काँग्रेसको जारी केन्द्रिय समितिको बैठकमा हालसम्म ४६ जना केन्द्रिय सदस्यले धाराणा राखेकाे र सबैले राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको उनले जानकारी दिए। उनकाअनुसार बैठकमा मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी दुई विषयमा केन्द्रित भएर छलफल भइरहेको छ । बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको छ । यसमा आधारित भएर अधिकांश केन्द्रिय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।
उनले भने, ‘विशेष गरेर निर्वाचनको समिक्षा र सभापतिको राजीनामा दुई विषयमा केन्द्रित रहेर बैठक सञ्चालन भइरहेको छ । बैठकमा राजीनामालाई अस्वीकृत गर्ने प्रस्ताव पनि सँगै छ, त्यसमा आधारित भएर अधिकांश साथीहरुले राय राख्नुभएको छ । हालसम्म ४६ जना केन्द्रिय सदस्यहरुले बोलिरहँदा शतप्रतिशत साथीहरुले सभापतिको राजीनामालाई फिर्ता गर्नुपर्ने र अस्वीकृत गर्नुपर्ने एकमत जाहेर गर्नुभएको छ ।’
काँग्रेसको केन्द्रिय समितिको बैठक हाल पार्टी मुख्यालय सानेपामा जारी छ । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीले ठूलो पराजय व्यहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए ।