नवनिर्वाचित सांसदहरु भन्छन्-भावी प्रधानमन्त्री बालेन साहले जनतालाई निराश गराउनु हुन्न

Mar 19, 2026 04:25 PM merolagani



नवनिर्वाचित सांसदहरुले भावी प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले जनतालाई निराश नगराउने बताएका छन् । बिहीवार निर्वाचन आयोगमा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित प्रमाणपत्र लिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै उनीहरुले यस्ताे बताएका हुन् ।

यसैगरी, उनीहरुले विकास, सुशासन र समान अवसरलाई प्राथमिकतामा राखेका बताएका छन् । रोजगारी, उत्पादनमा वृद्धि र देशको समृद्धि नै आफूहरुको मुख्य एजेण्डा रहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समिना मियाँले हालै भएको निर्वाचनले पुराना दल र राजनीतिक प्रवृत्तिलाई जनताले अन्त्य नयाँ पुस्तामा पुस्तान्तरण गरेको बताइन् । उनले जनताको माग र इच्छाअनुसार काम गर्नु नै आफ्नो प्राथमिक लक्ष्य भएको स्पष्ट पारिन् । पार्टीले काठमाडौँका पूर्वमेयर बालेन्द्र साहलाई भावी प्रधानमन्त्री तोकेर निर्वाचनमा गएकोले जनतामा उनीमाथी ठूलो भरोसा गरेर मत दिएको बताइन् । साहले काठमाडौंमा गरेका विकासका कामलाई देशभर विस्तार गर्ने योजना रहेको उनको भनाई छ ।

उनले भनिन्, ‘पुराना दल र व्यवस्थाको अन्त्य तथा अवको राजनितिक यात्रा चाहीँ नयाँ पुस्तालाई पुस्तान्तरण गर्नुपर्छ भनेर जनताले अभिमत दिएका छन् । हामीले जनताको माग र ईच्छालाई पूरा गर्ने हाम्रो लक्ष्य छ । भावी प्रधानमन्त्री बालेन्द्र साह काठमाडौंको पूर्वमेयर पनि हुनुहुन्छ, मेयर हुँदाखेरी उहाँले मेयरको अधिकार कति हुन्छ ? भन्नेकुरा देशभर चिनाउन सफल हुनुभएको छ । उहाँले काठमाडौमा गरेका जतिपनि विकासका कामहरु छन्, त्यसलाई देशभर विस्तार गर्नेछौँ । भावी प्रधानमन्त्री बालेन्द्र साहले यो देशको समृद्धिको लागि जनतालाई निराश गराउनु हुँदैन ।’

रास्वपाकै सांसद प्रभा ढकालले जनताको प्राथमिकता विधिको शासन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र स्वरोजगार रहेकोले सोहीअनुसार काम गर्ने बताइन् । उनले ठूला भाषणभन्दा साना तर प्रभावकारी काममार्फत परिवर्तन सम्भव हुने उल्लेख गरिन् । हरेक दिन हजारौँ युवाहरु विदेशिन बाध्य रहेको उल्लेख गर्दै उनले देशमा नै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइन् । पहुँचका आधारमा सेवा प्रदान भइरहेकोले त्यसलाई हटाउन अति आवश्यक रहेको उनको भनाई छ । यसलाई बलियो कानून बनाएर प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले जोड दिइन् ।

उनले भनिन्, ‘यो देशमा हामी ठूला ठूला कुरा गर्छौं, तर सानासाना कुराबाट पनि हामी धेरै कामहरु गर्नसक्छौँ । जनताले ठूला कुराहरु खोजेका होईनन्, यो देशमा विधिको शासन, शिक्षा, स्वास्थ्य, स्वरोजगार खोजेका छन् । प्रत्येक दिन हजारौँको संख्यामा हाम्रा युवाहरु विदेशीनु परेको अवस्था छ, संगै स्वास्थ्य, शिक्षामा पनि त्यस्तै भ्रष्टाचार छ, दलियकरण छ । पहुँचका आधारमा विपन्नले पाउने अधिकार खोसिएको छ । यी कुराहरुलाई निति नियम बलियो बनाएर कार्यन्वयन गर्ने पक्षमा हामी अगाडी बढ्नेछौँ ।’

सांसद श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन गर्दा देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताइन् । उनले लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम जस्ता पिछडिएका क्षेत्रका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । सबै क्षेत्रलाई समान रूपमा हेर्नु राज्यको दायित्व रहेको उनको भनाई छ ।

उनले भनिन्, ‘हामी समग्र देशको लागि देशको आवश्यकता के छ भनेर बजेट र विकास विनियोजन गर्छौ । लुम्बिनी प्रदेश मात्रै नभएर कर्णली, सुदूरपश्चिमदेखी लिएर पिछडिएको क्षेत्रमा पनि हामीले आफ्नो सम्भावनाहरुलाई लिएर जानुपर्छ । सबैलाई बराबर रुपमा हेर्नुपर्छ ।’

नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बढ्दो महँगी, विदेशिएका युवाहरुको समस्यालाई संसदमा उठाउने जानकारी दिइन्। उनले नेपालको संविधानमा राखिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय स्वाधीनताको संरक्षण तथा जनजीविकासँग जोडिएका मुद्दामा ध्यान दिने बताइन् । संघीय लोकतान्त्रिक व्यवस्था माओवादी जनयुद्धबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै उनले यसको कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्नुपर्नेमा जोड दिइन् । महिला, दलित, अपाङ्गता भएका व्यक्ति लगायतका उत्पीडित वर्गलाई राजनीतिक मूलधारमा ल्याउने वातावरण यसै व्यवस्थाले सिर्जना गरेको उनको दाबी छ ।

उनले भनिन्, ‘जनताको मन जित्नको लागी हामीले विगतमा पनि काम गरेका थियौँ । जुन यो संघिय लोकतान्त्रिक व्यवस्था छ, त्यो माओवादी जनयुद्धले लडेर ल्याएको हो । त्यसैले दुरदराजका महिला, दलित, उत्पिडनमा परेका वर्ग, अपाङ्गहरुलाई पनि संसदमा ल्याउने वातावरण बनाएको हामीले हो । जुन व्यवस्था हामीले ल्याएका थियौँ, त्यसको कार्यन्वयनमा कहीँ न कहीँ कमीकमजोरी भएको हुनाले हामीले अब त्यसलाई समिक्षा गरेर आत्मसात गरेर संविधानमा लेखिएका व्यवस्थालाई कार्यान्वयन गर्न ध्यान दिन्छौँ । भूराजनितिक लगायतका हिसावले देशको स्वाधिनतामा पनि हामीले ध्यान दिनेछौँ । तत्कालिन अवस्थामा जनताको डेलिभरी, मध्यपूर्वमा आज जुन आन्दोलन भइकरहेको छ, नेपाली भान्सा महंगिएको छ । दैनिक जनजिविकाका सवालहरुलाई हामीले संस्थागत हिसावले अगाडी उठाउनेछौँ ।’

उनले व्यवस्था बदलिएको भएपनि जनताको अवस्थामा अझै परिवर्तन ल्याउनुपर्ने भएकोले धेरै काम गर्न बाँकी रहेको बताइन् । चुनावमा पार्टीले व्यहोरेको हारको बारेमा समिक्षा गर्दै अगाडि बढ्ने उनको भनाई छ




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।