियो

Mar 16, 2026 03:02 PM merolagani



भारतीय शेयर बजारमा फरेन पोर्टफोलियो इन्भेष्टमेन्ट (एफपीआई) को शेयर बेच्ने क्रम लगातार जारी छ। मार्च महिनाको सुरुवाती दुई सातामै विदेशी लगानीकर्ताहरूले घरेलु इक्विटी बजारबाट ५२ हजार ७०४ करोड भारु बाहिर निकालेका छन्। 

मध्यपूर्वमा तनाव बढिरहेको र कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको समयमा पैसा निकालेका हुन्। यसअघि फेब्रुअरी महिनामा एफपीआईले बजारमा २२ हजार ६१५ करोड भारु लगानी गरेका थिए। जुन पछिल्लो १७ महिनायताकै उच्च विन्दु थियो। तर, मार्चको सुरुवातदेखि नै विदेशी लगानीकर्ताहरू हरेक ट्रेडिङ दिनमा ‘नेट सेलर्स’ (खुद बिक्रेता) बनेका छन्।

बजार विशेषज्ञहरूका अनुसार भारी बिक्रीको पछाडि थुप्रै विश्वव्यापी तथा घरेलु कारणहरू छन्। एन्जेल वनका सिनियर फन्डामेन्टल एनालिस्ट वकारजावेद खानका अनुसार, पश्चिम एसियामा बढ्दो तनाव र होर्मुज जलमार्गमा आपूर्ति प्रभावित हुने डरले ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य १०० डलर प्रतिब्यारेलमाथि पुगेको छ। यसले गर्दा लगानीकर्ताहरूले जोखिमयुक्त एसेट्स (सम्पत्ति) बाट पैसा निकालेर सुरक्षित विकल्पहरूमा लगानी गर्न थालेका छन्। यसका साथै डलरको तुलनामा भारतीय रुपैयाँ ९२ को स्तर पार गर्नु र अमेरिकी बन्ड यील्डमा भएको वृद्धिले पनि बजारमा दबाब सिर्जना गरेको छ।

भारतको साटो चिनियाँ बजारमा लगानी गर्दै लगानीकर्ता

जिओजित इन्भेष्टमेन्ट चिफ इन्भेष्टमेन्ट स्ट्राटेजिस्ट वीके विजयकुमारले पछिल्लो १८ महिनामा भारतीय बजारले विकसित र अन्य उदाउँदा बजारहरूको तुलनामा कम रिटर्न (प्रतिफल) दिएको बताए। यही कारणले गर्दा विदेशी लगानीकर्ताहरूको आकर्षण भारतप्रति घटेको हो। उनका अनुसार, हालको गिरावटपछि त्यहाँको भ्यालुएसन सस्तो भएको र कर्पोरेट अर्निङ (कम्पनीहरूको आम्दानी) को सम्भावना राम्रो देखिएकाले अहिले भारतको तुलनामा दक्षिण कोरिया, ताइवान र चीन बढी आकर्षक देखिएका छन्।

वर्ष २०२५ मा आइटी र एफएमसीजी सेक्टरमा सबैभन्दा बढी बिक्री
वर्ष २०२५ मा हालसम्म सेक्टरअनुसार हेर्दा आइटी सेक्टरमा सबैभन्दा बढी मार परेको छ।

  • आइटी सेक्टर: करिब ७४ हजार ७०० करोड भारु निकालिएको छ। यसको मुख्य कारण रेभेन्यु ग्रोथ (आम्दानी वृद्धि) मा कमी र ग्लोबल टेक खर्चमा आएको गिरावट हो।

  • एफएमसीजी सेक्टर: सहरी खपतमा आएको कमी र मार्जिनको दबाबका कारण ३६ हजार ८०० करोड भारु बाहिरिएको छ।

  • पावर र हेल्थकेयर: यी सेक्टरहरूबाट २४ हजारदेखि २६ हजार करोड भारुसम्मको बिक्री भएको छ।

यद्यपि, लगानीकर्ताहरूले टेलिकम, आलय एन्ड ग्यास, मेटल्स र केमिकल्स जस्ता सेक्टरहरूमा भने आफ्नो लगानी बढाएका छन्। यसले पैसा अब डोमेस्टिक भ्यालु र कमोडिटी शेयरतर्फ सिफ्ट भइरहेको सङ्केत गर्दछ।

बैंकिङ शेयरमा गिरावट: घरेलु लगानीकर्तालाई अवसर

विदेशी लगानीकर्ताहरूले फाइनान्सियल र बैंकिङ शेयरमा गरेको बिक्रीले यी सेक्टरको भ्यालुएसनलाई निकै तल झारिदिएको छ। जानकारहरूका अनुसार जहाँ विदेशी लगानीकर्ताहरू बाहिरिइरहेका छन्। त्यहीँ घरेलु लगानीकर्ताहरूका लागि यी शेयरहरू अब आकर्षक मूल्यमा उपलब्ध छन्। मार्चको सेकेन्ड हाफ (दोस्रो पन्ध्र दिन) का लागि बजारको अवस्था अझै पनि सतर्कतापूर्ण नै छ।

विशेषज्ञहरूका अनुसार यदि चौथो त्रैमासको नतिजा, विशेष गरी बैंकिङ र कन्जम्पसन (खपत) सेक्टरमा अपेक्षा गरेभन्दा राम्रो आयो भने बिक्रीको रफ्तार कम हुन सक्छ। तर, यदि जियोपोलिटिकल (भू–राजनीतिक) तनाव अझै बढ्यो वा तेलको मूल्य झनै उकालो लाग्यो भने बजारमा दबाब कायमै रहनेछ।

विदेशी पोर्टफोलियो लगानी अर्थात् एफपीआई के हो ?

विदेशी पोर्टफोलियो लगानी (एफपीआई) त्यो लगानी हो। जसमा विदेशी नागरिक वा कम्पनीहरूले अर्को देशको शेयर बजार, बन्ड वा अन्य वित्तीय सम्पत्तिहरूमा पैसा लगाउने गर्छन्। उनीहरूको आगमन र बहिर्गमनले नै शेयर बजारको चाल तय गर्ने गर्दछ।




समानुपातिकतर्फको मत गणना सकियो, कुन दलले पाए कति सिट ?

Mar 11, 2026 01:18 PM

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ ।