नेपालमा ‘हाइड्रोपावर’ बनाउनु बाघको दूध दुहुनु भन्दा कठिन काम

Mar 22, 2026 06:20 PM mero lagani



शिवप्रसाद घिमिरे
नेपालको सन्दर्भमा हाइड्रोपावर (अर्थात् जलविद्युत आयोजना) भनेको बाघको दूध दुहुनुजस्तै हो ।

निर्माण सुरू गर्नुअघि धेरै गृहकार्य गर्नुपर्ने हुन्छ । जग्गा खरिद, सडक निर्माण, कर्मचारी आवास, अफिस, ठेकदारका लागि क्याम्प क्रसर, बैंक फाइनान्स क्लोजर, कन्स्ट्रक्सन पावर आदि विविध कामहरू हुन्छन् । त्यसअघि पनि नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पिपिए) गर्नुपर्ने हुन्छ ।

मान्छेले हाइड्रोलाई सेतो हात्ती पनि भन्छन् । बिजुली बलेपछि होला पनि । तर पूरा गर्न निकै सकस झेल्नुपर्ने रहेछ । गरिबी र बेरोजगारीको चपेटामा परेको हाम्रो जस्तो मुलुकमा उसै त काम गर्न गाह्रो छ, त्यसमाथि ठूला प्रोजेक्टमा ।

मैले धेरै वटा क्षेत्रका धेरै वटा उद्योग-व्यवसायमा भन्दा बढी झमेला यो हाइड्रोमा झेलेको छु । त्यसमाथि हामीले, बझाङ जस्तो आफैमा अत्यन्तै विकट जिल्लामा काम थालेका थियौं । यसका दुःख भनिसाध्दे छैनन् ।

ठूलो बजेटको ठूलो प्रोजेक्ट भएका कारण सामान जुटाउन, व्यवस्थापन गर्न र निर्माणको कार्यमा हुने दुःख आफ्नो ठाउँमा छ । त्यसका अलावा स्थानीयस्तरबाट आउने दुःख अनगिन्ती छन् । गन्न र भन्न थालें भने म थाक्छु । तर कुनै कुनै कुरा भन्नैपर्ने खालका छन् । जुन म भन्दैछु ।

आम मानिसको बुझाइ हाइड्रो बनाउन आयो भनेपछि स्थानीयहरूलाई पैसा ल्याएर बाँड्छ भन्ने हुँदोरहेछ । कसैको भैंंसी लड्यो भने पनि हाइड्रो आएर तर्सेर लड्यो, यसको क्षतिपूर्ति तिर्नुपर्यो भन्थे । एउटा बाटोको ढुङ्गा खस्यो भने पनि विवाद निकाल्ने गर्थे ।

हाइड्रोको गाडी हिंड्दा ढुङ्गा झरेर धान बिग्रियो, मेवाको रूख ढल्यो, घर चर्कियो, खेतको पानी सुक्यो यावत् कुरा गरेर क्षतिपूर्ति माग्थे । जागिर माग्ने त छँदैछ, स्कूल बनाइदे, अस्पताल बनाइदे, बाटो बनाइदे, फलानो क्रिकेट मैदान बनाइदे, फुटबल ग्राउण्ड, क्लब आदि सम्झिएका जति जम्मै कुराहरू बनाइदे भनेर माग राख्न आउथे, स्थानीयहरू । क्याम्पमा गएर बस्दा माग्न आउने भन्दा अरूको अनुहारै देख्न नपाइने ।

उफ् ...

सुन्दा पत्यार नलाग्ला हजार, दुई हजारमा पनि नबिक्ने ठाउँको जमिन हामीले रोपनीको २०-३० लाख रूपैयाँसम्म हालेर किनेका थियौं । प्रोजेक्ट नजिकका जग्गा या आवश्यकताले सोही जग्गा चाहिने भएपछि जति भन्थे त्यति हाल्यौं ।

यसरी समस्यै समस्यासँग जुधेर काम गर्नुपर्ने हाइड्रोको काम मलाई बाघको दूध दुहे जस्तो लाग्छ ।
...
हामीले ४७ किलोमिटर ‘कन्ट्रक्सन पावर’ भनेर त्यस गाउँमा आफ्नै खर्चमा बिजुली लगेका छौं । पूरा गाउँ झिलिमिली भएको छ ।

