कम्पनीको मुख्य आम्दानीको स्रोत भनेको विद्युत् बिक्री नै हो । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग नदी प्रवाहमा आधारित आयोजनाका रुपमा विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गरेको छ । यो आयोजना संखुवासभा जिल्लाको हेवाखोला क्षेत्रमा रहेको छ । कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग पीपीए सम्झौता समेत गरेको थियो । जसअनुसार, एक वर्षमा हिउँदयामको बिजुली प्रतियुनिट ८.४० रुपैयाँ र बर्खायामको बिजुली ४.८० रुपैयाँमा प्राधिकरणले खरिद गर्ने सम्झौता भएको थियो ।
त्यसअनुसार, प्राधिकरणले वर्षेनी बिजुली खरिद गरेबापत करोडौं रुपैयाँ भुक्तानी गर्ने गरेको छ । यो नै कम्पनीको मुख्य आम्दानीको स्रोत बनेको छ । त्यसैगरी, यो नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समेत सूचीकृत कम्पनी भएकाले प्रारम्भिक शेयर निष्काशन (आईपीओ) र शेयर कारोबारमा समेत कम्पनीको सहभागी छ ।

वित्तीय अवस्था सबल, बाँड्यो बोनस शेयर
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ६ करोड ५४ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत २२ करोड ७६ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको थियो । सो अवधिसम्ममा कम्पनीको सञ्चालन मुनाफा १४ करोड ३६ लाख ४ हजार रुपैयाँ थियो ।
२०८२ असार मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ १९ पैसा रहेको थियो ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ मा शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर दिएको छ । त्यस्तै कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश समेत वितरण गर्ने निर्णय गरेको थियो । विगतका आर्थिक वर्षदेखि नै कम्पनीको वित्तीय अवस्था निकै सबल छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १५ करोड १४ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेर नाफा ७ करोड ४५ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । सो अवधिसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ २६ पैसा रहेको छ ।

कम्पनीले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिन सफल भएको र आगामी दिनमा पनि बोनस शेयरले निरन्तरता पाउने अपेक्षा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक निशा केसीले बताइन् ।
उनका अनुसार, ८.५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत् आयोजनाले पनि वर्षेनी सन्तोजनक रुपमा नै विद्युत् उत्पादन गरिरहेको छ । ‘यो प्रोजेक्टले सन्तोषजनक रुपमा नै विद्युत् उत्पादन दिइरहेको छ । यो वर्ष कम्पनीले शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर पनि दिन सफल भयो । र, आउने वर्षमा पनि बोनस शेयर दिन सक्ने गरी त्यसको निरन्तरता हुनेछ भन्ने हाम्रो अपेक्षा छ,’ कम्पनीका प्रवन्ध सञ्चालक निशा केसीले भनिन्।
फैंलाउँदै लगानी, बनाउँदै अन्य आयोजना
कम्पनीअन्तर्गत सञ्चालित जलविद्युत् आयोजनाले निरन्तर आम्दानी गरिरहेको छ । उक्त आम्दानीबाट कम्पनीले अन्य बन्दै गरेका भगिनी संस्थाहरुसँग मिलेर लगानी समेत गरिरहेको छ । कम्पनीले लगानी अभिवृद्धि गर्ने उद्देश्यअनुसार अन्य केही जलविद्युत् आयोजनामा समेत लगानी विस्तार गर्दै लगेको कम्पनीका प्रवन्ध निर्देशक केसी बताउँछिन् । उनले कम्पनीले अन्य आयोजना निर्माणमा समेत लगानी गरिरहेको बताइन् ।
‘कम्पनीको निरन्तरता र वृद्धिका लागि अन्य आयोजनामा पनि लगानी गर्ने लक्ष्य राखेर अघि बढिरहेको छ । अहिले संखुवासभाको सिसुवाखोलामा साढे १६ मेगावाटको सिसुवा जलविद्युत् आयोजना निर्माण हुँदैछ । त्यसलाई मातृभूमी हाइड्रोपावर कम्पनीले अघि बढाउँदैछ । त्यसमा अपरहेवा खोला हाइड्रोपावर कम्पनीको अधिकृत पूँजीको ५१ प्रतिशत लगानी गर्ने निर्णय गरिसकेको छ,’ उनले मेरो लगानीसँग भनिन् । कम्पनीको जारी पूँजी ५० करोड रुपैयाँको छ । बोनस शेयर जारी गरिसकेपछि कम्पनीको पूँजी ५७ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, हलेसी ऊर्जा लिमिटेडले प्रबर्द्धन गरिरहेको २.५ मेगावाटको रावाखोला जलविद्युत् आयोजनामा निर्माणको अन्तिम चरणमा छ । उक्त आयोजनामा पनि कम्पनीले डेढ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै, लालुपाते हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्दै गरेको ८३ मेगावाटको दानाखोला जलविद्युत् आयोजनामा पनि लगानी गर्ने जनाएको छ । उक्त आयोजनामा पनि एक करोड लगानी गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै, नेपाल सरकारको बास्केटमा रहेको इंखुखोला जलविद्युत आयोजनालाई पनि बिडिङ प्रोसेसबाट अघि बढाइएको छ । भर्खरै स्थापना भएको इंखु चेपेल हाइड्रो प्रालिले २७.९ मेगावाटमा अर्को आयोजना निर्माण गर्नेछ । यो कम्पनीमा पिपुल्स हाइड्रोपावरको २५ प्रतिशत र अपर हेवाखोलाको ७५ प्रतिशत लगानी गरेर जाने गरी सहमति भएको छ ।
एउटा मात्र आयोजना चलाएर बस्नुभन्दा अन्य नयाँ प्रोजेक्टमा लगानी गरिरहेको उनले जानकारी दिइन् ।
को–को छन् सञ्चालक ?
२०७९ असारमा कम्पनीको पहिलो पटक दोस्रो बजारमा शेयर जारी गरेको थियो । शेयर जारी गरेको तीन वर्ष पुगेको र संस्थापक शेयरधनीहरुको लकइन पिरियड खुलेकाले कम्पनीले पुरानै सञ्चालक समितिबाट काम गरिरहेको छ । हाल कम्पनीमा ७ सदस्यीय सञ्चालक समिति बहाल रहेका छन् ।
जसमध्ये हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा चिफबहादुर थापा र प्रवन्ध सञ्चालकमा निशा केसी बहाल रहेका छन् । त्यस्तै, अन्य सञ्चालकहरुमा रोशनी पौड्याल, दीपक सापकोटा, भुवनेश्वरी अधिकारी, इन्द्रप्रसाद लामिछाने र स्वतन्त्र सञ्चालकमा वरिष्ठ अधिवक्ता शेरबहादुर कार्की रहेका छन् ।
(मेराेलगानीले अब नियमित रूपमा सूचीकृत कम्पनीहरूकाे बिश्लेषण 'कम्पनी इनसाइट्स' प्रकाशित गर्नेछ)
