मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक

Mar 24, 2026 11:35 AM merolagani



मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ ।

मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबिच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरोकारवालाहरुले बताएका छन् । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्ध प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरुको भनाइ छ ।

पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र टे्किङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले बताए। उनले मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरु आउन नसकेको बताए। उनले युद्ध लम्बिँदा व्यवसायी समेत समस्या पर्दै गएको गुनासो गरे।

उनले भने,‘मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र समेत प्रभावित भएको छ । नेपाल आउने प्रायजसो पर्यटकले कतार, दुवई लगायतका क्षेत्र नै ट्रान्जिट बनाएर आउने भएको कारण अहिले समस्या भएको छ । नेपालमा टे्किङ र मनोरम दृश्य हेर्न आउने युरोपका पर्यटकहरु र यो समयमा नेपाल फर्किनुपर्छ भन्ने पर्यटकहरु पनि आउन सक्नुभएको छैन । धेरेजसो पर्यटकहरु मिडिल इस्टको युद्धका कारण जताबाट आउनुभएको छ उतै डाइभर्ट हुने समस्या भएको छ । युद्धको कारण ग्याँस र इन्धन अभावले हामीले पनि समस्यामा पर्दै गएका छौँ ।’

होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरु नआएको बताए। उनले मध्यपूर्वमा जारी युद्धका कारण विदेशी पर्यटक नेपाल भित्रिन नसकेको बताए। अमेरिकाले अतिआवश्यक काम बाहेक बाहिर ननिस्कन जारी गरेको एड्भाइजरीका कारण पर्यटक आगमन खस्केको उनको भनाइ छ । उनले युरोप र अमेरिका बाहेक भारतीय तथा आन्तरिक पर्यटकको आगमन विगतको जस्तै भएको पनि उल्लेख गरे ।

उनले भने, ‘अहिले पोखरामा आउने पर्यटकको कुरा गर्दा अन्नपूर्ण पदयात्रामा जाने दोस्रो ठुलो सिजन मार्च, अप्रिल, मे महिनामा हो भनेर हामी लिन्छौँ । तर अहिले मध्यपूर्वको जुन अवस्था छ त्यसले गर्दा नेपालमा आउने धेरै युरोपियन पर्यटकहरु जो नेपालमा पदयात्राका लागि आउनुहुन्छ उहाँहरु आउन सक्नुभएको छैन । अमेरिकाले पनि आफ्ना नागरिकलाई अहिले नेपालमा असुरक्षा छ भन्ने खालको एड्भाइजरी जारी गरेको कारणले अमेरिकन पर्यटकहरु एकदमै न्युन र युरोपियन पर्यटकहर पनि सोचेजस्ता संख्यामा आउन सकिरहनुभएको छैन । त्यसबाहेक भारतीय र आन्तरिक पर्यटकहरुको उपस्थिति राम्रो छ ।’

पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरु रद्ध भइरहेको बताए। दोस्रो मुख्य पर्यटकीय सिजनमै अपेक्षाकृत पर्यटक आगमन नहुनुको मुख्य कारण मध्यपूर्वमा जारी द्वन्द्व रहेको उनको बुझाइ छ ।

उनले भने,‘पछिल्लो समय इजरायल, अमेरिका र इरानबीच भइरहेको लडाईंका कारण पोखरामा टे्किङ लगायतका लागि भएका बुकिङहरु धमाधम रद्ध हुने कार्य जारी छ । त्यसकारण हाम्रा होटल, ट्राभल र टे्किङका बुकिङहरु पनि रद्द हुने क्रम बढेको देखिन्छ । समग्रमा जुन किसिमले यो समयमा पर्यटकहरु हुनुपर्ने हो त्यो किसिमले आएका छैनन् ।’

कोरोना भाइरसको महामारीपछि विस्तारै लयमा फर्किंदै गएको नेपालको पर्यटन व्यवसाय मध्यपूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ । नेपाललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन राज्यले विशेष रणनीतिका साथ काम गर्नु अपरिहार्य छ ।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।