तेलको मूल्य बढेको छ र लगानीकर्ताहरू सुरक्षित सम्पत्ति तर्फ सर्ने क्रम तीव्र भएको छ। सामान्यतया यस्तो अवस्थामा सुनको मूल्य बढ्ने अपेक्षा गरिन्छ। तर यस पटक भने अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहेको छ। जसले बजारको परम्परागत व्यवहारमाथि प्रश्न उठाएको छ।
यस विषयमा Reuters, MarketWatch, The Wall Street Journal र The Economic Times लगायतका सञ्चारमाध्यमहरूले विस्तृत विश्लेषण प्रकाशित गरेका छन्। उनीहरूका अनुसार सन् २०२६ को सुरुवाततिर सुनको मूल्य प्रति औंस करिब ५५ सय डलरसम्म पुगेको थियो। जुन ऐतिहासिक उच्च स्तर हो। तर पछिल्ला हप्ताहरूमा मूल्य घट्दै करिब ४,२०० देखि ४,५०० डलरको दायरामा आइपुगेको छ। केही दिनमै झन्डै १० प्रतिशतसम्मको गिरावट आएको तथ्याङ्कले बजार असामान्य बन्दै गइरहेको छ।
Reuters ले उल्लेख गरेअनुसार युद्धका बिच लगानीकर्ताहरू सुनभन्दा बढी अमेरिकी डलरतर्फ आकर्षित भएका छन्। डलर बलियो हुँदा सुन महँगो देखिने भएकाले यसको माग घट्छ। यस पटक “सेफ हेबेन” को रूपमा सुनभन्दा डलर बढी प्रभावकारी बनेको विश्लेषण गरिएको छ। त्यस्तै, युद्धका कारण तेलको मूल्य बढ्दा महँगी बढ्ने संकेत देखिएको छ। Reuters कै अर्को रिपोर्टअनुसार महँगीको दबाबका कारण केन्द्रीय बैंकहरूले ब्याजदर घटाउने सम्भावना कम भएको छ। उच्च ब्याजदर हुँदा सुन आकर्षक हुँदैन। किनकि यसले कुनै प्रतिफल दिँदैन। यही कारणले पनि सुनको मूल्य घटिरहेको बताइएको छ।

The Economic Times का अनुसार सुनको मूल्य पहिले नै धेरै बढिसकेकाले लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न बिक्री बढाएका छन्। यसलाई “प्रोफिट बुकिङ” भनिन्छ। जसले बजारमा आपूर्ति बढाएर मूल्य घटाउँछ।
यस्तै, MarketWatch ले उल्लेख गरेअनुसार विश्व बजारमा अस्थिरता बढ्दा लगानीकर्ताहरूले सुन बेचेर नगद संकलन गर्ने प्रवृत्ति पनि बढेको छ। यसले सुनको मूल्यमा थप दबाब सिर्जना गरेको छ।
The Wall Street Journal ले यस अवस्थालाई परम्परागत धारणा विपरीत भएको भन्दै “युद्ध र महँगी सुनका साथी हुनुपर्ने भए पनि यस पटक त्यस्तो देखिएन” भन्ने निष्कर्ष निकालेको छ।
यसरी हेर्दा, युद्ध हुँदाहुँदै पनि सुनको मूल्य नबढ्नुको कारण केवल भूराजनीतिक तनाव होइन, बरु त्यससँग जोडिएका आर्थिक कारकहरू जस्तै डलरको मजबुती, ब्याजदर नीति, महँगीको दबाब र लगानीकर्ताको व्यवहार नै मुख्य चालक बनेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषणले देखाउँछ कि आधुनिक विश्व बजारमा “safe haven” को अवधारणा परिवर्तन हुँदै छ। सुन अझै महत्त्वपूर्ण सम्पत्ति भए पनि अहिलेको सन्दर्भमा अमेरिकी डलर र मौद्रिक नीति नै मूल्य निर्धारणका प्रमुख आधार बन्दै गएका छन्।