नेपाली बजारमा गत माघ १५ गते सुन मूल्य प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँ पुगेर अहिलेसम्मकै नयाँ उचाई बनाएको थियो । सो मूल्य कायम भएको ५३ दिनमा सुनको मूल्यमा करिव १७ प्रतिशत गिरावट भएकाे छ । पछिल्लो १५ दिन मात्रै सुनको मूल्य ११.०२ प्रतिशतले घटेको छ । गत फागुन २४ गते प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन चैत ८ गते आइतबार दुई लाख ८२ हजार रुपैयाँमा झरेको छ ।
त्यस्तै, १५ दिनको अन्तरालमा चाँदी १७.०८ प्रतिशतले घटेको छ । फागुन २४ मा प्रतितोला ५ हजार ४७५ रुपैयाँ रहेको चाँदी अहिले घटेर ४ हजार ५४० रुपैयाँ कायम भएको छ । सुन र चाँदीमा घट्नु बढ्नुमा नेपालको कुनै भूमिका हुँदैन ।

नेपाली बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा ठूलो धक्का लागेको छ । गत शुक्रबार मात्रै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य २ प्रतिशतले घट्यो, जसका कारण साप्ताहिक घाटा १० प्रतिशतभन्दा बढी पुगेको छ । तथ्याङ्कअनुसार सुनको लागि यो सन् १९८३ पछिकै सबैभन्दा खराब हो । मध्यपूर्वको भूराजनीतिक तनावका बीच केही केन्द्रीय बैंकहरूले सुन बिक्रीमा ल्याउने सम्भावना र अमेरिकी डलरको मजबुतीले सुनको मूल्यमा दबाब सिर्जना गरिरहेको छ । अन्तराष्ट्रिय बजारमा निर्धारण भएको मूल्यलाई नेपाली बजारमा समायोजन गरेर मात्रै मूल्य निधारण हुन्छ । सोही अनुसार नेपाली सुन चाँदीको बजारमा प्रभावित भएको जानकारहरुको बुझाई छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वकोकारण तेलको आपूर्ति रोकिएको छ । सोही अनुसार विश्वव्यापी तेल बेन्चमार्क ’ब्रेन्ट क्रुड’को मूल्य ह्वातै बढेको छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरुले सुनको बिक्री गर्दै ब्रेन्ट क्रुडमा लगानी गर्दा छोटो अवधिका लागि सुनको मूल्यमा प्रभाव पारेको सुन चाँदी व्यवसायी महासंघमा पूर्व अध्यक्ष मणीरत्न शाक्यले बताए ।
यो विश्वब्यापी रुपमा देखिएको राजनीतिक अस्थिरताले लगानीकर्ताहरु चिन्तामा छन् । अहिलेको अस्थिर समयमा कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने चिन्तामा लगानीकर्ताहरु रहेका छन् । बैंकहरूको निक्षेपमा ब्याजदर निकै कम छ । मुद्रास्फीतिसँग समायोजन गर्दा बैंकको निक्षेपले नोक्सानी गराएको हुन्छ । यस्तोमा धेरैको नजर पूँजी बजार र सुन बजारमा पर्ने गर्छ । तर पूँजी बजारमा हुने उतार चढावको जोखिम लिन नरुचाउने लगानीकर्ताको लागि सुन राम्रो विकल्पको रुपमा रहेको आम बुझाई छ ।
अहिलेको गिरावट छोटो समयको करेक्सन भएको शाक्यको भनाई छ । घटेको बेला सुनमा लगानी गर्नु राम्रो हो । युद्धमा सुनको मूल्य बढ्ने प्रक्षेपण गरिएको छ । अहिलेको सुनको गिरावट अल्पकालिन हो । लगानी गर्दा भविष्यमा राम्रो नाफा हुने शाक्यको बुझाई छ । तर, आर्थिक दृष्टिकोणबाट सुनलाई 'अनुत्पादक’ लगानी पनि मानिन्छ । विश्व राजनीतिमा आउने सामान्य फेरबदलले पनि सुनको मूल्य स्वाट्टै तल ल्याउन सक्ने भएकाले यो पूर्ण रूपमा सुरक्षित नहुने जानकारहरु बताउने गरेका छन्।
नेपाली रुपैयाँ डलरको तुलनामा कमजोर बन्दै जानुले पनि सुन लगानीकर्तालाई दबाबमा पारेको छ । अहिले नेपाली मूल्यसँग डलर दर १४७ रुपैयाँ छ । नेपालमा कच्चा सुन किनबेचमा सर्वसाधारणलाई कानूनी प्रतिबन्ध छ । लगानीकर्ताहरुले कमोडिटी बजारबाट खरिद गर्न सक्ने व्यवस्था छैन । सुनमा हुने रिटेल कारोबारले लगानीकर्ताले अपेक्षित लाभ पाउन सक्दैनन । रिटेल कारोबारमा ज्याला र जर्तीका कारण लगानीकर्ताले मूल्य बढेको अनुपातमा नाफा पाउन कठिन हुने गरेको हो ।
अमेरिकी दबाब र डलरको विकल्प खोज्ने ब्रिक्स राष्ट्रहरूको रणनीतिले सुनको माग दीर्घकालीन रूपमा उच्च रहने अनुमान गरिएको छ । तर, नेपाल जस्तो आयातमा आधारित अर्थतन्त्रमा अन्तर्राष्ट्रिय उतारचढाव र डलरको भाउले गर्दा सुनमा लगानी गर्दा निकै सावधानी अपनाउनु पर्नेमा जानकारहरु बताउने गर्छन ।
मध्यपूर्वको द्वन्द्वले सुनको मूल्य मात्र होइन, नेपालको समग्र अर्थतन्त्रमै जोखिम बढाएको छ । यस्तै अवस्था रहदै आएमा नेपालीहरु महँगीको चापमा पर्ने अनुमान गर्न थालिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल सार्वजनिक गरेको तथ्यांक अनुसार मुद्रास्फीति ३.२५ प्रतिशत छ । तर, युद्धका कारण इन्धन र ढुवानी महँगो हुँदा नेपालमा महँगी अझै बढ्न सक्ने अनुमान गरिएको छ । अर्कोतर्फ, नेपाली अर्थतन्त्रको मेरुदण्ड रुपमा रहेको रेमिट्यान्स (विप्रेषण) मा पनि धक्का लाग्ने भएको छ । चालु आर्थिक वर्षको सात महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । तर मध्यपूर्वमा भएको तनावको प्रभावले रेमिट्यान्स आप्रवाह घट्न सक्ने विज्ञहरुले अनुमान गर्न थालेका छन् ।