धितोपत्र बोर्ड अध्यक्षको ‘मिसन २०८२’, मार्जिन कारोबारलाई पूर्णता दिने लक्ष्य ‘इन्ट्रा डे ट्रेडिङ’

Mar 22, 2026 03:18 PM merolagani



सुवास निरौला 
नेपाली पूँजी बजारलाई आधुनिक र लगानीमैत्री बनाउने दिशामा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एउटा ठुलो फड्को मार्ने तयारी गरेको छ। 

लामो समयदेखि चर्चामा रहेको तर कार्यान्वयनमा आउन नसकेको ‘इन्ट्रा डे ट्रेडिङ’ (दिनभरिमा किनेर सोही दिन बेच्न मिल्ने व्यवस्था) लाई बोर्डले आफ्नो मुख्य प्राथमिकतामा राखेको छ।

नेपाल धितोपत्र बोर्डका अध्यक्षसँगको आइतबार भएको कुराकानीमा उनले आगामी वर्ष २०८२ भित्रै इन्ट्रा डे ट्रेडिङलाई बजारमा भित्र्याउने लक्ष्य रहेको बताए । अध्यक्षका अनुसार हाल कार्यान्वयनमा रहेको मार्जिन लेन्डिङ सुविधा इन्ट्रा डे ट्रेडिङको अभावमा ‘अपूर्ण’ देखिएको छ। यी दुई उपकरणलाई एकसाथ जोडेर लैजाँदा मात्रै बजारमा वास्तविक तरलता र व्यावसायिकता आउने बोर्डको ठहर छ। अध्यक्षले संवादका क्रममा पूँजी बजारको वर्तमान अवस्था र सुधारका प्रयासबारे स्पष्ट पार्दै भने, “इन्फ्रास्ट्रक्चरका धेरै काम भइरहेका छन्। विशेष गरी मार्जिन लेन्डिङलाई अझ प्रभावकारी बनाउन अरू टुल्सहरू पनि चाहिन्छ। जबसम्म इन्ट्रा डे ट्रेडिङ आउँदैन, तबसम्म मार्जिन लेन्डिङ अपुराे जस्तो मात्र हुन्छ। यसलाई प्रभावकारी बनाउन इन्ट्रा डे बजारमा आउनै पर्छ, जसले लगानीमैत्री वातावरण बनाउँछ भन्ने हाम्रो दृढ विश्वास छ।”

उनका अनुसार मार्जिन कारोबारमा लगानीकर्ताले ऋण लिएर शेयर किन्छन्। तर सोही दिन नाफा बुक गरेर निस्कने सुविधा (इन्ट्रा डे) नहुँदा लगानीकर्ताले जोखिम व्यवस्थापन गर्न सकिरहेका छैनन्। इन्ट्रा डे सुरु भएपछि बजारमा शेयरको माग र आपूर्तिमा सन्तुलन आउने र यसले बजारलाई अझ चलायमान बनाउने अपेक्षा गरिएको छ।

यो महत्त्वपूर्ण कार्यलाई मूर्त रूप दिन बोर्डले विज्ञ कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा एउटा उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो। उक्त कमिटीलाई इन्ट्रा डे ट्रेडिङको सम्भाव्यता, नीतिगत व्यवस्था र प्राविधिक आवश्यकताको अध्ययन गरी प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको थियो। यद्यपि, विषयको गम्भीरता र प्राविधिक जटिलताका कारण तोकिएको समयमा काम नसकिएपछि बोर्डले समितिको म्याद थप गरेको छ। “कमिटीको समय सकिएको थियो, तर काम अझै बाँकी रहेकाले हामीले थप १५ दिनको समय दिएका छौ। ४–५ दिन भइसक्यो म्याद थपेको। मेरो टार्गेट भनेको २०८२ सालभित्रै जसरी पनि इन्ट्रा डे ट्रेडिङलाई नेपाली बजारमा इन्ट्रोड्युस गर्नु हो,” अध्यक्षले  भने। समितिले प्रतिवेदन बुझाउने बित्तिकै बोर्डले आवश्यक नीतिगत संशोधन गरी यसलाई कार्यान्वयनको प्रक्रियामा लैजाने तयारी गरेको छ।

इन्ट्रा डे मात्रै होइन बजारको अर्को प्रमुख माग ‘सर्ट सेलिङ’का विषयमा पनि केसीको नेतृत्वको कमिटीले अध्ययन गरिरहेको छ। 

नेपाल धितोपत्र बोर्डको नेतृत्व अहिले ‘रिजल्ट’ दिने मुडमा देखिएको छ। इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ जस्ता कामहरू एकसाथ अघि बढ्नुले नेपाली शेयर बजार नयाँ युगमा प्रवेश गर्न लागेको संकेत  गर्दछ। अध्यक्ष अन्तिममा भन्छन् “हामी एउटा स्पष्ट भिजनका साथ लागेका छौँ। २०८२ भित्रै इन्ट्रा डे ल्याउने हाम्रो मुख्य टार्गेट हो। यो आएपछि नेपाली बजारमा लगानीको परिभाषा बदलिनेछ र बजार अझ परिपक्व हुनेछ।”




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।