नेपालको आयात ८ महिनामा साढे १२ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आवको फागुनसम्ममा १ खर्ब ९१ अर्ब रुपैयाँको सामाग्रमी निर्यात भएको छ। यो अघिल्लो आवको तुलनामा २०.८३ प्रतिशतले बढी हो । गत वर्षभन्दा साढे १२ प्रतिशतको आयातको तुलनामा २०.८३ प्रतिशतले निर्यात बढे पनि आयातको अंक एकदमै ठूलो हुँदा नेपालले चालु आवको ८ महिनामा १० खर्ब ९८ अर्ब रुपैयाँ व्यापार घाटा व्यहोरेको छ। ८ महिनाको नेपालको व्यापार घाटा ११.२२ प्रतिशतले बढेको हो।
यो अवधिमा नेपालमा अधिक आयात भएका ५ वस्तुहरूमा सबैभन्दा धेरै ८२ अर्ब रुपैयाँको डिजेल छ । त्यसपछि भटमासको कच्चा तेल ६६ अर्बको, पेट्रोल ४३ अर्बको र ग्यास ३७ अर्ब रुपैयाँको रहेको छ । यो अवधिमा २३ अर्ब रुपैयाँको सुन आयात भएको छ भने २३ अर्ब रुपैयाँको मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।
त्यसैगरी नेपालबाट सोयाबिन तेल ७५ अर्ब ७७ करोड, ठूलो अलैची साढे ९ अर्ब, कार्पेट ६ अर्ब ५३ करोड रुपैयाँ र सनफ्लावर तेल ६ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।