एउटा सत्य कुरा के हो भने विकाससँगै विनास हुन्छ । सडक बन्दा बनाउँदा त्यसले केही प्रभाव पार्छ नै । हामी आयोजना बनाउन जाँदा २६ घण्टामा पैदल हिडेको बाटो आज एक घण्टामा पुगिन्छ । त्यो बाटो हाइड्रोका लागि हामीले नै बनाएको बाटो हो । आज त्यहाँ साना ठूला गरेर दुई-तीन सय मोटर गाडी चल्छन् । त्यो भनेको विकास होइन र ?

मान्छे मोटरमा हिंड्न पाएका छन्, त्यहाँका उत्पादनहरु गाडीबाट ल्याएर बिक्री गर्न पाएका छन् । त्यहाँ उत्पादन भएका सागसब्जी, दही, दूध, खसी, बोका, गाई, भैंसी, कुखुरा आदिको व्यवसाय गर्न पाएका छन् । प्रोजेक्ट चलेपछि कायापलट भएको छ ।

तर, कसैले अनुभूति गरेको छैन । आयोजना आयो अब बर्बादै पार्ने भए, सबथोक लाने भए भन्ने भ्रम छ । खोलाको पानी पहिले नै बगिराखेकै हो । हामीले मात्रै प्रयोग गरेको न हो । तर यो कसले बुझिदिने ?

यो देशभरिकै जलविद्युत् उत्पादकहरुको समस्या हो ।

सरकार हाइड्रो प्राथमिकता हो भन्छ । समृद्ध नेपाल, सुखी नेपाली बनाउने नारा लगाउँछ । तर नारा नारामै सिमित भएको छ । आमनागरीकमा ‘स्कुलिङ’ पुगेको छैन । यसबाट राज्यले के के लाभ पाउँछ, स्थानीय क्षेत्रले के के लाभ पाउँछ, त्यो जिल्लाले के पाउँछ, देशले के पाउँछ भन्नेकुरा सरकारले बुझाउनै सकेको छैन । त्यसैले पनि लगानीकर्ताले समस्या झेल्नुपरिरहेको छ ।

लगानीकर्ताले त प्रतिफल पाउँछ प्रतिफल पाउँछ नै । नभए किन यति दुःख गर्ने ? किन जोखिम लिने ?

हाइड्रो प्रोजेक्टमा मेरै अबौं रूपैयाँको लगानी हो । भनेपछि कोही मान्छेले अबको जोखिम मोलेको हुन्छ भने प्रतिफल खोज्नु स्वभाविक हो । स्थानीयस्तरमा मात्रै होइन, केन्द्रीय कार्यालय सञ्चालनमा पनि मासिक करोडौँको खर्च छ । तर त्योभन्दा धेरै दुःख छ स्थानीयको अनगिन्ती माग झेल्नलाई ।

हो, हामीले हामीसँग जे छ त्यही बेच्ने हो । मलेसियाले काठ बेच्छ । हामीसँग पानी छ हामी पानी बेचौं । हाम्रो मुलुक धनी हुन पानीमा या भनौं हाइड्रो पावरमा लगानी गर्नु आवश्यक छ । यो मेरो यति लामो औद्योगिक र व्यावसायिक जीवनको अनुभव हो । तर हाइड्रो तयार हुन्जेलसम्ममा झेल्नुपर्ने दुःखका लागि सरकारले उचित वातावरण र जनचेतना फैलाएर सहज बनाइदिने पो हो कि ?
....
एउटा अर्को दुःख सम्झना आयो, जग्गा खरिद गरेका बेलाको । त्यहाँका मानिसहरूले जग्गाको रकम लिंदा चेक लिन मानेनन् । नगदै दिनुपर्ने भयो । गाउँगाउँमा गएर मालपोत, नापीको ढोकाढोका चहारेर सबै काम सकेर सिंगो जिल्ला सदरमुकाम घुमेर अनि फर्केर सही गराउँदै पैसा दिनुपर्ने भयो । पैसा लिएपछि मान्छे आउने त्यही धनगढी हो । तर त्यहींबाट पैसा लिएर जान मान्दैनथे ।

