एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल

Mar 19, 2026 03:26 PM merolagani



नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचन परिणामलाई स्वीकार गर्दै अब आफ्नो पार्टी सशक्त प्रतिपक्षको भुमिकामा उत्रिने बताएकी छन् ।

बिहीवार निर्वाचन आयोगले आयोजना गरेको प्रतिनिधि सभाको समानुपातिकतर्फ निर्वाचित सांसदको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आगामी सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकरात्मक कामको लागि सहयोग गर्ने बताइन् । उनले एमाले स्थायित्वको पक्षमा रहेकोले निर्वाचनले देशलाई राजनीतिक स्थिरता दिएको बताइन् । सचिव अर्यालले रोजगारी सिर्जना, उत्पादनमा वृद्धि, महिला र ज्येष्ठ नागरिकको सम्मान लगायतका काममा सरकार केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

राजनीतिक अस्थिरता नै विकास र समृद्धिको प्रमुख बाधक भएको उनको भनाई छ । नयाँ शक्तिले झन्डै दुई तिहाइ जनसमर्थन पाएको अवस्थामा सरकारप्रति जनताको अपेक्षा अझ उच्च रहेको उनले बताइन् । एमालेले प्रतिपक्षबाट जनताको मतको रक्षा गर्दै सरकारलाई सही ट्रयाकमा ल्याउने उनको भनाई छ । संसदमा एमालेको भूमिका जनताको हित र राष्ट्रहितको पक्षमा सशक्त हुने बताउँदै उनले राम्रो काममा सहयोग र गलत कार्यमा कडा खबरदारी गर्ने जानकारी दिइन् ।

उनले भनिन्, ‘जनताले प्रकट गरेको मतप्रति हाम्रो सम्मान छ । हामीलाई मत किन दिनुभएन हामीले भनेको छैन । यो चुनावको रिजल्ट जनताको अभिमत हो । हाम्रो जनताको अभिमतप्रति सम्मान छ, जहिल्यैपनि, चुनावको परिणामलाई स्वीकार गर्दै हामीले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्दैछ, त्यो सरकार राम्रोसंग चलोस् भनेका छौँ । हामी स्थायित्वका पक्षमा छौँ । चुनावको परिणामलाई स्वीकार गर्दै हामी आफ्नो असफलताको कारण समिक्षा गर्छौँ । प्रतिपक्षको भुमिकामा एमालेलाई तपाईहरुले ससक्त देख्नुहुनेछ । हामी राष्ट्रिय स्वाभिमानको झण्डा कमजोर भएको देख्न सक्दैनौ । हामी आफू सकिएको देख्न सक्छौ, तर राष्ट्र कमजोर, राष्ट्रिय स्वाभिमान कमजोर भएको देख्न सक्दैनौँ । कहीँ त्यस्तो भएको संकेत भयो भने हामी कुनैपनि हालतमा राष्ट्रिय स्वाभिमान झुक्ने काम यो सरकारलाई गर्न दिँदैनौ । त्यसैले हाम्रो खरो पहरेदारी हुन्छ । आज केही नभएको होइन, तर जनताको अपेक्षा के हो भने मुलुकमा रोजगारी । बेरोजगारी समस्याको समाधान हुनपर्यो, वृद्ध र महिलालाई सम्मान हुनुपर्यो, उत्पादनमा वृद्धि हुनुपर्यो । हामी आत्मनिर्भर बन्ने दिशातिर जानुपर्यो, सधै मगन्ते हुनुभएन । विकास र समृद्धिको बाधक राजनितिक अस्थिरता हो । त्यसैले अहिले कसैले छुन नसक्नेगरि झन्डै दुई तिहाई नयाँ शक्तिले प्राप्त गरेको छ । नयाँ शक्ति हो, जोस, जाँगर छ, खबरदारी पनि छ । त्यसकारण हामी पनि प्रतिपक्षबाट जनताको मतलाई तलमाथी गर्न पाउँदैनौँ भनेर खबरदारी गर्नेछौँ र सही ट्रयाकमा ल्याउनेछौँ । जनताको पक्षमा, राष्ट्रको पक्षमा हाम्रो भुमिका संसदमा सशक्त हुन्छ, सरकारले ल्याएका राम्रा कामको लागी सहयोग हुन्छ, नराम्रा काम, जनहित र राष्ट्रहित विपरितको कामको लागि हाम्रो खवरदारी हुन्छ ।’

उनले एमालेले निर्वाचनमा पाएको असफलताको समिक्षा गर्ने गरेर कमी कमजोरीलाई सुधार गर्ने बताइन् ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।