पटक पटक ३ हजारको विन्दुमा पुगेर झरेको बजार यसपटक के होला?

Mar 23, 2026 06:06 AM merolagani



फागुन २१ को चुनावपछि खुलेको ९ शेयर कारोबार दिनमा तीन कारोबार दिन कारोबार रकम २१ अर्बभन्दा बढी आएको छ । आइतबार चुनावपछिको कारोबारमा अहिलेसम्मकै सबैभन्दा बढी २३ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

झन्डै दुई तिहाई बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्ने भएपछि शेयर बजारका लगानीकर्ता आशावादी हुँदा पछिल्लो समय कारोबार रकम विस्तारै बढ्दै गएको छ, जसको असर यसपटक ३ हजारको मनोवैज्ञानिक विन्दु तोडिनेमा सबै लगानीकर्ता आशावादी देखिएका छन् । विगतमा दुई पटक शेयर बजार ३ हजारकाे विन्दु चुमेर झरेकाे थियाे।

विगतमा शेयर लगानीकर्ताहरुले बैकिङ प्रणालीमा तरलता बढी हुँदा ऋणको ब्याज दर घट्ने र त्यसको असर स्वरुप शेयर बजारमा ‘बुल’ आउने गर्दथ्याे। अहिले बैंकको ब्याज दर ऐतिहासिक रुपमै न्यून विन्दुमा छ भने बैकिङ प्रणालीमा तरलता अत्यधिक भएर हरेक दिनजसो राष्ट्र बैंकले तरलता तान्नु परिरहेको यथार्थ हो । न्यून ब्याज दर र उच्च तरलताको बाबजुद पनि शेयर बजार बढ्न सकिरहेको थिएन ।

कोभिडको समयमा नेप्सेले ३२ सयको उच्च विन्दु कायम गरेपछि नेपाल राष्ट्र बैंकले शेयर बजारमा जाने शेयर धितो कर्जामा अंकुश लगाएपछि बजार निरन्तर घटेर १८ सयसम्म आएको थियो । राष्ट्र बैंकले एक व्यक्तिले एक बैकबाट ४ करोड र प्रणालीबाट १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने कठोर नीतिलाई परिमार्जन गरेर अहिले बैंकबाट जतिपनि शेयर धितो कर्जा लिन पाउने व्यवस्था गरिसकिएको छ भने बैंकले शेयर किन्दा ६ महिना मात्रै होल्ड गरे पुग्ने व्यवस्था समेत लागू भइसकेको छ । अझ ब्रोकरबाट नै मार्जिन कर्जा लिन पाउने व्यवस्था समेत लागू हुने चरणमा छ ।

लगानीकर्ताले बजारको लागि आवश्यक देखेको सबै नीतिगत बाधा फुकुवा हुँदा पनि बजार नबढेकोमा पछिल्लो समय भने दुई तिहाई बहुमतको सरकार बन्ने निश्चित भएपछि भने बजार बढेको हो । शेयर बजार बढ्ने सबै तत्व बजारमा उपलब्ध भए पनि निरन्तरको अस्थिर राजनीतिबाट लगानीकर्ता वाक्क बनेका थिए । शेयर बजारका अनुभवी लगानीकर्ता केशव कोइराला ‘काका’ स्थिर सरकार बन्ने भएपछि लगानीकर्तामा आत्मविश्वास बढेर शेयर बजार बढ्न गएको बताउँछन् ।

शेयर विश्लेषक सुवास चन्द्र ढुंगानाले हाइड्रोपावर समूहमा मात्रै केन्द्रित कारोबार रकम अन्य क्षेत्रमा पनि छरिनु सकारात्मक पक्ष भएको बताए । बजारमा धेरै हिस्सा भएको हिसाबले वाणिज्य बैंक र हाइड्रोपावर समूहका कम्पनीको शेयर कारोबार हुनु स्वाभाविक नै भए पनि विस्तारै विकास बैंक, माइक्रोफाइनान्ससँगै अन्य बीमा र उत्पादनमूलक समूहमा पनि कारोबार रकम बढ्न गएमा त्यसले बढ्दो बजारलाई दिगो बनाउने उनले बताए । अहिलेको माहौल हेर्दा ३ हजारको विन्दु नै मनोवैज्ञानिक रुपमा प्रतिरोध क्षेत्र देखिएको बताउँदै उनले अहिलेको अवस्थामा ३ हजारको विन्दु कसरी तोडिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको बताए ।