गर्नै पर्यो के गर्ने ? टिनको बाकसभरि पैसा भरेर भरिया लार गाउँगाउँ लगेर पैसा बाँडियो । त्यो पनि सबैलाई बुझाउँदै, कसैको मन नदुःखाइकन । कसैको घर पर्यो भने मेरो घर पन्यो यति पैसा चाहिन्छ भन्छन् । १०-१२ हजार थपेर दियो । तपाईं खुसी हुनुहुन्छ ल मेरो तर्फबाट यति भनेर दिनुपर्ने । यसरी तीन सयभन्दा माथि परिवारलाई पैसा बाँडियो ।
....
उता ट्रान्समिसन लाइनको जग्गा किन्न गयो भने जति पैसा दिए पनि दिन्नँ भनिदिन्छन् । कहिलेकाहीँ एउटै टावर चार जनाको जग्गामा पर्छ । जग्गाको मान्छे बाहिर हुन्छ । जग्गा चाहिएको छ दुई आना । यावत् किसिमका समस्या जलविद्युत् निर्माणमा छन् ।

यति दुःख झेलेर बनाएपछिको राम्रो पक्ष भनेको प्रतिफल राम्रो छ । अरू खाले कुनै पनि व्यवसायसँग तुलना हुँदैन । राज्यलाई बेच्ने हो बजारको दुःख भएन । यति रूपैयाँ पर युनिट भनेर पहिले नै विद्युत् प्राधिकरणले निर्धारण गरेको हुन्छ । फेरि तीस वर्षपछि त्यो राज्यकै सम्पत्ति हुने हो । त्यसैले हाइड्रोपावर भनेको राष्ट्रिय सम्पत्ति नै हो । तर त्यो कुरो कोही मान्न र बुझ्न तयार छैनन् ।


....
नेपालमा समृद्धि ल्याउन सक्ने क्षेत्र भनेको हाइड्रो नै हो । प्रकृतिले दिएको छ । तर त्यसको सदुपयोग गर्न झन्झट छ । एक त ठूलो धनराशी आवश्यक छ त्यसमा पनि व्यवहारिक समस्याहरू ज्यादा छन् । हाम्रा मान्छेको सोच र विचारमा परिवर्तन आएन भने क्षमता बराबर उत्पादन गर्न गाह्रो छ । किनभने जसरी हामीले खप्यौ, त्यो सबैले खप्न नसक्लान् ।
...
हाइड्रोपावरमा दुई तीन वटा मोडल हुन्छन् । जस्तो कि एउटा डेभलोपरलाई सबै ठेक्का दिएर आफ्नो तर्फबाट सिइयो र म्यानेजर पठाएर या प्रोजेक्ट म्यानेजरलाई पठाएर उनीहरुकै भरमा काम अगाडि बढाउने । अर्को, लगानीकर्ता आफै संलग्न हुने ।

टेण्डर निकालेर विदेशी या स्वदेशी जो कसैलाई ठेक्का दिए उसले ती अफ्ठ्याराहरू झेल्थ्यो र ?
हामी आफै संलग्न भएकाले सानातिना कुरामा समेत प्रत्यक्ष सहभागिता जनायौ । हामी त आफैँ प्राक्टिकल फेरि इन हाउस । हाम्रै समूहको, सुनाम कन्सट्रक्सन कम्पनी र एन्जल इन्जिनियरिङ कम्पनी छ । इन्जिनियरिङ डिपार्टमेन्ट अफ कम्पनी पनि हाम्रो आफ्नै हो । ठेकेदार पनि आफ्नै हो । डेभलोपर पनि हामी आफैँ भएकाले माइक्रो म्यानेजमेन्टमा पुग्न पनि बाध्य भएका हौं ।

यसैले छोटो समयमा नै बझाङ जिल्लाका हाइड्रोबाट, धेरै वटा हाइड्रोपावर बनाएर पाउने अनुभवभन्दा बढी अनुभव पाएको छु ।

(यो आलेख हामीले केही महिना अघि प्रकाशित घिमिरेको पुस्तक शून्यबाट शुरु भएको व्यापार अपारबाट लिएका हौं । )




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।