नेप्से र कारोबार रकम दुबै करिब ७ महिनायताकै उच्च

Mar 22, 2026 03:16 PM Merolagani



साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेको छ। पछिल्ला दुई काराेबार दिनदेखि बढीरहेकाे नेप्सेले यस दिन पनि साेही क्रमलाई निरन्तरता दिँदै करिब ७ महिनायताकै उच्च विन्दुमा पुगेको छ।

आइतबार नेप्से परिसूचक ५४.५१ अंक बढेर २९३१.५५ विन्दुमा पुगेको छ। यो करिब ७ महिनायताकै उच्च विन्दु हो। यस अघि गत साउन १४ गते नेप्से परिसूचक २९५४.१४ विन्दुमा बन्द भएको थियो। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि उच्च बढेको छ। यस दिन बजारमा ३६४ स्टकको २ लाख ४ हजार ९५५ पटकको कारोबारमा २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार रुपैयाँबराबरको ६ करोड १४ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिनको कारोबार रकम पनि करिब ७ महिनायताकै उच्च हो। यस अघि गत साउन ११ गते बजारमा २६ अर्ब ५७ करोड ७४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको थियो।

यस दिन ७ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, अभियान लघुवित्त वित्तीय संस्था, सोलु हाइड्रोपावर, भुजुङ्ग हाइड्रोपावर र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने एनआईसी एशिया लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ५.७१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ८५ करोड ९६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावरको करिब ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सकाे कारोबार रकम ७५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ४.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, जीवन बीमा र निर्जीव बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।