तर, तिनै कार्की जब प्रधानमन्त्री बनिन्,उनैले पहिलेदेखि विवादास्पद आदर्श श्रेष्ठलाई आफ्नो नीजि सहायक (पिए) मात्र बनाइनन्, आफू बाहिरिने बेला राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष नै बनाइन । कार्य क्षमतामा अब्बल मानिएकी कार्की यो घटनापछि चरम विवादमा परेकी छन् र उनलाई त्यो निर्णय फिर्ता लिन चौतर्फी दवाव परिरहेको छ । तर, कार्की भने त्यसलाई वेवास्ता गरिरहेकी छन् । (भ्रूण हत्या प्रकरणमा जोडिएकी महान्यायाधिवक्ता सविता बराललाई जोगाउन गरिएको प्रयास त छदैंछ)
नेपालमा हरेक निर्वाचन वा हरेक पटक सरकार परिवर्तन हुँदा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम प्रमुख मुद्धा हुनेगर्छ । सरकार सम्हाल्नेहरुले भ्रष्टाचार नियन्त्रणको कुरा उठाउँछन् र समय क्रममा उनीहरुले नै नियुक्ति गर्ने पिएमार्फत भ्रष्टाचार गर्नको लागि एउटा बलियो च्यानल बनाउछन् । अपवादमा वाहेक नेपालका हरेक प्रधानमन्त्री, मन्त्रीसहितका उच्च पदस्तहरु पिएकै कारण बदनाम भएका छन् । डा.केआई सिंह, टंकप्रसाद आचार्य, मनमोहन अधिकारी लगायतका प्रधानमन्त्रीहरु यो सन्दर्भमा अपवाद हुन् ।
प्रधानमन्त्री केआई सिंह त यो सन्दर्भमा त्यस्ता अनौठा पात्र हुन्, जो उच्च पदस्तहरुको पिएहरुले मच्चाएको भ्रष्टाचारको सन्जाल तोड्न खोज्दा बर्खास्तमा परेका थिए । २०१४ साउन ११ गते प्रधानमन्त्री भएका उनले भ्रष्टाचार गरेको प्रमाणपछि राजा महेन्द्रका नीजि सचिवसहित ११७ जना उच्चपदस्थ अधिकारीहरूलाई नसिहत दिनेदेखि बर्खास्त गर्नेसम्मको कारबाही गरे । भारू सटहीदेखि पेट्रोल, डिजेल आयातमा हुने गरेका राजस्व चुहावटको साथै खाद्यान्न, नुनलगायतका वस्तुहरूमा हुने गरेको कालोबजारी नियन्त्रण गरे । त्यति मात्र होइन, राजस्व र भन्सार प्रशासनलाई पारदर्शी बनाउन अनेक कदम चाले ।
परिणाम, प्रधानमन्त्री सिंह स्पष्टीकरणको मौकासमेत नपाई बर्खास्त गरिए । नेपालमा पिएहरुको शक्तिशाली हुन्छन् भन्ने कुराको दृष्टान्तको लागि यस्ता धेरै उदाहरण छन् ।

पिएको नेतृत्वमा हुने च्यानलका सबै गतिविधि प्रधानमन्त्री वा मन्त्रीलाई थाहा हुन्छ र उनीहरुका हरेक ‘उठ्तीपुट्ती’ का हिस्सा ‘बोसहरु’संग पुग्छ भन्ने होइन । तर, पिएहरुका कारण आफ्ना राजनीतिक र सामाजिक छवि पुर्णरुपमा धुमल्लिदासमेत, आफू वर्खास्त र कतिपय सन्दर्भमा जेल नै जाने अवस्थासमेत प्रधानमन्त्री, मन्त्रीहरुसहितका उच्च पदस्तहरु त्यस्ता पिएहरुबाट टाढिन किन सक्दैनन् ? उनीहरुलाई सधैभरि काखी च्यापी नै रहनु पर्ने वाध्यतामा किन हुन्छन् ? गिरिजा प्रसाद कोइराला, शेरबहादुर देउवादेखि केपीओली, माधव नेपाल, प्रचण्ड र पछिल्लो समय सुशिला कार्कीसम्मका प्रधानमन्त्रीहरुका पिएहरु मुछिएका काण्डहरु र त्यस्ता काण्डमा मुछिएका पिएहरुलाई जोगाउन गरिएका प्रपन्चहरुलाई हेर्दा नेपालका उच्च पदस्तहरु पिए प्रेम निकै रहस्यमय लाग्छ । (अझ यो सन्दर्भमा मन्त्री र अन्य उच्च पदस्तहरुको समेत सन्दर्भ जोड्ने हो भने त यो आलेख नै निकै लामो हुन्छ)
अहिले बालेन्द्र साह प्रधानमन्त्री बन्ने निश्चित प्रायः देखिएको छ । र, उनले कस्तो मन्त्रीमण्डलसहितको टीम बनाउलान् र काम कसरी गर्लान् ? त्यो केही समयमा देखिनेछ । भाषण कम गर्ने काममा विश्वास गर्ने नेताको छवि बनाएका साहले परिणाममुखी काम गर्नेमा आशा राख्नेपर्छ ।
त्यसको लागि विगतका प्रधानमन्त्रीहरु जस्तो पिएमुखी भए भने उनी असफल मात्रै हुने छैनन्, आम नेपालीहरुको आशा र भरोसा पनि टुट्नेछ । आशा गरौं उनी ‘पिए प्रेम’बाट मुक्त हुनेछन् र पिए वा प्रधानमन्त्रीको सचिवालय ‘उठ्तीपुट्ती’को हरहिसाब मिलाउने केन्द्र होइन, प्रधानमन्त्रीको कामलाई चुस्तदुरुस्त बनाउने अड्डाको रुपमा स्थापित गर्नेछन् ।
चिन्ताको विषय एउटै छ—उनी पनि कतै पहिलेका प्रधानमन्त्रीहरु जस्तो ‘पिए प्रेम’बाट ग्रसित हुने त होइनन् ? यो चिन्ता किन पनि छ भने काठमाण्डौ महानगरपालिकाको प्रमुख हुँदा उनका पिए भूपदेव शाह पनि अनेक प्रकरणमा मुछिए । तर पनि बालेन त्यसप्रति मौन बसे । शायद पिए हुँदा परेको विवादका कारण पनि हो कि ? देश घण्टीमय हुँदासमेत भूपदेवले अछामबाट लज्जाजनक नै भन्न मिल्ने गरि चुनाव हारेका छन् । र, उनले नै प्रधानमन्त्री बालेनको सचिवालयको नेतृत्व नै चर्चा चलिरहेको छ । भूपदेव वा अरु कोही पिए वा अरु केही हुनु नहुनु ठूलो कुरा भएन, मुख्य कुरा प्रधानमन्त्री कार्की जस्तै पनि बालेन पनि उनीहरुप्रति अन्धभक्त हुन्छन् कि हुँदैनन ? पिए भनेको कमिसन एजेण्ट होइन भन्ने कुरालाई व्यवहारमा लागू गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराले उनको प्रधानमन्त्रित्वकालको सफलता र असफलता निर्धारण गर्नेछ ।