अर्का लगानीकर्ता सुन्दर रायमाझी चुनावको नतिजासँगै पाँच वर्षको स्थिर सरकार बन्ने भएपछि लगानीकर्तामा आत्मविश्वास बढेको बताउँछन् । विगतमा राजनीति अस्थिर हुँदा लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार लामो समय साइडवेज जाने गरेको भए पनि पछिल्लो समय भोल्युममा समेत विस्तारै भएको बढोत्तरीले पुरानो ‘अल टाइम हाइ’ तोड्ने दिशामा बजार अगाडि बढेको उनले बताए । उनले ३ हजारको विन्दु तोड्नु अगाडि बजार केही करेक्सन भएर मात्रै अगाडि बढ्ने अड्कल काटे।

विगतमा हाइड्रोपावर र वाणिज्य बैंक समूहका कम्पनीहरु पालैपालो बढ्ने गर्थे । विगत झन्डै एक वर्षदेखि न्यून ब्याज दरको असर स्वरुप हाइड्रोपावरको वित्तीय अवस्थामा समेत सुधार हुँदै आएको थियो । सस्तो मूल्यमा हुनुका साथै वित्तीय अवस्थामा समेत सुधार हुँदा हाइड्रोपावर समूहका कम्पनीको कारोबार रकम समेत कुल कारोबारमा झन्डै ७५ प्रतिशतसम्म हिस्सा ओगटिसकेको थियो । विगत केही दिनको कारोबारमा भने वाणिज्य बैंकसँगै विकास बैंक, उत्पादनमूलक समूह, माइक्रोफाइनान्स समूहका कम्पनीको कारोबारले पनि एक अर्बको फड्को पार गरेको छ ।

विगतमा विष्णु पौडेल अर्थमन्त्री भएपछि शेयर बजारमा बहार आउँदा कारोबार रकम २०८१ को साउन ३१ मा २९ अर्ब ९५ करोड रुपैयाँसम्म उच्च कारोबारको रेकर्ड बनाएकाे थियाे। त्यसबेला नेप्से परिसूचक ३ हजारको विन्दुमा पुगेर बन्द भएको थियो भने त्यसको अर्को कारोबार दिनबाट बजार द्रुतगतिमा घटेर २४६० को न्यून विन्दुसम्म झरेको थियो। त्यसैगरी गत साउनमा पनि नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको रुपमा डा. विश्व पौडेल आएपछि शेयर बजारले पुनः ३ हजारको विन्दु परिक्षण गरेको थियो। गभर्नर पौडेलले शेयर धितो कर्जामा पूर्व गभर्नरले ल्याएका सम्पूर्ण अवरोधहरु खारेज गरेसँगै नेप्से २६ अर्ब ५७ करोड रुपैयाँको कारोबार रकमसहित पुनः ३ हजारको विन्दु टेकेर घटेको थियो ।

आइतबार भने २१ अर्ब भन्दा बढीको कारोबार रकमसहित नेप्से परिसूचक समेत २९ सय भन्दा माथि बस्न सफल भएको छ। धेरै विश्लेषकहरुले २९ सय ५० देखि ३ हजारको बीचमा करेक्सनको अपेक्षा गरेका छन् । सानो करेक्सनपछि विस्तारै सेक्टर रोटेसन भएर ३ हजार हुँदै विस्तारै ३२ सयको ‘अलटाइम हाइ’ समेत तोडिनेमा विश्लेषक ढुंगाना आशावादी देखिएका छन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।